५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महासमिति बैठकको चहलपहल – के के हुँदैछ काठमाडौँमा पाँच दिन ?



अ+ अ-


काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजबाट शुरु भएको छ । आज नै बिहानबाट नामदर्ताको काम शुरु भएको हो । बैठकको चहलपहल काठमाडौँमा निकै गर्मागर्मीका साथ शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काँग्रेस कार्यकर्ताहरु काठमाडौं आएका छन् । काठमाडौँ आएकाहरुलाई स्वागत र नाम दर्ताको कार्यक्रम शुक्रबार पार्टी कार्यालय सानेपामा राखिएको छ ।
तर महासमिति बैठकको उदघाटन भने भोलि बिहान ११ बजे हुने तय भएको छ । शनिबार ११ बजे रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा उद्घाटन हुनेछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उदघाटन गर्नेछन् ।

उता बैठक थप एक दिन बढाइएको छ । यो बैठक पुस ३ गतेसम्म चल्ने बताइएको छ । एजेण्डाहरु बढेका र छलफलमा विचार राख्ने क्रम पनि नसकिने भएकोले यसको समय पनि एक दिन बढाइएको हो । महासमिति बैठकको मुख्य एजेण्डा पार्टीको विधान संशोधन हो । त्यसैले विधान के कस्तो बनाउने र त्यसका लागि पार्टी सभापतिबाट के कसरी कस्तो प्रस्ताव आउँछ भनेर यसलाई निकै ठूलो चासोका साथ हेरिएको छ ।
यस महासमिति बैठकलाई धेरै समय बन्दसत्रको लागि दिइएको छ । शनिबार बिहान उदघाटन कार्यक्रम सकिएलगत्तै नै बन्दसत्र शुरु हुनेछ । बन्दसत्रमा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस बैठकमा महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज र उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज प्रस्तुत गर्नेछन् । त्यसैगरी सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसको आर्थिक नीति र कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यक्रम छ ।

सो बैठकमा देशभरका १ हजार ६ सय ६० जना सदस्य सहभागि हुनेछन् । २४० निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले १ हजार २ सय जना तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्था र जनसम्पर्क समितिबाट ९७÷९७ जना प्रतिनिधिहरु बैठकमा सहभागी हुनेछन् । हरेक दिन अपराह्न ४ बजे पत्रकार सम्मेलन गरी महासमिति बैठकमा भएका छलफलबारे मिडिया सेन्टरमार्फत् जानकारी दिइने नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए ।

यो बैठकले पार्टीको विधान संशोधन गर्नेछ । यसका लागि विभिन्न समूहरुहरु बनाएर समूहगत छलफल र सुझावको व्यवस्था मिलाइएको छ । यसपछिको अवस्थामा सहमति जुट्न सकेन भने नेताहरुले प्रजातान्त्रिक प्रक्रिया अपनाएर छलफल गर्नेछन् र विधान पारित गर्नेछन् । पार्टीको महाधिवेशपछिको सबैभन्दा शक्तिशाली अंग नै यो महासमिति भएकोले यसलाई व्यवस्थित रुपमा सञ्चालनको प्रबन्ध गरिएको छ । तर महासमिति बैठकभन्दा अघिको केन्द्रीय कार्यसमितिको बैठकमा नै नेताहरुबीच सहमित नभएर भनाभनको अवस्था आएको समाचार आइरहेकाले आसन्न बैठक पनि निकै तात्तातो हुने अनुमान गर्न सकिन्छ ।