२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनीमा सुरु भयो तीन सय वर्ष पुरानो बर्खेनाच



अ+ अ-

गलेश्वर । म्याग्दी सदरमुकाम बेनीमा तीन सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको बर्खेनाच सुरु भएको छ । विसं १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ बसाइँसराइ गरी आएका थिए । त्यतिबेलादेखि नै बेनीमा बर्खेनाच देखाउने परम्परा बसेको हो ।

प्राचीन समयमा समाजमा खलपात्रका रुपमा चिनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतीक बनाई त्यसलाई बध गरेर (मारेर) कालीगण्डकीमा विसर्जन गरेसँगै एकमहिने बर्खे नाच सुरु भएको हो । नेपाल भाषा मंकाः खलको आयोजनामा मङ्गलबार सङ्गमचोकबाट तीनखुट्टे राक्षसको प्रतीकात्मक आकृतिलाई बजार परिक्रमा गराई बध गरेर कालीगण्डकी नदीमा विसर्जन गरिएको थियो ।

घण्टाकर्णलाई नदीमा बगाएपछि बर्खेनाच औपचारिक रुपमा सुरु हुने नेपाल भाषा मंकाः खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । “हिजो घण्टाकर्णको बध गरी कालीगण्डकीमा विसर्जन गरियो, आजदेखि बर्खेनाच सुरु भएको छ”, उहाँले भन्नुभयो ।

बर्खेनाचअन्तर्गत लाखेनाच, रोपाइँ नाच, घोडा नाच, नागानागिनी नाच, श्रीकृष्ण र रथयात्रा, हनुमान नाच आदि पर्दछन् । तर पछिल्लो समय कलाकारहरुको अभावमा हनुमान नाच देखाउन छाडिएको छ ।

बर्खे नाचमा मंकाः खल अन्तर्गतको युवा सङ्गठन ल्याम्हपुचले आवश्यक तयारीसहित सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

जनशक्तिको अभावका कारण हनुमान नाच, रोपाइँ लगायतका केही नाचहरु सञ्चालन गर्न नसकिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
बर्खेनाचअन्तर्गत जनैपूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात् नागानागिनी नाच निकाल्ने चलन छ ।

समाजमा दुःख दिएको र विकृति फैलाउने घण्टाकर्णको विसर्जनपछि पति वियोगमा परेकी राक्षसको पत्नीले देखाउने चरित्रलाई बर्खे नाचमार्फत प्रदर्शन गर्ने मंकाः खलका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ । बर्खेनाचको समापनसँगै चाडपर्वको रौनकता छाउने भएकाले पनि बेनीबजारमा यसको महत्व धेरै रहेको छ ।

बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृति हो । बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसाबास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन् ।

सदरमुकाम बेनीबजारमा तीनसय वर्षपहिले मानव बस्तीको विस्तार भएदेखि नै बर्खे नाच सुरु गरिएको बताइन्छ । बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजय हुने सन्देशसहित यो नाच समाप्त हुने प्रचलन रहेको छ ।