२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ अर्बको स्याउ आयात: मुस्ताङको स्याउलाई ‘कोल्डस्टोर’



अ+ अ-

गलेश्वर । रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् ।

मुस्ताङका स्याउ उत्पादक कृषकहरुले आर्थिक वर्ष २०७७/७८ मा ‘एप्पल जोन’को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेसिजनमा पनि स्याउ खान पाइने भएको हो ।

मुस्ताङ घरपजोङ गाउँपालिका–५ का कर्म गुरुङले रु १६ लाखको कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्दै आउनुभएको छ । उहाँले एप्पल जोन कार्यक्रमबाट रु आठ लाख अनुदान पाएपछि रु आठ लाख थपेर कोल्डस्टोर खरिद गरेको जानकारी दिनुभयो । “कोल्डस्टोर नहँुदा बिक्री नभएका स्याउहरु कुहिएर खेर जाने र लामो समयसम्म राख्न नहुने समस्या हुन्थ्यो तर अब त्यो समस्या हटेको छ”, उहाँले भन्नुभयो ।

सरकारले मुस्ताङलाई स्याउ जोनका रुपमा परिभाषित गरी अनुदानका कार्यक्रम उपलब्ध गराउन थालेपछि सो जिल्लाका स्याउ कृषकहरु हौसिएका छन् । मल, बिरुवा, कोल्डस्टोर, ढुवानी तथा औषधी खर्च अनुदानमा प्राप्त गर्न थालेपछि स्याउ उत्पादक कृषकहरुलाई सजिलो भएको किसान गुरुङले बताउनुभयो ।

स्याउका लागि मल खरिद गर्न आफूले यो वर्ष कृषि ज्ञान केन्द्रबाट रु १७ हजार, एक हजार पाँच सय स्याउका बिरुवाहरु र ढुवानी तथा औषधोपपचारका लागि भनेर रु ३५ हजार पनि अनुदान पाएको उहाँको भनाइ छ ।

मुस्ताङको एक हजार दुई सय हेक्टर जमिनमा अहिले व्यावसायिकरुपमा स्याउ खेती गरिएको छ । करिब छ सय हेक्टर जमिनमा रहेका बोटबाट किसानले उत्पादन लिन थालेका र बाँकी सात हेक्टर जमिनमा नयाँ बिरुवा लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमै स्याउका बिरुवासमेत उत्पादन हुन थालेपछि सजिलो भएको किसानहरुको भनाइ रहेको छ । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गको हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छन् । २०२३ सालमा मुस्ताङको मार्फामा बागवानी केन्द्र स्थापना भएपछि मुस्ताङमा स्याउ खेतीप्रति आकर्षण बढेको हो । सोही केन्द्रसँगको सम्पर्कमा आएका किसानले काश्मिरे स्याउको प्रतिस्थापन गर्न मुस्ताङमा स्याउ फलाउन थाले । मुस्ताङबाट सुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ ।

मुस्ताङ जिल्लामा स्याउ उत्पादन गर्न कठिन नभए पनि बजारीकरणका लागि यातायातको निकै समस्या रहेको स्याउ कृषक टीका शेरचनले बताउनुभयो । “सरकारले पछिल्लो समय अनुदान वृद्धि गरेर सजिलो त भएको छ तर, कठिन भूगोलका कारण ढुवानी र बजारीकरणमा समस्या छ”, शेरचनले भन्नुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङलाई देशका विभिन्न सहरहरुसँग जोड्ने एक मात्र स्थलमार्ग बेनी–जोमसोम सडक स्तरोन्नतिकै चरणमा रहेकाले ढुवानीका लागि सजिलो नभएको कृषकहरुको गुनासो छ । मुस्ताङमा हिउँ पहिरो जाने, पहिरो र बाढीका कारण सडक अवरुद्ध हुने जस्ता समस्याले गर्दा यहाँ उत्पादित स्याउ उपभोक्ताले चाहेको समयमा पाउन नसकेका गुरुङले बताउनुभयो । एक सिजनमा एक सय ५० टनदेखि दुई सय टनसम्म स्याउ उत्पादन गरी बिक्री गर्दै आएको गुरुङले बताउनुभयो । स्याउ बिक्रीबाट नै अहिलेसम्म एक करोड जतिको सम्पत्ति जोडेको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका अनुसार हरेक वर्ष मुस्ताङी किसानले कम्तीमा पनि पाँच हजार पाँच सय मेट्रिकटन स्याउ उत्पादन गर्दै आएका छन् । उत्पादनका हिसाबले ५० देखि ७० करोडको स्याउ मुस्ताङबाट हरेक वर्ष निर्यात हुने गरेको तथ्याङ्क छ । नेपालमा वर्षमा झण्डै छ अर्ब रुपैयाँभन्दा धेरैको स्याउको कारोबार हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।




भर्खरै