४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

पर्यटक लोभ्याउँदै सत्खलुवा ताल

पर्यटक लोभ्याउँदै सत्खलुवा ताल
अ+ अ-

 

बाँके । धान र तोरी मनग्य फल्ने फाँटहरु, वनजङ्गल, जीवजन्तु, नदी र तालहरुले जो कोहीलाई लोभ्याउँछ । नेपालकै बढी अन्न फल्ने, थारु बहुल, जातीय र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । यस्तै उपहारमध्येको एक हो, बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको यो ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।

पाँच वर्षअघि माछाको ठेक्का रद्द गरी संरक्षण थालिएको सत्खलुवा तालमा अहिले डुङ्गा सयर गर्न पर्यटकको ओइरो लाग्ने गरेको छ । तालकै कारण यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा तालमा पर्यटक डुङ्गामा सयर गर्न लालायित हुन्छन् । तालमा पानी खान आउने जङ्गली जनावरको अवलोकनका लागि पनि पर्यटक आउने गरेका स्थानीयवासी बताउँछन् ।

निकुञ्जभित्रका चुरे पहाडका सातवटा खोलाको पानी जम्मा भएर बनेकाले यो तालको नाम सत्खलुवा राखिएको बूढापाका बताउँछन् । जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको यस ताल वरपर विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिङ्गरलगायत जङ्गली जनावरको बसोबास छ । हिउँदको समय विशेष गरी चैत–वैशाखको खडेरीमा जङ्गली जनावर तिर्खा मेट्न यो तालमा आउने गर्छन् । भर्खरै संरक्षणको शुरुआत गरिएको भए पनि हाल ताल वरपर रैथाने चराका साथै आगन्तुक चराको पनि सङ्ख्या बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।

यस तालमा संसारबाट लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ । साठी बिघा क्षेत्रफलमा फैलिएको पूर्व–पश्चिम राजमार्गमा पर्ने बैदीचोकदेखि झण्डै ४ किलोमिटर उत्तरपूर्वमा रहेको सत्खलुवा ताल संरक्षणमा स्थानीयवासीको सक्रियता निकै बढेको छ । स्थानीयवासीको सक्रियतासँगै अहिले त्यहाँ घुम्न जानेहरुको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय स्थानीय बासिन्दाले संरक्षण र प्रचारप्रसारमा जोड दिन थालेपछि पर्यटकहरुको आवागमन पनि बढ्न थालेको बताउनुहुन्छ, सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुनिल चापागाईं ।

“विगतमा माछापालन र सिँचाइका लागि प्रयोग हुँदै आएको यस तालको दुई वर्षदेखि पूर्ण संरक्षणका लागि लागिपरेका छौं,” उहाँले भन्नुभयो – “अहिले माछा मार्न र सिँचाइमा पूर्ण बन्देज लगाइएको छ ।” सत्खलुवा तालको सहायक तालका रुपमा नजीकै सपदुवा र सतञ्ची ताल पनि छन् । ती ताललाई पनि संरक्षण गरिएको छ । ताल संरक्षण गरे वातावरण जोगिने, जीवजन्तुको संरक्षण हुने र स्थानीयवासीले पनि लाभ लिनसक्ने भएकाले संरक्षणमा जुटेको चापागाईंको भनाइ छ । खुला चरिचरनको रुपमा रहेको ताल वरपरको वनलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गरेर स्थानीयवासीकै पहलमा तारबारसमेत गरिएको छ ।

तारबार निर्माण उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद अधिकारीका अनुसार नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदान गरी रु २८ लाख २८ हजारको लागतमा ताल तथा ताल वरपरको चरिचरन क्षेत्र संरक्षणका लागि तारबारसमेत गरिएको छ । चैत–वैशाखको खडेरीका बेला बर्दिया राष्ट्रिय निकुन्जदेखि चुरे क्षेत्रका जीवजन्तुको पानी खाने ठाउँ सत्खलुवा ताल नै हो । ताल र आसपासमा बाघ, गैंडा, हात्ती, सालक, अजिङ्गर र विभिन्न जातका चरा अवलोकन गर्न सकिन्छ । सत्खलुवा ताललाई सरकारी पक्षबाट संरक्षित क्षेत्रको रुपमा घोषणा गरिनुपर्ने स्थानीयवासीको माग छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, पर्यटन बोर्ड, प्रकृति संरक्षण कोषलगायतले केही सहयोग गरे पनि पर्याप्त नभएको संरक्षण समितिका अध्यक्ष चापागाईंको गुनासो छ । उहाँले भन्नुभयो – “हामीले आफ्नै पहलमा यतिसम्म गर्न सकेका छौं । सरकारी निकायबाट सहयोग नहुँदा ताल संरक्षणका लागि सोचेअनुसार गर्न सकिरहेका छैनौं । राज्यले नै यसको संरक्षणमा ध्यान दिनुपर्छ ।” बर्दियाको चिनारीकै रुपमा रहेको सत्खलुवा ताल हेर्न र चरा अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ ।

पर्यावरणीय र पर्यटकीय दृष्टिले अत्यन्तै सुन्दर यस तालको बेलैमा संरक्षण गरी उजिल्याउन राज्यको भूमिका जरुरी रहेको स्थानीयवासीको भनाइ छ । अहिले यो ताल वरिपरि दैनिक वनभोजका लागि पुग्नेहरुको घुइँचो छ । जैविक विविधताका हिसाबले महत्वपूर्ण रहेको ताल वरपर निकुञ्जका जङ्गली जनावरको समेत बासस्थान बढ्दै गएको छ । शान्त वातावरण र मनोरम दृश्यका साथै गर्मीमा पानी खान आउने जङ्गली जनावर सजिलै हेर्न पाइने हुँदा यो तालप्रति पर्यटकको आकर्षण बढ्दै गएको छ । स्थानीयवासीले गाउँदेखि तालसम्म साप्ताहिक रुपमा सरसफाइसमेत गर्दैआएका छन् ।

तालमा फुल्छ रातो कमल
पौराणिक कथानुसार देवीदेवताले मान्छेसँगै खेल्दै हराउने अर्थात् सत्पताउने भएकाले सो तालको नाम सतपटुवाल रहेको हो । सतपटुवाल शब्द अपभ्रंस भएर सत्खलुवा नाम रहन गएको स्थानीय बूढापाकाहरुको भनाइ रहेको छ । बाह्रै महिना पानी नसुक्ने प्राकृतिक सिमसार क्षेत्रका रुपमा रहेको यस तालमा दुर्लभ रातो कमलको फूल फुल्ने गर्दछ । पर्यटकहरु रातो कमलको फूल हेर्ने र तस्वीर खिँचाउँदै रमाउने गरेका छन् ।
पर्यटक व्यवस्थापन गर्न होमस्टे

ताल हेर्न र चराहरुको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको व्यवस्थापनका लागि स्थानीयवासीले दुई वर्षयतादेखि घरबास होमस्टे सञ्चालन गरेका छन् । होमस्टेले स्थानीय बासिन्दाको जीविकोपार्जनमा टेवा पुग्नाका साथै पर्यटकहरुलाई घुमफिरपछि बास बस्न सहज बनाइदिएको होमस्टे सञ्चालक सुरेश आचार्यले बताउनुभयो । सत्खलुवा ताल नजीकै रहेको खैरेनी गाउँमा अहिले १० वटा होमस्टे सञ्चालित छन् । ताल र पशुपक्षी हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो होस् भनेर खैरनीमा स्थानीय बासिन्दाले होमस्टे सञ्चालन गरेको आचार्यले बताउनुभयो ।

थारु बहुल क्षेत्र भए पनि सबै जातजातिको बसोबास रहेको खैरेनीमा आ–आफ्नो मौलिक वेशभूषामा सजिएर पाहुनालाई सत्कार गर्ने र मौलिक थारु नृत्य, खैंजडीमा भजनदेखि देउडासम्ममा गीत गाएर मनोरञ्जन दिने गरिन्छ । जिल्लाकै दोस्रो ठूलो जैविक विविधतापूर्ण सत्खलुवा ताल नजीक बस्ने स्थानीय बासिन्दामा साँस्कृतिक र जातीय विविधता पाइन्छ । ताल संरक्षणसँग जोडिएका कामले ताल मात्रै होइन, थारुलगायत अन्य समुदायका संस्कृतिको संरक्षणसमेत भैरहेको छ । खैरेनीमा थारु समुदायका चार र बाहुन क्षेत्री समुदायका छ वटा होमस्टे सञ्चालनमा रहेका छन् ।

स्थानीय बासिन्दाको सक्रियताका कारण सत्खलुवा ताल पर्यटकीय स्थलमा परिणत भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ । राजमार्ग नजीकै भएकाले पनि बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने क्रममा पर्यटकहरु तालको अवलोकनका लागि पुग्ने गरेका छन् । सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिले २०७२ पुसदेखि ताल घुम्नका लागि डुङ्गाको व्यवस्था गरेको छ । डुङ्गा सञ्चालनमा आएपछि अहिलेसम्म करीब २० हजार आन्तरिक तथा बाह्य पर्यटकले तालमा सयर गरिसकेका संरक्षण समितिले जनाएको छ ।

संरक्षण समितिले ताल क्षेत्रमा प्रवेश गरेबापत १० र डुङ्गा चढेबापत २५ रुपैयाँ शुल्क लिने गरेको छ । तालबाट उठेको रकम तालकै विकासका लागि खर्च गर्ने गरिएको छ । सत्खलुवा क्षेत्रमा होमस्टेसमेत सञ्चालनमा आएपछि ताल अवलोकनमा आउने पर्यटकको सङ्ख्या अझ बढेको छ । होमस्टे सञ्चालक शिवप्रसाद अधिकारीका अनुसार पहिले बास बस्ने व्यवस्था नहुँदा पर्यटकहरु कम आउने गरे पनि होमस्टे सञ्चालनपछि पर्यटकको आगमन बढेको छ । रासस