२८ कार्तिक २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चियाको राजधानीमा कफीको व्यावसायिक खेती



अ+ अ-

इलाम । इलाम चियाका लागि प्रख्यात क्षेत्र हो । यहाँ उत्पादनका हिसाबले मात्र नभइ मनोरञ्जनात्मक दृष्टिले चियाको महत्व ठूलो छ । पछिल्लो समय यहाँ चिया किन्न आउनेसँगै चियाबारीको अवलोकन गर्ने र वनभोज खाने सम्मका बाह्य तथा आन्तरिक पर्यटक भेट्टिन्छन् । चियाको यही प्रख्यात क्षेत्रमा पछिल्लो समय भने कफीको व्यावसायिक खेती शुरु हुन थालेको छ ।

“चियाकै प्रतिस्थापनका रूपमा चिनिएको कफीबाट लाखौं आम्दानी गर्दै आएका छन्, अन्य परम्परात भन्दा कफीखेती सजिलो भएकाले यसतर्फ आकर्षित भएको हो,” इलाम माइजोगमाइका कफी किसान गञ्जु प्रधान बताउनुहुन्छ । प्रधानले हाल वार्षिक तीन देखि चार सय मन एक मनमा ४० किलो कफी उत्पादन गर्नुहुन्छ । कफीबाट राम्रो आम्दानी हुने बुझेपछि अन्य खेतीलाई विस्थापन गरेर कफी शुरु गरेको उहाँको भनाइ छ ।

खेती मात्र नभइ बिक्रीसमेत आफै गर्दै आउनुभएका प्रधानले गाउँघरमा कफी खेतीका बारेमा जानकारी समेत दिँदै आउनुभएको छ । “पराम्परात खेती गर्नुभन्दा कफीबाट धेरै फाइदा मिल्छ । चारदेखि पाँचवर्ष सम्ममा कफीबाट उत्पादन लिन सकिन्छ,” उहाँले भन्नुभयो ।

प्रधानले थप्नुभयो,“हामी जेमा पनि दुःख नगरी हुदैन । दुःख गर्दा पनि आम्दानीमूलक क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ ।” आम्दानी मात्र नभइ बजार पनि राम्रो भएकाले यसको खेती शुरु गरेको किसानको भनाइ छ ।

तालीम तथा दक्षजनशक्ति भएमा खेती गर्न सहज हुने अर्का कफी किसान दीप लामाको भनाइ छ । सूर्योदय नगरपालिकाको ‘फिक्कल टी एण्ड कफी कम्पनी’ खोल्नुभएका लामाले कफी खेती मात्र नभइ प्रशोधन गर्ने गर्नुभएको छ । उहाँले यहाँ कफीको प्रशोधन गरेर काठमाडौँंमा बेच्ने गर्नुभएको छ । बीस वर्षअघि इलामको केही ठाउँमा कफी लगाइए पनि उत्पादनले राम्रो भाउ नपाउँदा खेती विस्तार हुनसकेको थिएन । विश्व बजारमा नेपाली कफीको माग बढेसँगै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा ठूलो क्षेत्रमा कफी लगाइएको चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले बताउनुभयो ।

नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन भएको कफीको माग राम्रो छ अधिकारीले भन्नुभयो, “पहाडी क्षेत्रमा उत्पादन भएको कफीको गुणस्तर राम्रो हुने भएकाले माग राम्रो छ ।”

नेपालमा अरविगा जातको कफी लगाइने गरेको छ । समुद्री सतहको आठ सयदेखि १६ सयसम्मको उचाइमा कफी राम्रो उत्पादन हुन्छ । प्रमुख अधिकारीका अनुसार नेपालमा पाँच सय मेट्रिक टन कफी उत्पादन हुन्छ भने विश्व बजारमा यहाँको सात हजार टन कफीको माग छ । नर्सरीबाट बगैँचामा लगाएको तीन वर्षपछि फल्न शुरु हुने कफी रोपेको ५० वर्षसम्म उत्पादन हुन्छ । एउटा बोटमा वर्षेनी पाँच/सात किलोसम्म कफी फल्छ । अहिले प्रतिकिलो ५० देखि ८० रुपियाँसम्ममा कफीको दाना किनबेच हुने गरेको छ । रासस