८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चाडपर्वको आफै निर्णय गर्दै स्थानीय सरकार

चाडपर्वको आफै निर्णय गर्दै स्थानीय सरकार
file
अ अ+ अ-

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा साउन २७ गते शुक्रबार एकैदिन पर्ने निर्णय गरेको छ । नेपालीहरूको धर्म, संस्कृति मूल्य, मान्यता र परम्पराको संवाहक र निर्देशक कार्यतालिका पात्रोलाई मानिन्छ । सामान्यतया तिथि, बार, नक्षत्र, योग, करण यी पाँच विषय पात्रोमा हुने भएकाले यसलाई पञ्चाङ्ग भन्ने गरिएको हो ।

पञ्चाङ्गको निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक समिति गठन गर्छ । उक्त समितिले धर्मशास्त्रविद्, ज्योतिषिलगायत विद्वान्को सहभागितामा बैठक गरी चाडपर्वको निर्णय गर्ने गर्छ । समितिले यस वर्ष स्वीकृत गरेका पात्रो (पञ्चाङ्ग) मा साउन २७ गते रक्षाबन्धन र गाईजात्रा पर्व पर्ने उल्लेख छ । समितिको यस वर्षको दुबै पर्व एकै दिन मनाउने निर्णय काट्दै भक्तपुरका दुई स्थानीय तहले फरक निर्णय गरेका छन् । भक्तपुरको मध्यपुरथिमि र भक्तपुर नगरपालिकाले साउन २६ गते बिहीबार रक्षाबन्धन (जनैपूर्णिमा) र साउन २७ गते शुक्रबार गाईजात्रा पर्व मनाउने निर्णय गरेका हुन् । यो निर्णयसँगै चाडपर्वका बारेमा निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई छ कि छैन भन्ने बहस पनि चलेको छ ।

मध्यपुरथिमि नगरपालिकाले साउन २३ गते सोमबार सरोकारवालासँग बैठक गरी यस्तो निर्णय गरेको सार्वजनिक भएको छ । यसवर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीबार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रबार मनाउने नगरपालिकाको निर्णय छ । नगरपालिकाले आयोजना गरेको छलफलमा सरोकारवालाले नेवारी परम्परागत संस्कृतिमा एकै दिन दुई पर्व मनाउन व्यावहारिक नभएको गुनासो गरेको नगरपालिकाले जनाएको छ । ज्योतिषशास्त्रअनुसार तोकिएकै तिथिमा सांस्कृतिक पर्व मनाउनुपर्छ । नेवारी संस्कृतिमा कतिपय अवस्थामा सो अव्यावहारिक हुने गरेकाले दुई दिन मनाउने निर्णय गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले छलफलमा जानकारी गराउनुभयो । समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार साउन २६ गते बिहान पौने ११ बजेदेखि २७ गते बिहान सवा ७ बजेसम्म पूर्णिमा तिथि छ । त्यसैले पात्रोमै उल्लेख भएअनुसार २६ गते नै जनैपूर्णिमा मनाउने निर्णय गरिएको उहाँले सुनाउनुभयो ।

नगरपालिकाको छलफलमा वडा नं ८ बोडेको ऐतिहासिक एवं धार्मिक महत्वको नीलबाराही देवगणको द्यः प्याखँ गाईजात्राको भोलिपल्ट द्वितीयादेखि प्रदर्शन गर्नुपर्ने परम्परा रहेको विषयमा पनि छलफल भएको थियो । यसका लागि २७ गते गाईजात्रा मनाउनुपर्ने सुझाव द्यः प्याखँका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले दिनुभएको विवरण नगरपालिकाले सार्वजनिक गरेको थियो । यसअघि भक्तपुर नगरपालिकाले पनि तलेजुका पुजारीसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको समाचार सार्वजनिक भएको थियो ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी स्थानीय सरकारलाई चाडपर्वको निर्णय गर्ने अधिकार भए नभएको विषयमा आफूले भन्न नसक्ने बताउनुभयो । समितिले धर्मशास्त्रविद् र ज्योतिषिसमेत बसेर निर्णय गरेकाले यो शास्त्रसम्मत रहेको जानकारी पनि उहाँले दिनुभयो । “पूर्णिमा तिथिको पूर्वाद्र्धमा भद्रा हुन्छ, भद्रामा श्रावणी र फाल्गुनी नगर्नु भन्ने शास्त्रीय मत छ, यसैले परम्परा र व्यावहारिकतालाई पनि हेरेर साउन २७ गते शुक्रबार रक्षाबन्धन र गाईजात्रा दुवै पर्व मनाउने निर्णय गरिएको हो, सापारु शब्दले नै प्रतिपदा तिथिका दिन गाईजात्रा मनाउनुपर्ने भन्ने बुझिन्छ”–उहाँले भन्नुभयो ।

संस्कृति मन्त्रालयका प्रवक्ता डा टोकराज पाण्डे पनि स्थानीय चाडपर्वका विषयमा मात्र स्थानीय सरकारले निर्णय गर्ने बताउनुभयो । राष्ट्रिय रुपमा मनाउने चाडपर्वका बारेमा पञ्चाङ्ग निर्णायक विकास समितिले नै निर्णय गर्दा विज्ञता पुग्छ भन्ने मान्यतामा समितिको गठन आदेशमा व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गर्दै चाडपर्व सम्बन्धी निर्णय, पात्रो एवं भित्तेपात्राको स्वीकृति र ज्योतिष एवं कर्मकाण्ड क्षेत्रलाई व्यवस्थित गर्ने अधिकार समितिलाई दिएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल चाडपर्वका बारेमा नगरपालिकाले निर्णय गर्दा गलत नजिर बस्ने बताउनुभयो । साउन २७ गते रक्षाबन्धनपछि गाईजात्रा भ्याइँदैन भन्ने तर्क हुन नसक्ने उल्लेख गर्दै उहाँले साउन २६ गते सूर्योदयकालमा चतुर्दशी तिथि र अपराह्नकालमा पूर्णिमा तिथि लागेपछि भद्रा हुने भएकाले रक्षाबन्धन त्यसदिन हुन नसक्ने उहाँले सुनाउनुभयो । विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेल चाडपर्व मनाउँदा शास्त्रीय मान्यता अनुसार नै मनाउनुपर्ने भएकाले समितिको निर्णय उचित रहेको बताउनुभयो । रासस