५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.32

Wind: 5.66

Humidity: 64

Latest
फेसबुकसहितका समाजिक सञ्जालमा प्रतिवन्ध लाग्न सक्छः सञ्चारमन्त्री गुरुङ यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा कानूनहरु चाँडै पारित गर्ने गरी काम भइरहेको छः मन्त्री चौरसिया मानवअधिकार, मौलिक हक र कानून कार्यान्वयनमा सांसदहरुको चासो कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रश्ताव मन्त्रालयले गरेको होइनः सचिव पन्थ निजामती कर्मचारीको अवकाश ६० वर्ष गरौँः अर्थसचिव उपाध्याय बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार पीडित नारीले पाइन् नोबेल शान्ति पुरस्कार



अ+ अ-

ओस्लो, १९ असोज (रासस/एएफपी)ः द्वन्द्वको परिस्थितिमा यौनहिंसा विरुद्ध उत्कृष्ट कार्य गरेको भन्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गोका डा डेनिस मुकवेगे र याजिदी अभियन्ता नदिया मुरादलाई संयुक्त रुपमा सन् २०१८ को नोबेल शान्ति पुररुकार प्रदान गर्ने घोषणा गरिएको छ ।

नर्वेको ओस्लोमा नोबेल समितिका अध्यक्षा बेरिट रेइस–एन्डरसनले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।

बेरिटले भन्नुभएको छ, “दुवै व्यक्तित्वले युद्ध र सशस्त्र द्वन्द्वमा यौनहिंसालाई हतियारका रुपमा प्रयोग गर्ने प्रवृत्ति अन्त्यका लागि प्रयत्न गरेकाले यस वर्ष नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो ।”

उहाँले युद्धको समयमा महिला र उनीहरुका आधारभूत अधिकार तथा सुरक्षालाई सम्मानित र संरक्षित गर्न सकिए मात्र शान्तिपूर्ण विश्व निर्माण गर्न सकिने बताउनुभयो ।

पुरस्कृत व्यक्तित्वमध्ये एक जना चिकित्सक र अर्को बलात्कार पीडित युवती हुन् । दुवैले विश्वकै यौनहिंसाजस्तो अभिषापका विरुद्ध सङ्घर्ष गर्नुभएको छ र यसमा धेरैले योगदान गरेपनि यो पुरस्कारले त्यसैको प्रतिकात्मक प्रतिनिधित्व गर्दछ ।

यो पुरस्कारको घोषणा विश्वभर तरङ्ग ल्याइरहेको मीटु नामको अभियानको पहिलो वार्षिक समारोहका अवसरमा गरिएको छ ।

पुरस्कृत व्यक्तित्व ६३ वर्षीय मुकवेगेले दुई दशकदेखि युद्धले क्षतविक्षत प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यौनहिंसा र बलात्कारजस्ता अमानवीय कार्यबाट पीडित महिलाको उपचार र समाजमा पुनस्र्थापित गराउन लगातार कार्य गरिरहनुभएको छ ।

कङ्गोको दक्षिण किभुमा सन् १९९९ मा पान्जी अस्पताल स्थापना गरी उहाँले बलात्कार र यौनशोषणमा परेका दशौं हजार पीडित महिलाको उपचार गर्नुभएको छ ।

“डक्टर मिराकल” अर्थात् चमत्कारिक चिकित्सकको उपनामले पनि चिनिनुभएका डा मुकवेगे युद्धमा महिलाको शोषण विरुद्ध आवाज उठाउने प्रखर व्यक्तित्व हुनुहुन्छ । उहाँले बलात्कारलाई “आम विनाशकारी हतियार” को रुपमा समेत व्याख्या गर्ने गर्नुभएको छ ।

अर्कोतर्फ इराकी २५ वर्षीया मुराद भने याजिदी समुदायकी बलात्कार पीडित हुन् । उहाँलाई इस्लामिक स्टेटका लडाकूले सन् २०१४ मा अपहरण गरी बलात्कार गरेका थिए । लडाकूको पञ्जाबाट फुत्किनुअघि उहाँलाई तीन महिनासम्म यौनदासी बनाइएको थियो ।

कुर्द–भाषी अल्पसंख्यक याजिदी समुदायका हजारौं महिला र बालिकालाई लडाकूहरुले अपहरण गरी बलात्कार र चरम सजाय दिएका थिए । राष्ट्रसङ्घले यो घटनालाई जातीय नरसंहारको सज्ञा दिएको छ ।

सन् २०१४ अगष्टमा उत्तरी इराकबाट अपहृत मुरादलाई लडाकूहरुले इराककै मोसुल सहर लगेका थिए, र त्यहाँ उहाँमाथि सामूहिक बलात्कार, यातना र कुटपिट गरिएको थियो । लडाकूहरुले इसाइ धर्म मान्दै आउनुभएकी मुरादलाई जबर्जस्ती इस्लामिक धर्म अनुशरण गर्न लगाएका थिए ।

याजिदी समुदायको सुरक्षाका सन्दर्भमा विश्वभर चिनिनु भएकी मुरादलाई मानव बेखबिखन पीडितका लागि राष्ट्रसङ्घीय राजदूतको रुपमा समेत नियुक्त गरिएको थियो ।

मुकवेगे र मुरादले स्वर्ण पदक सहित संयुक्त रुपमा १० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नु हुनेछ । उक्त पुरस्कार डिसेम्बर १० मा ओस्लोमा एक समारोहबीच प्रदान गरिनेछ ।