२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसङ्घको १२औँ महाधिवेशन अनिश्चित



अ+ अ-

काठमाडौँ, १८ असोज (रासस) ः नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो ।

अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो ।

उक्त सङ्घको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गते म्याद सकिँदैछ ।

पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो ।

नेविसङ्घका उपाध्यक्ष रामप्रसाद अधिकारी निर्देशन समितिले दिएको निर्देशनअनुसार नै समयतालिका, विधान र नियमावली निर्देशन समितिलाई बुझाउँदा पनि निर्वाचन टार्ने खेल भइरहेको बताउनुहुन्छ ।

“संस्थापन पक्ष ३२ वर्ष उमेर हदको कारण देखाएर महाधिवेशन टार्ने पक्षमा देखिन्छ,” उहाँ भन्नुहुन्छ । पछिल्लो समय अन्य भातृ सङ्गठन आफ्नो समूहबाट पराजित हुँदै गएपछि संस्थापन पक्ष निर्वाचन गर्ने पक्षमा नरहेको उहाँको भनाइ छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट काङ्ग्रेसमा प्रवेश गर्नुभएका विजयकुमार गच्छदार समूहसँगै नेविसङ्घमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि चर्काचर्की भएको छ ।

नेविसङ्घका कोषाध्यक्ष शिव रिमाल निर्देशन समितिले गरेको आलटालका कारण तोकिएकै समयमा निर्वाचन नहुने आशङ्का बढेको बताउनुहुन्छ । “निर्वाचनको सुनिश्चितताका लागि निर्देशन समितिले विधान र नियमावली तत्काल टुङ्ग्याउनुपर्छ”, उहाँ भन्नुहुन्छ ।

विद्यार्थी नेता मोतीलाल भण्डारी महाधिवेशनको मुखमा अध्यक्षले कार्यसमिति विस्तार गर्दा नेविसङ्घको महाधिवेशन नहुने हो कि भन्ने आशङ्का पैदा भएको बताउनुहुन्छ ।

विद्यार्थी नेता ग्यालवाङ तामाङ तोकिएको समयमा नेविसङ्घको निर्वाचन हुन नसक्दा काङ्ग्रेस कमजोर हुने बताउनुहुन्छ । “नेविसङ्घ जति बलियो हुन्छ, त्यति नै काङ्ग्रेस बलियो हुन्छ”, उहाँ भन्नुहुन्छ । नेविसङ्घका सहमहामन्त्री एवं प्रवक्ता प्रेमराज जोशी केन्द्रीय समितिको बैठकले विधान संशोधन नगरेका कारण नेविसङ्घको १२औँ महाधिवेशन अन्योलमा परेको बताउनुहुन्छ ।

“नेविसङ्घको महाधिवेशनका लागि पार्टी सभापतिसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराउनेछौँ”, उहाँ भन्नुहुन्छ “महाधिवेशनको विकल्प महाधिवेशन मात्र भएकाले यथाशक्य छिटो महाधिवेशन सम्पन्न गराउने पक्षमा दवाव सिर्जना गर्छौ । ”
निर्देशन समितिका सदस्य एवं काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी अब बस्ने केन्द्रीय समिति बैठकमा नेविसङ्घको विधान र नियमावलीबारे छलफल हुने बताउनुहुन्छ ।