२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदर नलाग्ने, असिनाले नझार्ने फल मेकाडामिया नट



अ+ अ-

पोखरा । दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ । पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका बाली असिनाले झार्ने बढ्दोक्रसँगै कृषिप्रतिको अनिच्छाका कारण बाँझिएका जग्गामा कृषक यस खेतीतर्फ आकर्षित बनेका छन् ।

आयआर्जनको महत्वपूर्ण विकल्प हुने सम्भावनालाई दृष्टिगत गरी स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं २ भैँसेगौँडामा विसं २०७२ देखि नै सामूहिकरुपमा मेकाडामिया नटको खेती शुरु गरिएको छ ।

राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूहमा उक्त क्षेत्रका २५ जना कृषक आबद्ध भई ५०० बिरुवा लगाइसकेको समूहका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिनुभयो ।

भैँसेगौँडा आसपासका ओरष्टे, कोल्मा, काउले, बाकोटलगायतका स्थानमा व्यक्तिगतरुपमा पनि कृषकले मेकाडामिया नट लगाएका छन् । यस आसपासमा मात्रै हाल एक हजार ५०० भन्दा बढी बोट लगाइसकिएको छ । “गाउँ बस्तीमा अहिले बाँदरको बिगबिगी छ”, उहाँले भन्नुभयो, “मेकाडामिया नट बाँदरले खान सक्दैन, एकपटक लगाएपछि त्यसबाट वर्षौं उत्पादन लिन सकिने भएका कारण पनि यसतर्फ कृषकको आकर्षण बढेको छ ।”

भैँसे गौँडामा विसं २०७२ मा कृषि अनुसन्धान केन्द्र, मालेपाटन पोखराको पहल र साविक राङभाङ गाविसका २५ जना कृषकको पहलमा पहिलोपटक नर्सरी तयार गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पछिल्ला समयमा व्यक्तिगरुपमा पनि यस खेतीतर्फ आकर्षण बढ्दै गएको छ ।

मेकाडामिया नट खेतीको शुरुआत अष्ट्रेलियाबाट भएको हो । समशितोष्ण हावापानीको क्षेत्रमा उत्पादन हुने यसको फलमा प्रोटिन, क्याल्सियम फोस्फोरस, पोटासियम, सोडियम, फलामलगायतका पोषकतत्व पाइन्छ । राम्रो उत्पादन गर्नसके मेकाडामिया नटको माग अष्ट्रेलियासम्म हुने गरेको छ । बजारमा प्रतिकिलो रु ६०० सम्म बिक्री हुने गरेको बताउने कृषक बजारको मागअनुसार पु¥याउन नसकिएको बताउँछन् ।

सामान्यतः २५ देखि ३२ डिग्री तापक्रम यो नटका लागि उपयुक्त हुने भएकाले मध्यपहाडी क्षेत्र यसका लागि उर्बर मानिन्छ । कृषि अनुसन्धान केन्द्र मालेपाटनका कृषि वैज्ञानिक श्यामप्रसाद पौडेलका अनुसार समुद्री सतहबाट लगभग एक हजार २०० देखि एक हजार ३०० मिटरसम्मको उचाइको सिँचाइयुक्त भू–भाग यसका लागि उपयुक्त मानिन्छ ।

मालेपाटन कृषि अनुसन्धान केन्द्रबाट वार्षिक एक हजारदेखि एक हजार ५०० बिरुवाको नर्सरी तयार हुने गरेको जानकारी दिँदै यहाँले पछिल्ला वर्षमा पोखरा आसपासका क्षेत्रमा यसको बिरुवा लैजानेक्रम निकै बढिरहेको बताउनुभयो ।

कास्कीको ल्वाङघलेल, अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका विभिन्न भू–भागका साथै आसपासका क्षेत्रमा यसको खेती विस्तार भएको पौडेलले जानकारी दिनुभयो । “मेकाडामिया नटमा बाँदर त लाग्दैन नै यसमा असिनाको प्रकोप पनि पर्दैन,” उहाँले भन्नुभयो, “टिपिसकेपछि यसको फल लामो समयसम्म सुरक्षित राख्न सकिने अनुसन्धानले देखाएको छ ।”

उत्पादन समयका दृष्टिले दशैँ तिहारको समयमा फल टिपिने भएकाले नेपालको आन्तरिक बजारमा पनि यसले महत्वपूर्ण स्थान ओगट्न सक्ने देखिन्छ । मेकाडामिया नट लगाएको पाँच वर्षमा उत्पादन लिन सकिन्छ भने र झण्डै २० वर्षभन्दा बढी फल्ने गर्दछ । बाँदर र वर्षेनी असिनाको प्रकोपका कारण कृषक समस्यामा परिरहेको वास्तविकतामा मध्य पहाडी क्षेत्रमा यसको व्यावसायिक खेती महत्वपूर्ण विकल्प हुन सक्ने देखिएको छ । रासस