२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेब्बर भाडा असुल्दै सवारी,यात्रुलाई सास्ती



अ+ अ-

तेह्रथुम, ७ कात्तिक (रासस) ः चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् । चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएका छन् ।

धरानबाट तेह्रथुमको म्याङलुङसम्म चल्ने साना जिप, बोलेरो, ट्याक्सीलगायत सवारीले निर्धारितभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् । व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिएका यात्रुले बताएका छन् । धरान–तेह्रथुम खण्डमा यसअघि प्रतिव्यक्ति रु ५०० भाडा लिने गाडीले अहिले रु एक हजारसम्म भाडा लिएर सवारी चलाइरहेका छन् ।

दशैँ बित्न लाग्दा चल्न थालेका बसले समेत म्याङलुङ–संक्रान्तिबजार (करीब ६५ किमी) सडक खण्डमा प्रतिव्यक्ति रु ६०० भाडा असुलिरहेको छ । आठराइ–फिदिम–इलाम–झापा सडक खण्डमा गुड्ने गाडीले समेत जथाभावी भाडा असुलेका छन् । यस्तै धरान–धनकुटा खण्डमा समेत निर्धारितदरभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् ।
दुर्गम गाउँसम्म सडकको पुहँच त पुगेको छ । तर, चाडपर्वका बेला मौका छोपेर व्यवसायीले यात्रुसँग ठगीधन्दा चलाइरहेका छन् । रिजर्भका नाममा तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ । सवारी साधनको कमी भएको भन्दै व्यवसायीले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका छन् ।

दशैँमा बजार क्षेत्रमा व्यवसाय, काम र पढाइले बसेका घर फर्किएपछि बजार सुनसान बनेका थिए । दशैँमा सुनसान बनेका तेह्रथुमका म्याङलुङसहित जिरीखिम्ती, बसन्तपुर, सक्रान्तिबजारलगायत बजारमा मानिस र सवारीको चाप बढेको छ ।

विपद् पूर्वतयारी योजना निर्माण

तेह्रथुममा यस वर्षका लागि जिल्लास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी लागू गरिएको हो ।

जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्ला समन्वय समिति, जिल्ला प्रहरीलगायत सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीसहित विभिन्न सङ्घ संस्थाको सक्रियतामा विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि योजना निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी तेह्रथुमका सभापति श्रीकृष्ण दाहालले बताउनुभयो ।

योजनामा विगतमा भएका विपद्का घटना र तिनको सुक्ष्म विश्लेषण गरी आगामी दिनमा समेत हुनसक्ने विपद्का घटना र पूर्वतयारीका लागि योजना समावेश गरिएको छ । विपद् पूर्वतयारी योजनामा आगलागीको जोखिम भएका क्षेत्रका रुपमा बाक्लो बस्ती भएका बजार र गाउँ, सुख्खा क्षेत्र तथा फुसको छानो भएका घर र चेतनाको कमी रहेको क्षेत्रलाई पहिचान गरिएको छ ।

यस्तै म्याङलुङ नगरपालिका–७ र ८ लाई पहिरोको जोखिमको क्षेत्रका रुपमा पहिचान गरिएको छ । छथर गाउँपालिकाको आङिदम, लालीगुराँस नगरपालिकाको वडा नं १, २, ४ र ७, फेदाप गाउँपालिकाको वडा नं ५ र २ तथा आठराई गाउँपालिकाको वडा नं २ लाई समेत पहिरोको जोखिम भएको क्षेत्रका रुपमा पहिचान गरिएको छ ।

हाल तेह्रथुमका विभिन्न ११ वटा गाउँमा मात्रै विपद् पूर्वतयारी योजना निर्माण गरी पूर्वतयारीका गतिविधि भइरहेका छन् । नेपाल रेडक्रस सोसाइटीले आम्बुङ, मोराहाङ, इसिवु, सुङनाम, आङिदम, फुलेक, वसन्तपुर, श्रीजुङ, सम्दु, खाम्लालुङ र पञ्चकन्यामा मात्रै विपद् पूर्वतयारी प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा रहेको जनाएको छ ।