८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बागलुङ कालिका भगवतीलाई खिर !

बागलुङ कालिका भगवतीलाई खिर !
फाईल फोटो
अ अ+ अ-

बागलुङ । उसो त साउनमा खिर खाने नेपाली चलन नै हो । साउन १५ लाई खिर खाने दिनले पनि चिनिन्छ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीमा पनि वर्षमा एकपल्ट खिर चढाउने परम्परा छ । त्यो साउनको कुनै पनि तिथिमा पर्न सक्छ ।

यसपालि भने पण्डितले मङ्गलबारलाई साइत जुराएका थिए । मन्दिरका मूलपुजारी जयबहादुर खड्काले साउनमा शक्तिस्वरुपा देवीलाई खिर चढाउने परम्परा रहेको सुनाउनुभयो । “मङ्गलबार बिहान ९ बजेको शुभसाइतमा देवीलाई खिर चढाइयो”, उहाँले भन्नुभयो, “यो हाम्रा पूर्वजले बसालेको परम्परा हो ।”

पहिले–पहिले मन्दिरमा चढाएपछि मात्र बल्ल घर–घरमा खिर पकाएर खाने चलन रहेको पुजारी खड्काले बताउनुभयो । उहाँका अनुसार मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खिर चढ्दैन । मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खिर चढाउने गरिन्छ ।

नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका दर्शनार्थीलाई प्रसादीका रूपमा खिर खुवाउने गरिएको पुजारी खड्काले उल्लेख गर्नुभयो । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका सचिव भरतबहादुर खड्काले कालिका देवीलाई खिर खुवाउने चलन मौलिक संस्कृतिका रूपमा जीवित रहेको बताउनुभयो ।

“विसं १५९१ मा मन्दिर स्थापना भएदेखि नै साउन महिनामा देवीलाई खिर चढाएर मात्र घर–घरमा खिर फुक्ने गरेको हाम्रा पितापुर्खाले बताउने गर्नुहुन्थ्यो, सोही परम्परालाई हामीले पनि धान्दै आएका छौँ”, उहाँले भन्नुभयो, “साउन महिनामा खिर खाने नेपाली मान्यतासँग यो पनि सम्बन्धित छ ।”

समितिका सहसचिव अर्जुन खड्काका अनुसार देवीलाई खिर चढाउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकालसहित विशिष्ट व्यक्तिहरू सरिक भएका थिए । आमन्त्रित पाहुना र भक्तजनलाई प्रसादस्वरुप खिर खुवाइएको थियो । “ऊबेला घर–घरबाट दूध ल्याएर मन्दिर परिसरमै खिर पकाउने चलन थियो”, उहाँले भन्नुभयो, “अहिले भैँसी पाल्ने चलन हटेपछि बजारबाट दूध किन्नुपर्छ ।”

दूधलगायत सबै सरसामानको जोहो गरेर समितिले नै खिर खुवाउने कार्यक्रमको प्रबन्ध गर्ने गर्छ । झण्डै पाँच सय वर्षअघि स्थापना भएको कालिका भगवती मन्दिर देशमै प्रख्यात शक्तिपीठ मानिन्छ । तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विश्रवादेवीसँग विवाह गर्दा देवीलाई दाइजोस्वरुप ल्याएको इतिहासमा उल्लेख छ ।

देवीको मूर्तिसहितको डोली अरु कसैले उचाल्न नसकेपछि बागलुङबाट शिकारीको भेषमा गएका चक्र पूँवार खड्काले खड्ग समातेको र यहीँबाट गएका लमगाउँका मगरले डोली बोकेर ल्याएको बताइन्छ । डोली ल्याउने क्रममा बागलुङ नगरपालिका–१ स्थित जङ्गलमा बिसाइएको र पुनः डोली उठाउन खोज्दा नसकेपछि त्यहीँ देवीलाई प्रतिस्थापन गरिएको किंवदन्ती छ ।

स्थापनाकालको सुरुमै मन्दिरको पुजारीका रुपमा चक्र पूँवार खड्कालाई जिम्मा दिइएको र पछि पनि मूलपुजारीका रूपमा पूँवार खड्काकै सन्तति रहने परम्परा बसेको समितिका सचिव खड्काले बताउनुभयो । कालिका देवीको पूजाआजा र भाकल गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।