• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   शंखमुलस्थित एक पसलमा आगलागी ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई छैटौं सफलता ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पाँचौं सफलता ★   विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा ★   नेपालीलाई चिनियाँ भिसा नि:शुल्क, एक्सप्रेस र सेवा शुल्क भने यथावत ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौंथो सफलता, भुर्तेलले लिए दुई विकेट ★   लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट ★   बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन :- कमल थापा ★   गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा

पोखरा महानगरका निर्वाचित मेयर आचार्यद्वारा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने



कास्की । पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रश्ताव गर्ने घोषणा गर्नुभएको छ ।

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बन्नुभएका आचार्यले ५ हजार मत गणना बाँकी छँदै मेयरमा विजयी बन्नुभएको हो । यद्यपी पूर्ण मत गणना नभइसकेकोले घोषणा हुन भने बाँकी छ । मेयरमा उहाँको प्रतिष्पर्धी रहनुभएका नेकपा एमालेका उम्मेदवार कृष्ण थापा ५ हजार २८६ मतान्तरले पछि हुनुहुन्छ । अब ५ हजार १५ मत गणना बाँकी छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो भने मंगलवार बिहान ८ बजेसम्म १ लाख ३८ हजार २११ मत गणना भइसकेको छ । जसकारण पनि सहजै उम्मेदवार आचार्यको पक्षमा नतिजा गइसकेको अनुमान लगाउन सकिन्छ ।

उहाँले शपथग्रहणपछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेशन गर्नुपर्ने कुराहरुलाई ६ महिनाको समयावधि भित्र निःशुल्क बनाउने निर्णय गर्ने घोषणा गर्नुभयो । उहाँले शपथग्रहणको दिन पहिलो निर्णयका रुपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रश्ताव गर्ने पनि जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले महानगरपालिकाका हरेक निर्णय पोखरावासीको जीवनस्तरलाई सरल बनाउने किसिमका हुने दाबी गर्नुभयो ।

उहाँले चुनावी प्रतिष्पर्धामा विभिन्न पार्टीबाट आएपनि निर्वाचित भएपछि सबै एउटै टिमको भएकोले अब पोखराको अविभावक भएर काम गर्ने र सबै निर्णयहरु भरसक सर्वसम्मत गर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले कसैको स्वार्थ बिना महानगरवासीको लागि निर्णय गर्ने भएकोले महानगरका निर्णय सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले महानगर विकास गर्नका लागि पोखरावासीलाई पहिलो प्राथमिकतामा राखेर रोजगारी दिने र उनीहरुबाट नै विभिन्न विकासका उपाय र योजनाहरु ल्याइने बताउनु भयो ।

मेयरका उम्मेदवार आचार्यले भन्नुभयो, ‘हामी सबै एकै टिमका हौँ । प्रतिष्पर्धामा फरक पार्टीबाट आएपनि निर्वाचित भइसकेपछि हामी एकै टिमका हौँ । हामी अब पोखराको अविभावक भएर काम गर्नुपर्छ । हामी सबै निर्णयहरु भरसक सर्वसम्मत गर्नेछौँ । स्वार्थ बिना निर्णय गर्छौं जसले सर्वसम्मत हुनेछ । म विगत ३७ वर्षदेखि पोखरेली राजनीतिमा काम गरेको छु । हाम्रो पार्टी नयाँ भएपनि २००६ सालदेखिकै लिगेसी बोकेको छ ।

गठबन्धनमा रहेका पाँचै दलहरुको सरसल्लाह लिनका लागि संयन्त्र पनि बनाउनेछौँ । साथै पोखरामा रहेका सबै विज्ञहरुलाई राखेर एउटा थिङ ट्याङ्क पनि बनाउनेछौँ । सम्बन्धित क्षेत्रका सबैलाई राखेर पहिलो चरणमा पोखराबाट नै हाम्रा विशेषज्ञहरुको पुग्ने अवस्थामा यहीँबाट गर्नेछौँ । यदी पुगेन भने देश, विदेशबाट पनि आवश्यक जनशक्ति सल्लाहकारका हिसावले विभिन्न विषयहरुमा राय, सल्लाह लिने किसिमले काम गर्नेर्छौं । हामी बन्द कोठाभित्र रहेर सेन्सेटिभ कुराहरुको निर्णय गर्नेछैनौँ । हामी सबैको साझा विषयलाई छलफल गरेर नै निर्णय गर्नेछौँ । हामी भोलि पहिलो निर्णय महानगर अविभावक हो । पोखरावासी नागरिकहरुको जीवनस्तरलाई कसरी सरल बनाउन सकिन्छ भन्ने हिसावले सोचेर कामहरु गर्नेछु । हामी पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका जति पनि रजिस्ट्रेशन गर्नुपर्ने कुराहरु छन्, त्यसका लागि ६ महिनाको समयावधि भित्र फ्रि अफ कस्टमा गर्ने गरेर एउटा निर्णय गर्नेछौँ । अर्को पोखरालाई पर्यटनको राजधानी घोषणा गरियोस् भनेर नेपाल सरकारलाई औपचारिक रुपमा पत्राचार गर्नेछौँ ।’

मेयरका उम्मेदवार आचार्यले ५ वर्षमा पोखरा व्यवस्थित शहर हुने दाबी गर्नुभयो । उहाँले ५ वर्षे कार्यकालमा पोखरालाई सिस्टमबाट चल्ने, सफा र आधुनिक शहर बनाउने बताउनु भयो । पोखराको मेन बसपार्क हामीले लामे आलमा बनाउने, जसमा छुट्टै अटो पार्क बनाउने योजना रहेको बताउनु भयो । उहाँले अहिले पृथ्वी चोकमा रहेको बसपार्कलाई पोखराको सिटी बसपार्कका रुपमा परिणत गर्ने पनि जानकारी दिनुभयो । उहाँले पोखरा महानगरभित्रका सबै वडामा साँझ ६ बजेसम्म गाडी चल्ने, आयात प्रतिस्थापन गर्ने उपाय अपनाउने, पोखरेली हरुको जीवनस्तरलाई योजना अघि सार्ने, भान्सालाई सस्तो, सुलव, सफा र हाइजेनिक बनाउने काम आगामी ६ महिनामा नतिजा निस्किने कार्ययोजना अघि बढाउने बताउनु भयो । उहाँले बाच्नका लागि चाहिने खर्चलाइ बिस्तारै कम गर्दै जाने योजना रहेको पनि बताउनु भयो ।

उम्मेदवार आचार्यले भन्नुभयो, ‘५ वर्षमा पोखरा एउटा व्यवस्थित शहर हुनेछ, सिस्टमबाट चल्ने शहर हुनेछ । सफा र आधुनिक शहर हुनेछ । त्यसका लागि चाहिने पूर्वाधार र महानगर हुनका लागि आवश्यक पूर्वाधार भएको हुनेछ । सबैले हेर्दा साँच्चै पोखरा चेन्ज भएछ भन्ने हुनेछ । त्यतिबेला अन्तर्राष्ट्रिय विमानस्थल पनि चलिसकेको हुनेछ । त्यसलाई चाहिने पूर्वाधार र पर्यटनसँग सम्बधित अन्य पूर्वाधारहरु हामीले व्यवस्थित गरिसकेका हुनेछौँ । पोखराको मेन बसपार्क हामीले लामे आलमा बनाइसकेका हुनेछौँ । त्यहाँ अटो पार्क पनि हुनेछ । हेभी वा मझौला सबै खालका गाडीहरुको मर्मत गर्ने वर्कसपहरु त्यहाँ हुनेछन् । त्यसले पोखराभित्रको सुन्दरता थप्नेछ । पोखराको सिटी बसपार्कलाई अहिलेको पृथ्वी चोकको बसपार्कलाई सिटी बसपार्क बनाउनेछौँ । सबै वडामा बेलुका ६ बजेसम्म पनि हाम्रा गाडीहरु पुग्ने बनाउनेछौँ । आयात प्रतिस्थापन गर्नका लागि हामी सबै खालको उपाय अपनाउनेछौँ । जसले पोखरेली हरुको जीवनस्तरलाई उकास्नेछ । हामी भोलिबाट नै कस्ट अफ लिभिङ शुरु गर्नेछौँ । भान्सालाई कसरी सस्तो र सुव्यवस्थित बनाउने रु कसरी हाइजेनिक बनाउने भन्ने विषयमा हाम्रा काम र गतिविधिहरु केन्द्रित हुनेछन् । त्यसको ६ महिनाभित्रमा नतिजा पाउने हिसावले काम गर्नेछौँ । हामी बाच्नका लागि चाहिने खर्च बिस्तारै कम गर्दै जानेछौँ । शपथपछि हामी दुई दिनको क्लोज अप गर्छौं । यसरी हामी अघि बढ्छौँ भन्ने कुरा सबैलाई साथमा लिएर अघि बढ्नेछौँ । पोखराको ५ वर्ष अनुकरणीय हुनेछ । अरु देशका अरु नगरपालिकाहरु पनि सिस्टममा चलेको नगरपालिका हेर्न जाऔँ, महानगर हेर्न जाऔँ भनेर पोखरा आउनुहुनेछ ।’

उम्मेदवार आचार्यले शपथपछिको पहिलो बैठकबाट नै फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने बताउनु भयो । उहाँले पोखरामा फोहोर व्यवस्थापन गर्न नसके अन्तर्राष्ट्रिय विमानस्थल नै सञ्चालन हुन नसक्ने स्थितिमा रहेको भन्दै अब फोहोरलाई फरक ढंगले व्यवस्थापन गर्ने दाबी गर्नुभयो । पोखरामा विगत लामो समय यता फोहोर व्यवस्थापनको ठूलो चुनौति देखा पर्दै आएको छ । उहाँले पोखरामा फोहोर व्यवस्थापनको लागि निर्वाचित हुनु पहिला नै अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटेर आगामी बजेटमा प्राथमिकता राख्न अनुरोध गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फोहोरको व्यवस्थापन हुन सकेन भने विमानस्थल नै सञ्चालन हुँदैन । म अस्तिको दिन काठमाडौं गएर अर्थमन्त्री र शहरी विकास मन्त्रीलाई भेटेको छु । मैले बजेटमै पोखराको लागि यसमा व्यवस्था गरियोस् भनेर व्यवस्थापन गर्न लगाएर आएको छु । ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्न नसके पोखरामा एयरपोर्ट नै शुरु हुँदैन । हामी गम्भीर छौँ । पहिलो बैठकबाट नै हामी पहिलाका निर्णयहरुलाई हेरेर कहाँ उपयुक्त हुन्छ र कस्तो बनाउने भन्ने बारेमा विशेषज्ञहरुको राय, सल्लाह लिएर टिम बनाएर अघि बढाउनेछौँ । अब फोहोरलाई फरक ढंगले व्यवस्थापन गर्छौं ।’

पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार आचार्यले १ लाख ३८ हजार २११ मत गणना गर्दा ५६ हजार ४७१ र उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका थापाले ५१ हजार १८५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले हालसम्म ५८ हजार ५८१ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा गठबनधबाट नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५४ हजार ५४७ मत पाउनुभएको छ । पोखरा महानगरपालिकामा अब मात्र ५ हजार १५ मत गणना गर्न बाँकी रहेको छ ।