६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमै घर भएका प्रदेश सांसदले पनि लिए घरभाडा



अ+ अ-


डोटी । सुदूरपश्चिम प्रदेशका सांसदले अस्थायी राजधानी धनगढीमा घर भए पनि संसद् सचिवालयबाट घरभाडा लिइरहेको पाइएको छ । प्रदेश संसद् सचिवालयका अनुसार राजधानीमै घर भएका ११ सांसदले महिनैपिच्छे घरभाडाबापतको रकम लिइरहेका हुन् ।

कैलाली क्षेत्र ५ ‘ख’ बाट निर्वाचित कांग्रेसका डिल्लीराज पन्त, कांग्रेसकै समानुपातिक सांसद टेकबहादुर रैका, कैलाली क्षेत्र ३ बाट निर्वाचित नेकपाका वीरमान चौधरी, नेकपाकै समानुपातिक सांसद सुशीला बुढाथोकी र राजपाकी समानुपातिक सांसद मालामती रानाले राजधानीमै घर भएर पनि घरभाडा लिएका छन् ।

कैलाली क्षेत्र ४ ‘क’ बाट निर्वाचित नेकपाका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारी, क्षेत्र ५ को ‘क’ बाट निर्वाचित नेकपाकै नेपालु चौधरी र समानुपातिक सांसद चुनकुमारी चौधरी, कांग्रेसकी दिव्येश्वरी शाह, डोटीबाट निर्वाचित कांग्रेसका भरतबहादुर खडका तथा कञ्चनपुरबाट समानुपातिक सांसद बनेका कांग्रेसकै देवराज पाठकले पनि ढाँटेर घरभाडा बुझिरहेका छन् ।

सचिवालयका अनुसार सभामुख र उपसभामुखबाहेक सबै सांसदले घरभाडा बापतको रकम लिइरहेका छन् । मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उपसभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा घर भएका सांसदले घरभाडाबापत रकम लिएको सुनेको तर आधिकारिक जानकारी नआएको बताए । ‘धनगढीमा घर भएकाले घरभाडा बुझ्दै छन् भन्ने हल्ला सुनेको छु,’ उनले भने, ‘अरू मलाई थाहा भएन ।’

घरभाडाबापत विपक्षी दलका नेताले २० हजार, सत्तापक्षको प्रमुख सचेतक, सभापति, सत्तापक्षका सचेतक र विपक्षी दलको प्रमुख सचेतकले १८ हजार तथा सांसदले १७ हजारका दरले मासिक भत्ता पाउने प्रावधान छ ।

त्यस्तै सांसदलाई फर्निचर खर्चबापत एकमुष्ट एकरएक लाख दिने प्रावधानअनुसार सबै सांसदले उक्त रकमसमेत लिइसकेका छन् । संसद् सचिवालयले ऐनबमोजिम सबै सांसदलाई घरभाडाको रकम उपलब्ध गराएको सचिव बलराम शर्माले जानकारी दिए । ‘ऐनमा व्यवस्था भएअनुसारको रकम सबै सांसदले बुझ्नुभएको छ,’ उनले भने, ‘मेरो घर धनगढीमै छ, म लिन्न भनेर कसैले भन्नुभएको छैन ।’

संसद् सचिवालयका पदाधिकारीको सेवासुविधा तथा तलबभत्तामा मात्रै मंसिरसम्म ३ करोड ८६ लाख ३८ हजार ६ सय १२ खर्च भएको सचिव शर्माले बताए । उनले धारा र बिजुलीका लागि २ हजार र सञ्चार सुविधाबापत ३ हजार सबै सांसदले लिइरहेको जानकारी दिए । रासस