२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह



अ+ अ-

बैतडी। जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन् । यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन् ।

यस क्रममा पाटन नगरपालिका–५ मा रहेको डिम्यौडा टोलको नाम परिवर्तन गर्दै सिर्जना टोल राखिएको छ । दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिम्यौडा भन्ने गरिएकाले नाम परिवर्तन गरिएको वडाअध्यक्ष फुनिसिंह बोहराले जानकारी दिनुभयो ।

“दलित समुदायको बसोबास रहेकाले त्यहाँ पहिलेका मानिसले होच्याउने गरी टोलको राखेका थिए, त्यसलाई परिवर्तन गरी सिर्जना टोल राखेका छौँ”, अध्यक्ष बोहराले भन्नुभयो, “त्यस बस्तीका मानिसले कलाकौशलबाट विभिन्न सामग्री सिर्जना गर्ने भएकाले सिर्जना टोल राखेका हौँ ।”

अभियानअन्तर्गत हालसम्म २२ वटा गाउँको नाम परिवर्तन गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले जानकारी दिनुभयो । जातीयताका आधारमा अपहेलना हुने खालका नामलाई परिवर्तन गरिएपछि स्थानीयले आत्मसम्मान महसुस गरेका उहाँले बताउनुभयो ।

स्थानीयले पनि वर्षौंपछि जातीय अपमान हुने गरी राखिएका नाम परिवर्तन हुँदा केही सहज महसुस भएको बताएका छन् । “वर्षौंपछि गाउँका नाम परिवर्तन गरिएका छन्, पहिले आफ्नो गाउँको भन्नसमेत असहज हुन्थ्यो, हाल केही सहज महसुस भएको छ”, पाटन–६ का स्थानीय राजु भुलले भन्नुभयो ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अपमानित हुने नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा रहेको प्रवक्ता दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

“स्थानीयसँग समन्वय गर्दै गाउँको नाम फेर्न प्रस्ताव माग गर्नुका साथै छलफल अघि बढाएका छौँ, यसै वर्षभित्र यहाँका धेरै गाउँका नाम परिवर्तन गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।  रासस