१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ विधानको धज्जी उडाउँदै माओवादी



अ+ अ-

काठमाडौँ । निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटीको परिकल्पना गर्दै अन्तरिम विधान २०७८ पारित गरेको माओवादी केन्द्रले डेढ महिनामै विधानको धज्जी उडाएको छ । साउन ३० र ३१ मा काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको विधान–२०७३ लाई खारेज गर्दै अन्तरिम विधान–२०७८ पारित गरेको थियो । तर, नयाँ विधानको मान्यता भत्काउँदै माओवादीले जनवर्गीय संगठनको नेतृत्वमा फेरि टिके प्रणाली लागू गरेको छ ।

पछिल्लो पटक विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न सकेन । अध्यक्षमा पञ्चा सिंह, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा, उत्तम अधिकारी मुख्य दाबेदार थिए । सम्मेलनले नेतृत्व छान्न नसकेपछि अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले हस्तक्षेप गरेर सिंहलाई अध्यक्ष तोकिदिए पनि अन्य पदाधिकारी र सदस्यको टुंगो लाग्न सकेको छैन ।

पार्टी ‘हेडक्वाटर’ ले नै नेतृत्व तय गरेपछि सम्मेलनको अन्तिम दिन अर्थात् असोज १८ मा बन्दसत्रमा झडप पनि भएको थियो । त्यसअघि पार्टीको सहायक संगठन वाईसीएलमा पनि ‘हेडक्वाटर’ ले नै नेतृत्व तोकेको थियो । वाईसीएल अध्यक्षमा सुमन देवकोटा, सुबोध सेर्पाली र यशोदा न्यौपानेको दाबी थियो । तर, वाईसीएलमा नेतृत्वको आकांक्षी धेरै भएपछि ‘हेडक्वाटर’ ले हस्तक्षेप गरेर देवकोटालाई अध्यक्ष घोषणा गरिएको थियो ।

जबकि माओवादीको अन्तरिम विधान–२०७८ मा पार्टी र जनवर्गीय संगठनमा निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटीको परिकल्पना गरिएको छ । यतिसम्म कि पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रिक प्रणाली स्थापित गर्दै योग्य, सक्षम र गतिशील नेतृत्वको मूल्यांकन गर्ने अवसर स्वच्छ र निष्पक्ष निर्वाचन हो भन्ने मान्यता राख्दै केन्द्रीय निर्वाचन आयोगले कार्यसम्पादन नियमावली बनाएको छ ।

अन्तरिम विधान २०७८ ले पार्टीको विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायहरूको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ । विधानसँगै माओवादीले केन्द्रीय निर्वाचन आयोग, निर्वाचन नियमावली र कार्यविधिसमेत जारी गरिसकेको छ । माओवादीले आयोगको सोही नियमावली र कार्यविधिमार्फत सबै तहको नेतृत्व चयन गर्ने दाबी गर्दै आएको छ । ‘अहिले विद्यार्थीलाई व्यवस्थित गरेर लैजानका लागि निर्वाचनको झमेलाभन्दा पनि सहमतिमा अगाडि बढाउँ भनेर त्यो प्रक्रियामा गएको हो,’ माओवादी स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने ।

पार्टीभित्र हुने आवधिक निर्वाचन, निर्वाचनको अनुगमन, निर्वाचनसम्बन्धी नीति निर्माण, आचारसंहिता निर्माण, निर्वाचन पद्धति निर्धारण र निर्वाचनसम्बन्धी विवाद समाधानलाई व्यवस्थित गर्न केन्द्रीय निर्वाचन आयोग कार्यसम्पादन नियमावली–२०७८ पनि जारी गरिएको छ । स्थायी कमिटी सदस्य पोखरेल भने पार्टीलाई सहमतीय प्रणालीमा लैजाने प्रयासमा रहेको दाबी गर्छन् । ‘पार्टीलाई पनि सहमतीय प्रणालीमा लैजाने, त्यो पनि एउटा विधि हो,’ उनले भने, ‘हामीले पार्लियामेन्टी स्टिममा जस्तो हुन्छ त्यही लागू गर्नुपर्छ भन्ने छैन । हाम्रा आफ्ना विधिविधान छन्, आफ्ना प्रक्रिया छन् ।’

निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटीलाई माओवादी केन्द्रले क्रान्तिकारी पार्टी निर्माणको अभ्यास भनेको छ । आफूलाई नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारको मुख्य शक्ति दाबी गर्ने माओवादीले संगठनात्मक यथास्थितिवादसँग सम्बन्धविच्छेद गर्दै क्रान्तिकारी रूपान्तरण एवं पुनर्गठनका दिशामा फड्को मार्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएको छ । माओवादीले पुस ११–१३ सम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । त्यसअगाडि सेल र टोल भेला गरी कमिटी गठनरपुनर्गठन, वडा सम्मेलन, गाउँपालिका र नगरपालिका सम्मेलन, प्रदेश सम्मेलन गर्ने माओवादीको तयारी छ । यी सबै अधिवेशनबाट निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटी बनाउने माओवादीले जनाएको छ ।

कुनै बेला चार हजारभन्दा बढी केन्द्रीय सदस्य बनाएर चर्चा कमाएको माओवादी केन्द्रले निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटीको परिकल्पना गरेपछि कार्यकर्ता उत्साहित भएका थिए तर विद्यार्थी र वाईसीएलमा गरिएको नेतृत्व चयनको प्रयोगले आगामी दिनमा हुने पार्टी र जनवर्गीय संगठनको कमिटीका नेतृत्व चयन कार्यकर्ताले होइन, नेताले नै गर्न सक्छन् भन्ने आंशकालाई मद्दत पुगेको छ । यसले पार्टीको आन्तरिक लोकतन्त्र र योग्य नेतृत्व चयन प्रभावित हुन सक्ने माओवादीकै नेताहरूको चिन्ता छ ।

अन्तरिम विधानमा माओवादी राष्ट्रिय महाधिवेशनसम्मका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित २९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको कुल सदस्य संख्याको बढीमा एक तिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कुल सदस्यको बढीमा एक तिहाइ सदस्य रहेको स्थायी समितिको व्यवस्था गरेको छ । दैनिक कार्यसञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय र केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यसम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा सचिव र कोषाध्यक्षसहितको आवश्यक संख्याको एक केन्द्रीय सचिवालय रहने छ ।

अन्तरिम विधानअनुसार माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित बढीमा १७५ सदस्य रहनेछन् भने प्रदेश परिषद्मा प्रदेश समितिका पदाधिकारी र सदस्यदेखि नगर/गाउँ पालिकाका प्रमुखसमेत समेटिनेछन् । विधानमा काठमाडौं उपत्यकामा केन्द्रीय समितिले तोकेको जनवर्गीय र पेसागत संगठनहरूमा कार्यरत विभिन्नस्तरका पार्टी सदस्यहरूको बीचमा पार्टीको संगठनात्मक कार्यका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित बढीमा १७५ सदस्यीय उपत्यका विशेष समिति रहने व्यवस्था छ । यसबाहेक विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आई अस्थायी बसोबास गरिरहेकाबीच संगठनात्मक कार्य गर्न प्रदेश समिति स्तरको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित बढीमा १७५ सदस्यीय सम्पर्क समन्वय समिति गठन गर्ने विधानमा व्यवस्था छ ।

जिल्ला समन्वय समितिको आकार निश्चित छैन । यसमा संयोजक प्रदेश समितिले तोकेअनुसार हुने र जिल्ला समन्वय समितिमा पदेन र मनोनीत सदस्य रहने व्यवस्था छ । जिल्लामा कार्यरत प्रदेश समितिका सदस्य, नगर/गाउँ पार्टी समितिका अध्यक्ष, पार्टीका तर्फबाट निर्वाचित संघीय सांसद र प्रदेशसभाका सदस्य, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र पार्टी प्रदेश समितिले मनोनीत गरेका बढीमा १० प्रतिशत सदस्यहरू रहको जिल्ला समन्वय समिति हुने उल्लेख छ ।

स्थानीय समितिको सदस्य संख्या पनि विधानमा किटान गरिएको छ । जसअनुसार महानगर समिति–९९, उपमहानगर समिति–८१, नगर समिति–६५, गाउँ समितिर शाखा समिति/सम्पर्क समन्वय जिल्ला समिति–५५, महानगरका वडा समिति–४५, उपमहानगरका वडा समिति–३५, नगर / गाउँका वडा समितिरउपशाखा समिति /पालिका सम्पर्क समन्वय समिति–२९, टोल समिति/ इकाइ समितिरवडा सम्पर्क समन्वय समिति–१९ र पार्टी सेल–१५ सदस्यीय हुनेछ । पार्टी सेल सबैभन्दा तल्लो कमिटी हो । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।