१५ आश्विन २०८१, मंगलवार
,
Latest
नेपाल अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमस्टेकको पाँचौँ सम्मेलन: प्रधानमन्त्री देउवाको भर्चुअल सम्बोधन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाले आयोजना गरेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई दशकको यात्रा पार गर्ने तरखरमा रहेको क्षेत्रीय सङ्गठन बिमस्टेकलाई गतिशील एवं यस क्षेत्रका जनताको जीवनस्तर उठाउने क्षेत्रीय आकाङ्क्षालाई साकार तुल्याउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ साझेदारी प्रवद्र्धन गर्नु अपरिहार्य भएको बताउनुभयो ।

साथै उहाँले सदस्य राष्ट्रको स्रोतको सदुपयोग गरी सङ्गठनलाई नवजीवन दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले कोभिड–१९ महामारीका कारण आर्थिक, सामाजिक एवं विकासका क्षेत्रमा परेका प्रभाव घटाउन तथा बिम्स्टेक क्षेत्रको पुनःस्थापना सुनिश्चित गर्न बिमस्टेकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

वर्तमान विश्वले जलवायु परिवर्तनलगायत विविध चुनौतीको सामना गरिरहेको, ती चुनौतीको प्रकृति जटिल रहेका बेला कोभिड–१९ को महामारीले निम्त्याएको सङ्कट, सञ्चार तथा सूचना प्रविधिको चरम विकासबाट अथाह लाभ हासिल गर्ने एकथरि र चरम गरिबीको रेखामुनि रहेका वर्गको उत्थानमा त्यसको उपयोग हुन नसक्दा गहिरिएको धनी र गरिबबीचको खाडल पुर्न सदस्य राष्ट्रबीच सहकार्य र साझेदारी आवश्यक भएको प्रधानमन्त्रीले बताउनुभयो ।

विगत दुई वर्षदेखि बिम्स्टेक क्षेत्र पनि महामारीविरुद्धको महालडाइँ लडिरहेको, लाखौँको मृत्यु भएको, धेरै जनता गरिबीमा परेका तथा संरचनात्मक कमजोरीहरू अझ बढिरहेको यथार्थ चित्रण गर्दै उहाँले महामारीको प्रभाव विस्तारै कम हुँदै गएको देखिए पनि त्यो समाप्त नभएकाले यसले आर्थिक र विकासलाई शिथिल बनाउने बताउनुभयो । “खोपको असमानताले उत्थानशील पुनरुत्थानमा अवरोध सृजना भएको छ,” प्रधानमन्त्रीले भन्नुभयो ।

क्षेत्रीय सहयोगको भावना, एकता, सहयोग र सहकार्य, ऐक्यबद्धताको प्रतिज्ञा गर्ने मञ्च बिम्स्टेक शिखर सम्मेलनको उच्च महत्व रहेको बताउँदै उहाँले ब्याङ्कक घोषणामा उल्लिखित शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यप्रतिको प्रतिबद्धता दोहो¥याउनुभयोे ।

सडक, रेलमार्ग, हवाई मार्ग र जलमार्ग विस्तारबाट हाम्रा देश, समाज र बजारको एकीकरण, यातायात सञ्जाल, ऊर्जा, र ‘पावर ग्रिड’ अन्तरसम्बन्धमा लगानी गर्न आह्वान गर्दै प्रधानमन्त्रीले बिमस्टेक भित्रको अन्तरक्षेत्रीय व्यापार र लगानीको मात्रा वृद्धि, नवप्रवर्तन, उद्यमशीलतको विकास, वस्तु र सेवाको व्यापार, लगानी प्रवद्र्धन , भन्सार मामिलामा पारस्परिक सहयोग आवश्यक भएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी जोड्ने बुद्ध परिपथलाई शीघ्र सञ्चालनका निम्ति आह्वान गर्दै प्रधानमन्त्री देउवाले बुद्ध धर्म बिम्स्टेक क्षेत्रलाई जोड्ने बलियो धागो हो भन्नुभयो ।

‘स्वस्थ्य जनता,उत्थानशील क्षेत्र, समृद्ध अर्थतन्त्रतर्फ बिम्स्टेक’ आदर्श वाक्ययुक्त पाँचौँ शिखर सम्मेलनलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष, जनवादी गणतन्त्र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भूटान अधिराज्यका प्रधानमन्त्री लोटे छिरिङ, गणतन्त्र भारतकाका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्ड अधिराज्यका प्रधानमन्त्री, प्रयुत चान–ओ–चा बिमस्टेकका महासचिव तेन्जिन लेकफेलले सम्बोधन गर्नुभएको थियो ।

विगत साढे तीन वर्षदेखि बिमस्टेक प्रक्रियाको सफल नेतृत्वका लागि श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षलाई उहाँका सक्रिय नेतृत्व, प्रतिबद्धता र समर्पण, श्रीलङ्का सरकार, सदस्य राष्ट्रका विदेशमन्त्री, महासचिवलगायत शिखर सम्मेलन आयोजनामा संलग्न सबै पदाधिकारीप्रति प्रधानमन्त्री देउवाले हार्दिक आभार व्यक्त गर्नुभयो ।

बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई मंगलबार परराष्ट्रमन्त्री डा.नारायण खड्काले कोलम्बोमा सम्बोधन गर्नुभएको थियो । परराष्ट्रमन्त्री खड्काले बिमस्टेक स्थापनादेखि हालसम्म भएका उपलब्धिको चर्चा गर्दै बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको थियो ।

मन्त्री खड्काले जनताको जीवनस्तर उकास्न, समान अवसर सिर्जना गर्न र बङ्गालको खाडीको शान्ति र समृद्धिको आकाङ्क्षा पूरा गर्न साझेदारी एवं सहकार्य गर्नुपर्ने खाँचो औँल्याउनुभएको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ ।

सङ्गठनलाई गतिशील तुल्याउन वर्तमान चुनौतीअनुरूप नवीन मार्गहरू पहिल्याउनुपर्ने उहाँले बताउनुभयो । साथै उहाँले बिम्स्टेक क्षेत्रका जनताको विकास सुनिश्चित गर्न नेपालको रचनात्मक योगदान रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।