४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मौरी पालनमा आकर्षण बढ्यो ,चरन क्षेत्र घट्यो

मौरी पालनमा आकर्षण बढ्यो ,चरन क्षेत्र घट्यो
अ+ अ-

रत्ननगर। चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्नुहुन्थ्यो । तर पछिल्ला वर्षहरुमा उहाँलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ ।

“विसं २०५३ देखि दुई गोलाबाट मौरीपालन व्यवसाय गर्दै आएको हुँ । विसं २०६३ सम्म एउटा गोलाबाट ८० देखि ९० किलोसम्म मह काढ्थेँ”, उहाँले भन्नुभयो, “अहिले निरन्तर घट्दै गएर वार्षिक २५ किलो मह पनि उत्पादन हुँदैन ।” खर्च कटाएर एउटै गोलाबाट रु १० हजारसम्म आम्दानी गर्नुभएका उहाँले अहिले मुस्किलले रु पाँच हजार पनि बचाउनुहुन्न । यसरी महको उत्पादकत्व घट्दै गएपछि उहाँले मौरीको सङ्ख्यासमेत घटाउँदै आउनुभएको छ ।

“पाँच वर्ष अगाडि ५०० भन्दा बढी गोला मौरी चर्न जान्थ्यो”, उहाँले भन्नुभयो, “बजार र उत्पादनको समस्याले गर्दा मौरी घटाउँदै २०० गोलामा झारेको छु ।” उहाँले वार्षिक २५ टनका हाराहारीमा मह उत्पादन गर्नुहुन्छ । उहाँले वार्षिक ७० टन अरुको मह सङ्कलन गरेर बिक्रीसमेत गर्ने बताउनुभयो । महमा फाइदा भए पनि विगतको भन्दा लागत मूल्य पनि बढी हुँदै आएको उहाँको भनाइ छ ।

चरन क्षेत्रको अभाव, वन विनाश, वन अतिक्रमण, बालीनालीमा विषादीको प्रयोग, जलवायु परिवर्तनको प्रभावलगायत कारण बर्सेनि मह उत्पादन घट्दै गएको बताइएको छ । विकास निर्माणका क्रममा स्थानीय वनजङ्गलमा चिउरी, रुदिलोलगायतका बोटबिरुवा नास हुँदै जाँदा किसानहरु मौरी चराउन देशका विभिन्न भाग पुग्ने गरेको छन् । “पहिलो सिजनमा चिउरी र तोरीको लागि दाङ र प्युठान, यसपछि क्रमशः कपिलवस्तु, चितवन, बर्दिबास, सर्लाहीलगायतका पूर्वका जिल्लामा मौरी चराउन लैजान्छौँ”, १५० गोला मौरीपालन गर्दै आउनुभएका रत्ननगरका सुरेन्द्र मानन्धर भन्नुभयो, “मौरीका लागि चरन क्षेत्र अभाव हुँदा वर्षमा १२ स्थानमा सार्नुपर्छ ।” चरनका लागि उनीहरुले प्रतिगोला रु ५० देखि १०० सम्म सामुदायिक वनलाई दिने गरेका छन् ।

बढ्दो विषादीको प्रयोगका कारण पनि मौरीपालक किसान समस्यामा परेका छन् । विसं २०५२ देखि मौरीपालन गर्दै आउनुभएका मेघबहादुर खत्री मौरीपालक किसानका लागि चरण क्षेत्रको समस्या नै प्रमुख चुनौती रहेको बताउनुहुन्छ । “मेरोमा २५० गोला मौरी छन् । यहाँ राखेर उत्पादन दिन सकिँदैन । चरन भएको क्षेत्रमा स्थानीयले लैजान दिँदैनन”, उहाँले भन्नुभयो, “गत वर्ष तोरीमा हालेको विषादीको कारण १० गोला मौरी नष्ट भयो ।”

पछिल्लो समय जिल्लामा मौरीपालक किसान बढ्दै गएका छन् । यहाँ ५०० भन्दा बढी किसान छन् । हालसम्म जिल्लामा ३० हजार गोला मौरी रहेको अनुमान छ । तीन वर्षका तुलनामा मौरीका गोला ३० प्रतिशतले बढेको छ तर, किसानको आकर्षण बढेपनि चरणलगायतका कारण महको उत्पादकत्व भने घट्दै गएको मौरीपालन महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेल बताउनुहुन्छ ।

“चितवनमा मेलिफेरा मौरीको २९ हजार गोला सङ्ख्या छ । विसं २०७५ मा प्रतिगोला वार्षिक ५५ किलोसम्म उत्पादन हुन्थ्या”, उहाँले भन्नुभयो, “२०७६÷०७७ मा १८ किलोको हाराहारीमा उत्पादन थियो । २०७७÷०७८ मा २३ किलो आयो । अहिले पनि २५ किलो कट्ने सम्भावना कम छ ।” जिल्लामा तीन वर्षअघिसम्म वर्षिक आठ हजार मेट्रिक टन महको उत्पादन हुँदै आएको थियो । त्यसपछि घट्दै अहिले चार हजार मेट्रिक टन मात्रै उत्पादन भएको सरकारी तथ्याङ्क छ ।

महको उत्पादन वृद्धि गर्नका लागि सामुदायिक वनसँग मिलेर चिउरी, रुदिलोलगायतका बिरुवा सार्ने र गुणस्तरीय रानी मौरीको आयात गर्ने योजना रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख धनबहादुर थापाले बताउनुभयो । “मौरीको सङ्ख्या बढ्दै गएको छ । चरण क्षेत्र घट्दै छ । यसलाई मध्यनजर गर्दै चिउरीलागयतका बिरुवा रोप्नका लागि सामुदायिक वनसँग परामर्श गरेर मौरी चरणको व्यवस्थापनको कार्यक्रम गर्दै छौँ”, उहाँले भन्नुभयो, “रानी मौरीको गुणस्तर घट्दै गएको पाइएको छ । प्रजनन विकासका लागि मौरी विकास कार्यालयसँग मिलेर विदेशबाट रानी मौरी ल्याएर किसानलाई दिने तयारी गर्दैछौँ ।”

मौरीपालक किसानको क्षमतामा अभिवृद्धि गर्ने खालका कार्यक्रम अगाडि बढाउने जानकारी दिनुभयो । नेपालमा गत वर्ष तीन हजार ९९६ मेट्रिक टन मह उत्पादन भएको थियो तर, खपतका दृष्टिले ज्यादै न्यून हो । यहाँ वार्षिक एक हजार मेट्रिक टन मह बाहिरी मुलुकबाट आयात हुँदै आएको छ । उत्पादन बढाउनका लागि सामुदायिक वनसँग मिलेर फूल फुल्ने बिरुवा रोप्ने काम भइरहेको मौरीपालन विकास कार्यालय भण्डाराका प्रमुख गोविन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३० हजार चिउरीका बिरुवा रोप्ने तयारी छ । वार्षिकरुपमा मौरीपालक किसान थपिँदै जाँदा मौरीका गोलामा भने वृद्धि हुँदै गएको उहाँले बताउनुभयो । सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ‘मौरी जोन’ मार्फत अनुदान तथा प्राविधिक सहयोग गरेपछि किसान मौरीपालनमा उत्साही भएका उहाँको भनाइ छ । गुणस्तरीय रानीको विकाससँगै चरनक्षेत्रको विस्तार गर्ने हो भने महको उत्पादन बढाउन सकिने सरोकारवाला बताउँछन् ।रासस