२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

शिक्षा क्षेत्रमा परेको क्षतिको तथ्यांक कहिले संकलन हुन्छ ? सिकाईमा पुगेको क्षतिको पुरण कसरी गर्ने ?

शिक्षा क्षेत्रमा परेको क्षतिको तथ्यांक कहिले संकलन हुन्छ ? सिकाईमा पुगेको क्षतिको पुरण कसरी गर्ने ?
अ अ+ अ-

कोभिड १९ महामारीको जोखिमका कारण दुई वर्षदेखि बन्द रहेका शैक्षिक संस्थाहरु जोखिम हट्न नपाउँदै धमाधम खुल्न थालेका छन् । गत वर्ष माघ, फागुन र चैतको आधाआधी समय शहरका विद्यालय पनि सञ्चालनमा आए । मुख्य शहरी क्षेत्र भन्दा टाढाका ग्रामीण क्षेत्रका केही स्कुल कात्तिकदेखि सञ्चालन गर्ने भनिए पनि शिक्षकहरु स्कुल पुग्न नसक्दा सिकाई प्रभावित भएको थियो । 

माध्यमिक तहको फलामे गेटको रुपमा रहेको एसईईका दुई ब्याचहरु भौतिक उपस्थिति बिनाकै सिकाईमा सिमित हुन पुगे । स्थानीय सरकारहरूले कोभिड–१९ को जोखिम कम भएको वा नियन्त्रणमा आएको आंकलन गर्दै केही क्षेत्रहरूमा विद्यालयहरू सञ्चालन गरे तापनि अझै पनि संक्रमणको जोखिम व्याप्त रहेकाले विद्यालय पुनःसञ्चालनमा चुनौतीहरू यथावत् छन् । 

२०७७ साल चैत ११ गते देखि मुलुकभरका शैक्षिक संस्था बन्द भए । कोभिड–१९ महामारी सुरु भएसँगै रोकथामका लागि लागु गरिएका स्थानीय तथा राष्ट्रिय बन्दाबन्दीका कारणले विद्यालयहरू लामो समयसम्म बन्द रहँदा झन्डै ८५ लाख बालबालिकाको सिकाई प्रकृया जोखिममा पर्यो ।  २०७७ पुस २८ गतेबाट सरकारले साझेदारहरूको सहयोगमा वैकल्पिक शिक्षाका विभिन्न विधिहरूको प्रयोगमार्फत शैक्षिक अभियान सुरु गर्यो । वैकल्पिक शिक्षाका विधिहरूले विद्यालय बन्दबाट प्रभावित बालबालिकाका लागि केही राहत त मिल्यो तर प्रविधिमा पहुँच नपुगेका झण्डै ७० प्रतिशत बालबालिका बैकल्पिक शिक्षाबाट पनि बन्चित हुन पुगे । 

सन् २०३० सम्मका लागि विश्वव्यापी रुपमा तय गरिएका दिगो विकासका १७ लक्ष्यहरुमा लक्ष्य ४ गुणस्तरीय शिक्षामा केन्द्रित छ । लक्ष्य ४ मा सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवन पर्यन्त सिकाईका अवसरहरु प्रवर्धन गर्ने उल्लेख छ । लक्ष्य ४ का १० वटा सूचकहरु छन् । ती दश सूचकमा सन् २०३० सम्ममा सान्दर्भिक र प्रभावकारी सिकाईका उपलब्धिहरू हासिल हुने गरी सबै बालबालिकाले निःशुल्क, समतामूलक र गुणस्तरीय प्राथमिक र माध्यमिक शिक्षा पूरा गरेको सुनिश्चित गर्ने भनिएको छ ।

त्यसैगरी गुणस्तरीय बाल विकास, स्याहार र पूर्व प्राथमिक शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने, गुणस्तरीय प्राविधिक व्यावसायिक तथा विश्वविद्यालय लगायत उच्च शिक्षामा सबै महिला र पुरुषको समान पहुँच सुनिश्चित गर्ने, व्यावसायिक सिप लगायतका सान्दर्भिक सीपहरू हासिल गरेका युवा तथा प्रौढहरूको संख्यामा उल्लेख्य वृद्धि गर्ने, शिक्षामा लैङ्गिक असमानता उन्मूलन गर्ने र अपाङ्गता भएका व्यक्ति, आदिवासी र लोपोन्मुख बालबालिका लगायत लोपोन्मुख अवस्थामा रहेका सबैका लागि सबै तहको शिक्षा र व्यावसायिक तालिमको समान पहुँच सुनिश्चित गर्ने उल्लेख छन् ।

त्यसैगरी सबै युवा, महिला र पुरुष प्रौढहरुले साक्षरता र गणितीय सीप हासिल गरेको सुनिश्चित गर्ने, शैक्षिक सुविधाहरु बाल, अपाङ्गता तथा लैङ्गिक संवेदनशील हुने गरी निर्माण गरि सबैका लागि सुरक्षित अहिंसात्मक समावेशी र प्रभावकारी सिकाईको वातावरण उपलब्ध गराउने, व्यावसायिक तालिम र सूचना तथा सञ्चार प्रविधि, प्राविधिक इञ्जिनियरिङ र सम्बन्धित कार्यक्रमहरू लगायतका उच्च शिक्षामा भर्नाका लागि विश्वव्यापी रुपमा छात्रवृत्तिको संख्यामा उल्लेख्य विस्तार गर्ने उल्लेख छ ।

गुणस्तरीय समतामूलक तथा समाबेसी शिक्षाको सन्दर्भबाट हेर्दा नेपालमा अहिले पनि करिब २ दशमलब ८ प्रतिशत प्राथमिक तहको विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर छन् ती बालबालिका को हुन ? किन विद्यालय गएका छैनन् र उनीहरुलाई विद्यालय ल्याउन गर्नै पर्ने के हो भन्ने स्पष्ट भएको छैन किनकी ती समूह पहिचान गर्न सकिएको छैन । 
त्यसैगरी गुणस्तर के हो भनेर आफैंमा अस्पष्ट पनि छ । शहरमा शिक्षामा लाग्ने शुल्कलाई गुणस्तरको मापक बनाइएको छ । जति मंहगो स्कुल त्यति राम्रो शिक्षा भन्ने बुझाईले आधारभूत र उच्च शिक्षा थप व्यापारिक बन्दै गएका छन् । यसले गुणस्तरीय शिक्षा विस्तारै सर्वसाधारणको पहुँचबाट टाढिदै गएको छ । 

विद्यार्थीको सिकाइ स्तर, पाठ्यक्रमको सान्दर्भिकता, विद्यार्थीले हासिल गरेको सीप तथा शिक्षा र रोजगारीको सन्दर्भबाट हेर्दा थुप्रै समस्या छन् । समस्यै समस्याका बीच कोभिड–१९ को महामारीले त झन गुणस्तरीय शिक्षाको सुनिश्चित गराउने लक्ष्य चुनौतीपूर्ण बनेको छ । महामारीका कारण ज्ञान आर्जन गर्ने विषयमा ठूलो क्षति भयो । शिक्षा र ज्ञान आर्जनमा पुगेको क्षतिको अध्ययन हुनै सकेको छैन । सबै क्षेत्रले अंकमा क्षति र नोक्सानी निकालेका छन् । तर शिक्षामा यो दुई वर्ष भित्र पुगेको क्षतिको कुनै पनि निकायबाट भरणपोषणको बैकल्पिक उपाय सुझाइएको छैन । यो महामारी कहिलेसम्म जाने हो भन्ने निश्चित हुन नसकेको र भविश्यमा पनि यस्तै अवस्था आए के गर्ने भन्ने बारेमा चासो नै देखाइएको छैन । 

पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर राजनीतिक खिचातानीमा अल्झिएर वैकल्पिक शिक्षाको मुल मुद्दामा सरकार आउन नसकेको टिप्पणी गर्छन् । सत्ता, शक्ति र राजनीतिलाई एकातिर राखेर शिक्षा र स्वास्थ्यका विषयलाई सधैं सबै सरकारले प्राथमिकतामा राखेर कार्ययोजना बनाउनुपर्ने धारणा उनको छ । उनले भने, “हामीहरुले कहिले पनि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्न सकेनौ । दिगो विकास लक्ष्यमा वर्गीकृत विषय सूचकका शीर्षकमा बजेट विनियोजन गर्दैमा हामी लक्ष्य प्राप्ती उन्मुख छौं भनेर भन्छौ । तर वास्तवमा त्यो होइन ।

अहिले कोभिड महामारीका कारण शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । विशेष गरेर सिकाईको तह गिर्दो छ । अनलाइन शिक्षा पनि शहरी क्षेत्र र पहुँच पुगेका वर्गमा मात्रै सीमित छ । पहुँच र प्रविधि नपुगेको ठूलो संख्यालाई हामीले सम्बोधन नै गर्न सकेका छैनौ । महामारीले जीवनोपयोगी र व्यवहारिकसँगै प्रणालीगत सुधारका लागि अवसर दिएको थियो । तर त्यसलाई सरकारले उपयोग गर्न सकेन । हामी सबैले सकेनौं ।”

दुई बर्षसम्म शिक्षामा क्षति हुँदा प्रणालीगत सुधारतर्फ ध्यान दिन नसकेका संघ र प्रदेशले   शिक्षामा लिएको दिगो विकास लक्ष्यका विभिन्न १० वटा विषयगत सूचकमा भने कर्मकाण्डी हिसाबले बजेट विनियोजन गर्नबाट भने चुकेका छैनन् ।  

प्रदेशगत बजेटको समीक्षा

सबै प्रदेशले विद्यालयको पूर्वाधार निर्माणमा ठूलो रकम विनियोजन गरेका छन् । कोभिड–१९ महामारीसँगै विद्यालय जान नसकेका विद्यार्थीको वैकल्पिक सिकाईका लागि कसैको ध्यान जान सकेको छैन । 
प्रदेश २ सरकार र कर्णाली प्रदेशले स्पष्ट रुपमा वैकल्पिक सिकाईका लागि बजेट छुट्याएका छन् । अन्य प्रदेशको यसमा ध्यान जान सकेको छैन । प्रदेश २ सरकारले विद्यार्थीहरुलाई भौतिक दूरी कायम राखी पठनपाठन गराउनुपर्ने वर्तमानको आवश्यकतालाई मध्यनजर गरि वैकल्पिक सिकाई र छात्राहरुको आत्मरक्षा तालिमका कार्यक्रम सहित बजेट छुट्याएको छ ।

लुम्बिनी प्रदेशले विद्यालयमा शौचालय निर्माण एवम् खानेपानी तथा सरसफाई अनि पूर्वाधार निर्माणमा ठूलो रकम विनियोजन गरेको छ । शिक्षामा सबैको पहुँच पुर्याउने लक्ष्यलाई अनुसरण गर्दै मुस्लिम समुदायका छात्रालाई शिक्षामा सहभागिता वृद्धि गर्न तथा मुक्तकमैया, कम्लरी, मुस्लिम, दलित र पिछडावर्गका कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्राका लागि छात्रवृत्ति प्रदान गर्न बजेट छुट्याएको छ ।

मुस्लिम समुदायका छात्राहरूको शिक्षामा सहभागिता वृद्धि गर्न ३ करोड रुपियाँ र बाँकेको शैक्षिक बेरोजगारीको समस्यालाई थोरै भएपनि सम्बोधन हुने गरि शोध अनुसन्धानका लागि प्रतिवर्ष १० विद्यार्थीलाई शोधवृत्ति प्रदान गर्ने कार्यक्रम राखिएको छ । थोरै रकम भएपनि यो राम्रो सुरुवात हो ।  त्यसैगरी सुस्तःमनस्थिति विशेष विद्यालय निर्माण गर्न पनि बजेट छुट्याएको छ । यसमा अरु प्रदेशको ध्यान पुगेको छैन । 

कर्णाली प्रदेशले वैकल्पिक सिकाईका लागि बजेट छुट्याएको छ । ज्ञान र सीपसँगै स्वआर्जन तथा अध्ययनपछि तीन वर्ष सम्बन्धित स्थानीय तहमा अनिवार्य काम गर्ने मापदण्डका साथ गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम समावेश गरेको छ । समग्रमा प्रदेश १ सरकारले शिक्षा क्षेत्रका लागि एक अर्ब २८ करोड, प्रदेश २ सरकारले करिब ८५ करोड, बाग्मती प्रदेशले १ अर्ब २५ करोड, गण्डकी प्रदेशले करिब ५० करोड, लुम्बिनी प्रदेश सरकारले ५५ करोड र कर्णाली प्रदेशले ४४ करोड बजेट विनियोजन गरेका छन् । 

सुदूरपश्चिम प्रदेशले अन्य प्रदेशको तुलनामा शिक्षामा बढी वजेट विनियोजन गरेको छ । प्रदेशले आर्थिक वर्ष २०७७–७८ मा १ अर्ब ६० करोड भन्दा माथि बजेट विनियोजन गरेको छ । कोभिड महामारीका कारण विद्यालय शिक्षण सिकाई कार्य असहज भइरहेका बेला वैकल्पिक सिकाईको माध्यमबाट सिकाई सहजीकरण गर्न १ करोड रुपियाँ विनियोजन गरेको छ । 

सात वटै प्रदेशले आर्थिक वर्ष २०७७/७८ को लागि विनियोजित गरेका बजेटहरु निम्नानुसार छन् ।

सरकारका विभिन्न तहमा निर्माण हुने योजना, तय हुने नीति तथा कार्यक्रम र हरेक स्थानीय तहका फरक फरक प्राथमिकताहरुलाई एकीकृत गरेर दिगो विकासका लक्ष्यसँग मिलान गर्दै स्थानीय विविधताको सम्मान र स्थानीय सिपको जगेर्ना गर्दै तोकिएका लक्ष्य हासिल गर्नुपर्ने छ ।

यसका लागि कार्यान्वयन योग्य प्रभावकारी योजना, नीति तथा कार्यक्रम तय गरिनु आवश्यक छ । दिगो विकासका लक्ष्यहरु र त्यसको सान्दर्भिकतालाई सबै तहमा आत्मसाथ गर्नुपर्ने देखिन्छ । दिगो विकासका लक्ष्य हासिल गर्न हाल विनियोजित बजेट त अपर्याप्त छ नै त्यो भन्दा पनि ती लक्ष्य हासिल गर्ने प्रतिबद्धताको इमान्दारी कार्यान्वयन अझ महत्वपूर्ण छ ।