जाजरकोट । भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ
लगानीअनुसारको प्रतिफल नहुने तथा दिनप्रतिदिन वनजङ्गल मासिँदै गएर चरन क्षेत्रको अभाव भएपछि पनि जिल्लाको तीन नगरपालिका र चार गाउँपालिकामा भैँसीपालन व्यवसाय पछिल्लो समयमा हराउँदै गएको छ । भैँसीका लागि चरन क्षेत्रको अभाव भएको कुशेगाउँपालिका–३ का भैँसीपालक कृषक डम्बर थापाको भनाइ छ । यातायात असुविधाले ग्रामीण भेगका किसानलाई दूध बेच्न समस्या छ । घ्यू बनाउँदा लगानीअनुसारको प्रतिफल नआउने किसान थापाको गुनासो थियो । “डेढ दशक अघि एक कृषकका घरमा १५ भन्दा बढी भैँसीपालेका हुन्थे, तर आजभोलि एक÷दुईवटा मात्र भैँसी पालेको देखिन्छ”, उहाँले भन्नुभयो ।
भैँसीपालनका लागि विशेष क्षेत्र मानिएको लहँ, डाँडागाउँ, ढिमे, पैक, खगेनकोट, सक्लालगायत साविकका गाविसमा भैँसीको सङ्ख्या घट्दै गएको छ । नयाँपुस्ताका युवा विदेश पलायन तथा अन्य पेसा व्यवसायमा लागेपछि यो पेशा सङ्कटमा परेको बारेकोट गाउँपालिका पशुपक्षी शाखाका प्रमुख गोविन्दबहादुर सिंहको भनाइ छ ।
भैँसीपालक कृषकलाई आकर्षित गर्ने गरी स्थानीय सरकारले पनि किसानका लागि विशेष कुनै कार्यक्रम ल्याउन नसकेको किसानको गुनासो छ । उन्नत जातको भैँसीपालनभन्दा पनि रैथाने जातका भैँसी पालन गर्दा किसानले गरेको मिहेनतअनुसारको प्रतिफल हात नपरेको पशु चिकित्सक बताउँछन् । रासस