८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

धौलागिरि अस्पतालमा उपचार पाउनै सास्ती

धौलागिरि अस्पतालमा उपचार पाउनै सास्ती
अ अ+ अ-

बलेवा । धौलागिरि अस्पतालमा उपचारका लागि आउनुभएकी सिगानाकी लीलाकुमारी कार्कीले चार घण्टा लगाएर पनि उपचार पाउन नसकेको गुनासो गर्नुभयो । बल्लबल्ल स्वास्थ्य परीक्षण गरेपछि फेरि स्वास्थ्य बीमा गरिएका कारण पनि अपमानित जस्तो बन्नुपरेको उहाँको गुनासो थियो ।

स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गर्न खोज्दा सामान्य लाइनमा दुई घण्टा लगाएर पैसा तिर्नुपरेको, भिडियो एक्सरेको रकम जम्मा गर्न दुई घण्टा लाइन बसेर ढोकैमा पुगेपछि आज भिडियो एक्सरे हुँदैन भनेर फकाईएको उहाँको गुनासो थियो । यस्ता गुनासो गर्ने अस्पतालमा दिनदिनै बढेका छन् । सामान्य उपचार पाउने त परै जाओस् विशेषज्ञ सेवा पाउन पनि सास्ती बढेको छ । बीमा गरेकालाई उपचार सेवा झनै झण्झटीलो भएको छ । अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीले गर्ने व्यवहार फरक भएको बिरामीको गुनासो थियो ।

अमलाचौरका ईश्वरी शर्माको गुनासो पनि उस्तै छ । बीमा गरेको व्यक्तिबाट फाइदा पाइदैन भनेर स्वास्थ्यकर्मीले सित्तैमा उपचार गरिदिएझै गरेको उहाँको भनाइ थियो । भएको औषधि दिन र उपचार सेवा दिन पनि नखोजेको ईश्वरीको टिप्पणी थियो । “हामीले पनि पैसा तिरेका छौँ भन्ने पनि उनीहरुले बुझेनन्” ईश्वरीले भन्नुभयो, “रिफर गर्दा पनि विशेषज्ञ भएको अस्पतालमा जान पाइएन ।” ‘कानको समस्या थियो, हामीलाई हरियोखर्क रिफर गरिदिएको भए राम्रो हुन्थ्यो तर गण्डकी अस्पतालमा रिफर भयौँ ।” उहाँले गुनासो गर्नुभयो ।

सेवाग्राही बाबुराजा कार्कीले भने चिनेजानेकै भएकाले आफूलाई सहजै उपचार गरिदिएको बताउनुभयो । औषधि लिने बेला भने कुनै कुनै औषधि नभएर फर्काउनु परेको जानकारी दिनुभयो । रु तीन हजार ५०० तिरेर बीमा गरेपछि एक बर्षभित्र रु एकलाख बराबरको उपचार निशुल्क पाउने व्यवस्था छ । राष्ट्रिय बीमा बोर्डले पनि सोहीअनुसार ग्रामीण तहका स्वास्थ्य चौकीदेखि रिफर गरिएका अस्पताल तोकिदिएको छ । तोकिएका अस्पतालमा उपचार गर्दा रु एक लाखसम्म छुट हुन्छ । बोर्डको बागलुङ कार्यालयका अधिकृत नारायण प्रसाद पौडेलले बीमितका संख्या बढेको बताउनुभयो ।

बीमा गरेकै कारण कसैलाई विभेद गर्न जरुरी नभएको मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलले बताउनुभयो । “मेरोमा आउने र मैले देखेसम्म सबैलाई सम्मान गर्छु”, उहाँले भन्नुभयोे, “केही कर्मचारी साथीको व्यवहार केही रुखो छ भन्ने गुनासो आएको छ ।” प्रशासनिक रुपमा कसैलाई पनि दुःख र अप्ठ्यारो नपर्ने गरी व्यवस्थापनमा लागेको डा पेखरेलले बताउनुभयो । गत असार मसान्तभित्र जिल्लाका ८० हजार छ सय ९४ नागरिकले स्वास्थ्य बीमा गरेका छन् । अधिकांशले नवीकरण पनि गरेका छन् । अस्पतालभित्र फार्मेसीमा टेन्डरमार्फत औषधि झिकाउने भएकाले केही ढिला हुने, औषधि सकिएको बेला पुगेका बीमितले गुनासो गर्ने अवस्था आएको उहाँको तर्क थियो ।

अस्पतालको सेवा प्रवाह चुस्त बनाउन दक्ष जनशक्ति अभाव भएको प्रशासनका निमित्त प्रमुख ताराप्रसाद शर्माले बताउनुभयो । “डाक्टरको सङ्ख्या कम छ, बिरामीको चाप बढेको छ, त्यसैले सबैले एकैपटक पालो नपाएका हुन्’’ उहाँले भन्नुभयो, “भिडियो एक्सरेलगायत सेवा पनि दैनिक ५० ले मात्रै पाउन सक्ने व्यवस्था छ ।” त्योभन्दा धेरै एकैजनाले नभ्याउने भएकोले फर्काउनुपरेको जिकिर निमित्त प्रमुख शर्माले गर्नुभयो । बिरामीले भने लाइनमा बसेर अन्तिममा आज संभव छैन भने फर्कनु पर्ने समस्या भएको गुनासो गरेका थिए ।

बागलुङकै मेलना श्रेष्ठले ९ बजेदेखि आएर लाइनमा बस्दाबस्दा अन्तिममा आज उपचार छैन भनेर फर्कनु पीडादायी भएको बताउनुभयो । “टाढाबाट हजारौँ खर्चेर उपचारमा आएकालाई यो समस्या बढी छ”, उहाँले भन्नुभयो, “न उपचार गर्न पाए, न घर फर्कन पाए ।” सामान्य उपचार गर्न पनि बिरामीले होटल खोजेर बास बस्नुपर्ने बाध्यता हटाउनुपर्ने उहाँको सुझाव थियो । अस्पतालमा पछिल्लो समय पाँच सयभन्दा बढी बिरामी दैनिक उपचारमा आउने गरेका छन् । तीमध्ये नभ्याएकाले भोलिपल्ट सेवा पाउने भए पनि भोलिपल्ट सङ्ख्या बढिरहेकाले समस्या भएको हो ।

अस्पतालमा दक्ष जनशक्ति भए पनि सिफ्ट प्रणालीमा उपचार गर्नेभन्दा हरेक दिन १० देखि ३ बजेसम्म मात्रै उपचारमा लाग्ने भएकाले बिरामीको आक्रोश आउन थालेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा र मेडिकल सुपरिटेण्डेन्ट पोखरेलले आँफूहरु बिरामी परेकोले तत्काल व्यवस्थापनमा लाग्न नसकेको प्रतिक्रिया दिनुभयो । रासस