२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धौलागिरि अस्पतालमा उपचार पाउनै सास्ती



अ+ अ-

बलेवा । धौलागिरि अस्पतालमा उपचारका लागि आउनुभएकी सिगानाकी लीलाकुमारी कार्कीले चार घण्टा लगाएर पनि उपचार पाउन नसकेको गुनासो गर्नुभयो । बल्लबल्ल स्वास्थ्य परीक्षण गरेपछि फेरि स्वास्थ्य बीमा गरिएका कारण पनि अपमानित जस्तो बन्नुपरेको उहाँको गुनासो थियो ।

स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गर्न खोज्दा सामान्य लाइनमा दुई घण्टा लगाएर पैसा तिर्नुपरेको, भिडियो एक्सरेको रकम जम्मा गर्न दुई घण्टा लाइन बसेर ढोकैमा पुगेपछि आज भिडियो एक्सरे हुँदैन भनेर फकाईएको उहाँको गुनासो थियो । यस्ता गुनासो गर्ने अस्पतालमा दिनदिनै बढेका छन् । सामान्य उपचार पाउने त परै जाओस् विशेषज्ञ सेवा पाउन पनि सास्ती बढेको छ । बीमा गरेकालाई उपचार सेवा झनै झण्झटीलो भएको छ । अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीले गर्ने व्यवहार फरक भएको बिरामीको गुनासो थियो ।

अमलाचौरका ईश्वरी शर्माको गुनासो पनि उस्तै छ । बीमा गरेको व्यक्तिबाट फाइदा पाइदैन भनेर स्वास्थ्यकर्मीले सित्तैमा उपचार गरिदिएझै गरेको उहाँको भनाइ थियो । भएको औषधि दिन र उपचार सेवा दिन पनि नखोजेको ईश्वरीको टिप्पणी थियो । “हामीले पनि पैसा तिरेका छौँ भन्ने पनि उनीहरुले बुझेनन्” ईश्वरीले भन्नुभयो, “रिफर गर्दा पनि विशेषज्ञ भएको अस्पतालमा जान पाइएन ।” ‘कानको समस्या थियो, हामीलाई हरियोखर्क रिफर गरिदिएको भए राम्रो हुन्थ्यो तर गण्डकी अस्पतालमा रिफर भयौँ ।” उहाँले गुनासो गर्नुभयो ।

सेवाग्राही बाबुराजा कार्कीले भने चिनेजानेकै भएकाले आफूलाई सहजै उपचार गरिदिएको बताउनुभयो । औषधि लिने बेला भने कुनै कुनै औषधि नभएर फर्काउनु परेको जानकारी दिनुभयो । रु तीन हजार ५०० तिरेर बीमा गरेपछि एक बर्षभित्र रु एकलाख बराबरको उपचार निशुल्क पाउने व्यवस्था छ । राष्ट्रिय बीमा बोर्डले पनि सोहीअनुसार ग्रामीण तहका स्वास्थ्य चौकीदेखि रिफर गरिएका अस्पताल तोकिदिएको छ । तोकिएका अस्पतालमा उपचार गर्दा रु एक लाखसम्म छुट हुन्छ । बोर्डको बागलुङ कार्यालयका अधिकृत नारायण प्रसाद पौडेलले बीमितका संख्या बढेको बताउनुभयो ।

बीमा गरेकै कारण कसैलाई विभेद गर्न जरुरी नभएको मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलले बताउनुभयो । “मेरोमा आउने र मैले देखेसम्म सबैलाई सम्मान गर्छु”, उहाँले भन्नुभयोे, “केही कर्मचारी साथीको व्यवहार केही रुखो छ भन्ने गुनासो आएको छ ।” प्रशासनिक रुपमा कसैलाई पनि दुःख र अप्ठ्यारो नपर्ने गरी व्यवस्थापनमा लागेको डा पेखरेलले बताउनुभयो । गत असार मसान्तभित्र जिल्लाका ८० हजार छ सय ९४ नागरिकले स्वास्थ्य बीमा गरेका छन् । अधिकांशले नवीकरण पनि गरेका छन् । अस्पतालभित्र फार्मेसीमा टेन्डरमार्फत औषधि झिकाउने भएकाले केही ढिला हुने, औषधि सकिएको बेला पुगेका बीमितले गुनासो गर्ने अवस्था आएको उहाँको तर्क थियो ।

अस्पतालको सेवा प्रवाह चुस्त बनाउन दक्ष जनशक्ति अभाव भएको प्रशासनका निमित्त प्रमुख ताराप्रसाद शर्माले बताउनुभयो । “डाक्टरको सङ्ख्या कम छ, बिरामीको चाप बढेको छ, त्यसैले सबैले एकैपटक पालो नपाएका हुन्’’ उहाँले भन्नुभयो, “भिडियो एक्सरेलगायत सेवा पनि दैनिक ५० ले मात्रै पाउन सक्ने व्यवस्था छ ।” त्योभन्दा धेरै एकैजनाले नभ्याउने भएकोले फर्काउनुपरेको जिकिर निमित्त प्रमुख शर्माले गर्नुभयो । बिरामीले भने लाइनमा बसेर अन्तिममा आज संभव छैन भने फर्कनु पर्ने समस्या भएको गुनासो गरेका थिए ।

बागलुङकै मेलना श्रेष्ठले ९ बजेदेखि आएर लाइनमा बस्दाबस्दा अन्तिममा आज उपचार छैन भनेर फर्कनु पीडादायी भएको बताउनुभयो । “टाढाबाट हजारौँ खर्चेर उपचारमा आएकालाई यो समस्या बढी छ”, उहाँले भन्नुभयो, “न उपचार गर्न पाए, न घर फर्कन पाए ।” सामान्य उपचार गर्न पनि बिरामीले होटल खोजेर बास बस्नुपर्ने बाध्यता हटाउनुपर्ने उहाँको सुझाव थियो । अस्पतालमा पछिल्लो समय पाँच सयभन्दा बढी बिरामी दैनिक उपचारमा आउने गरेका छन् । तीमध्ये नभ्याएकाले भोलिपल्ट सेवा पाउने भए पनि भोलिपल्ट सङ्ख्या बढिरहेकाले समस्या भएको हो ।

अस्पतालमा दक्ष जनशक्ति भए पनि सिफ्ट प्रणालीमा उपचार गर्नेभन्दा हरेक दिन १० देखि ३ बजेसम्म मात्रै उपचारमा लाग्ने भएकाले बिरामीको आक्रोश आउन थालेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा र मेडिकल सुपरिटेण्डेन्ट पोखरेलले आँफूहरु बिरामी परेकोले तत्काल व्यवस्थापनमा लाग्न नसकेको प्रतिक्रिया दिनुभयो । रासस