६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरक स्वाद र शैलीको ‘रुइबा’



अ+ अ-

पत्रकार चेतनाथ आचार्यको 'रुइबा'उपन्यास पढ्ने अवसर मिल्यो। उपन्यासको सुरुमा यसका घटना र पात्र तथा स्थल काल्पनिक हुन् भनिएको भए पनि उपन्यास सत्यघटनामा आधारित हो भनेर सहजै अनुमान लगाउन सकिन्छ । किनभने उपन्यासमा वर्णित सबै कुराहरु घटेका घटनासँग मिल्दोजुल्लो रहेका छन्। उपन्यासमा उल्लेख गरिएको समयकै सेरोफेरोमा एकजना नेपाली चेली चीनको जेलमा पुगेकी र हालसम्म पनि बन्दी जीवन बिताइरहेको कुरामा आधारित रहेको छ  'रुइबा' उपन्यास।

उपन्यासमा तामाङ जातिका जातीय चालचलनसँगै चिनियाँ संस्कृतिलाई पनि बढो कलात्मक र सरल तरिकाले जोडिएको छ। धादिङ जिल्लाकी न्याउली तामाङको जन्मेदेखि उनले भोग्दै आएका दुःख र पीडाहरु चरणवद्ध रुपमा उल्लेख गरिएको छ। हुनतः यो कथा न्याउलीको मात्र होइन, नेपाली ग्रामीण क्षेत्रका गरिब महिलाको कथासँग मेल खान खोज्छ। यसले नेपाली समाजको सामाजिक तथा आर्थिक दुरावस्थाको चरित्रचित्रण समेत सँगालेको पाइन्छ।

गरिबीको अवस्था थाहा पाउन धेरै टाढा पुग्नुपर्दैन काठमाडौँ उपत्यका नजिकै रहेको धादिङका गाउँहरु पुगे हुन्छ। गणेश हिमालको काखमा रहेको रुबी भ्याली हेर्दा जति सुन्दर छ त्यहाँको जनजीवन त्यतिकै कठिन छ भन्ने कुरा रुइबाले बताउँछ। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट तामाङ जातिको चेतनालाई समेत उजागर गर्नु पर्ने देखिन्छ। 

ग्रामीण क्षेत्रमा मात्र होइन काठमाडौँ सहरमै पनि गरिब र श्रमिक वर्गको अवस्था देखाउने काम उपन्यासकारले गरेका छन्। सहरमा मानवीयता घट्दै गएको कुरालाई लेखकले कङ्क्रिटको बिम्बको रुपमा उल्लेख गरेका छन्। सहरका घर मात्र नभई मान्छे पनि ढलान र कङ्क्रिट रुपी रहेकाले मानवीयता हराएको उल्लेख गरेका छन् उपन्यासकारले। यस प्रसङ्गले काठमाडौँको आधुनिक समाजलाई चोटिलो व्यङ्ग्य प्रहार गरेको छ।   

सहरभित्रका कयौँ बिसङ्गतिहरुलाई उपन्यासले शृङ्खलावद्ध रुपमा उभ्याएको छ। असहायको उद्दार गर्ने नाममा हुने विकृतिलाई सहरको कुरुप पाटोको रुपमा चित्रण गरेको छ।
न्याउलीको जन्मदेखि उनको दैनिक जीवनको कहानी उपन्यासमा यस्तो सिलसिलेवार रुपमा राखिएको छ जसमा तामाङ जातिको जन्म संस्कार, गुन्युचोलो, बिहे, मृत्यु संस्कारमा गरिने घेवा, नयाँ वर्ष अर्थात् ल्होसार सबै कुरालाई कलात्मक रुपमा उल्लेख गरिएको छ। तामाङ जातिको चालचलन, ग्रामिण क्षेत्रमा हुने उपचार विधि, ऐँचोपैँचो, चाडपर्वसँगै मेलापातले पाठकलाई उत्तरी धादिङको गणेश हिमालको काखैमा पुर्‍याउन सक्नु लेखकको खुबी हो। त्यसमाथि संवादमा आउने तामाङ लवजले उपन्यासलाई अझै मौलिक, सहज र सरल बनाएको छ।

उपान्यासको उत्तरार्द्धमा चिनियाँ संस्कृतिको उल्लेख छ। एउटै आख्यानमा नेपाली र चिनियाँ संस्कृतिलाई मिसाएर पात्रका संवादबाट सहज रुपमा प्रष्ट्याइएको पाइन्छ। कतिपय चिनियाँ संस्कृति र तामाङ जातिका संस्कृतिबीचमा समान पक्ष पनि छन् भन्ने कुरा उपन्यास पढेपछि थाहा पाइन्छ।

यो उपन्यासबाट पाठकले चीनका बारेमा विल्कुलै नयाँ जानकारीहरु पनि प्राप्त गर्दछन्। ती नयाँ जानकारी भनेको चिनियाँ चाडपर्व, समाज, राजनीति र कानुनी तथा प्रशासनिक विषय हुन्। अन्य पुस्तकमा पढेका अथवा इन्टरनेटमा पाइने भन्दा उपन्यासमा धेरै फरक जानकारी छन्। न्याउलीले चिनियाँ जेलमा भेटेका पात्रसँगको संवादमा चिनियाँ समाजको अनुहारको संक्षिप्त रुप छ। हुनतः जेलभित्र त्यतिधेरै सांस्कृतिक गतिविधि नहोलान् तर पनि जति हुन्छन् तिनले चिनियाँ चरित्र बोकेका हुन्छन् भन्ने कुरालाई सहज रुपमा बुझ्न सकिन्छ।

आधुनिकताको विकासमा चिनियाँ समाज कता जाँदैछ, शारीरिक सुन्दरतालाई चिनियाँहरुले कसरी लिन्छन् भन्ने कुरा थाहा पाउनलाई उपन्यास नै पढ्नुपर्छ।
जब मान्छेलाई आपत पर्छ, तब भगवान पुकार्छ। यस्तो चरित्र सामान्यतः सबैमा लागु हुन्छ। तर जति दुःख बढ्दै जान्छ त्यति भगवानलाई पुकार्दा पनि भगवानले सुन्दैन भने मान्छेको आस्था र विश्वास गुम्छ। मान्छे वाध्यताले नास्तिक बन्छ। तर जब न्याय पाउँछ तब फेरि त्यही मान्छे आस्तिक बन्छ। यस्तो जटिल कुरालाई पनि रुइबा उपन्यासमा चिनियाँ पात्र र न्याउलीबीचको सम्वादले सहज बनाएको छ। न्याउलीमा बालापनदेखि नै आमा र लामाको गहिरो छाप परेको छ। त्यही कुरा उनले चिनियाँलाई बारम्बार सुनाउँछिन्।

मान्छेको मनभित्र खराब कुराले बास गरेमा मान्छे दानव बन्छ तर असल कुरा मनमा छ भने मान्छे देवता बन्छ भन्ने कुरा कन्फ्युसियसको सिद्धान्त हो। यही कन्फ्युसियसको सिद्धान्त नेपाली पात्र न्याउलीले चिनियाँलाई सम्झाएको पढ्दा उपन्यासले पाठकलाई भावुक बनाउँछ।

रुइबा उपन्यास न्याउलीमाथि केन्द्रित छ। तसर्थ यो महिलाका पीडा र दुःख बोकेको कृति हो। उपन्यासमा न्याउलीले पाइलैपिच्छे भोगेका दुःख, वियोग, पीडा, वेदना, हिंसा, अभाव, आँशु र आर्तनादहरु समेटिएका छन्। पाबाङ गाउँको गरिब परिवारमा जन्मिएकी न्याउली सानैदेखि अभावमा पिल्सिएकी रहिछे। त्यसमाथि उसको बाबु यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मर्छ। अनि सुरु हुन्छ न्याउलीका दुःखका शृङ्खलाहरु। गाउँकै दोर्जेसँग बिहे भएपछि अब उपन्यास केही सुखद पाइलामा अगाडि बढ्ला भनेर सोच्दा सोच्दै न्याउलीको जीवनमा पहिरो जान थाल्छ। दोर्जे मलेसिया गएको केही महिनामै बित्छ। त्यसपछि सुख खोज्न काठमाडौँ पसेकी न्याउलीको जीवनले अर्कै मोड लिन पुग्छ । न्याउलीका दुःखले गर्दा पटक पटक पाठकलाई भक्कानो छुटाउछ।

रुइबा उपन्यासले मान्छेको परिभाषालाई नै परिवर्तन गराएको छ। सहरका सुकिलामुकिलाले गरिबलाई मान्छे नमान्ने परिपाटीले समाजको रुपान्तरण गराएको चित्रण छ। राज्यको उपस्थितिलाई गाउ गाउँमा पुर्‍याउनु पर्ने कुरालाई  रुइबाले जोडदार रुपमा उठाएको छ।

उपन्यासले सहरमा अत्यन्त न्युन मान्छे मात्र सहयोगी हुन्छन् भन्ने कुरा पनि पस्किएको छ। ती सहयोगी मान्छे धनाढ्य नभई श्रमिक वर्ग अथवा सानो व्यवसाय गरिरहेका न्युन मध्यम वर्गका मान्छे हुन्छन्। माथिल्लो तहका भनिएका मान्छेको त बाहिरी रुप मात्र उज्यालो हुन्छ। उनीहरुको भित्री रुप र व्यवहार त अर्काको पीडामा मल्हम लगाउने निहुँमा थप पीडा दिने खालको हुने रहेछ भन्ने बिषय रुइबाले प्रस्ट्याएको छ। निमुखाहरुमा हुने थिचोमिचो आदि कारणले सहरी जीवनशैलीलाई रुइबाले तिरस्कार गरेको छ।

उपन्यासभित्र कुनै कुनै यस्ता प्रसङ्ग पनि छन् जसलाई पढ्दै गर्दा आँखाबाट बरर आँशु बर्सन्छन्। पढ्दापढ्दै पाठक सुँक्क सुँक्क गरेको पत्तै हुँदैन। क्याथरिनले लेखेको इमेलमा एउटा यस्तो प्रसङ्ग छ जसलाई यहाँ उल्लेख गर्नु बान्छनीय होला। आमा मरेर हैन आमा जिउँदैछिन् भन्ने थाहा पाएर रोएकी। क्याथरिनले न्याउलीको छोरी सोममायालाई दिएको  जवाफ हो यो। आफूले वर्षौँदेखि खोजेको व्यक्ति जो मरिसकेको हुनसक्छ। त्यस्तो व्यक्ति जिउँदैछ छ भन्ने थाहा पाउँदा हामी अनायसै रुन्छौँ।

छोटकरीमा भन्नुपर्दा रुइबा उपन्यासले चीन र नेपालको सांस्कृतिक सम्बन्धमा नयाँ इँटा थपेको छ। विल्कुल नयाँ स्वादको कथाले पाठकलाई चिमोटिरहन्छ। उपन्यास पढिसकेपछि पनि  न्याउलीरुपी झझल्झको आइरहन्छ।

 उपन्यासको नामले पनि सबैलाई तान्छ। 'रुइबा' नाम तामाङ संस्कृतिभित्र विशाल अर्थ बोकेको शब्द रहेछ जसले सिङ्गो संस्कारलाई व्यक्त गर्दछ। बिहे गरेर गएकी तामाङ छोरीको थर माइतिकै हुने र उसको मृत्युभएपछि माइतिको उपस्थितिमा मात्र दाहसंस्कार गर्नुपर्ने तामाङको प्रचलन रहेछ। यदि माइति उपस्थित हुन नसकेमा लाश जलाउँदा उसको हड्डी अर्थात् रुइु अस्थिको रुपमा झिकिने रहेछ। माइतिले यो अस्थिलाई सेलाएपछि मात्र मृतक चेलीले मुक्ति पाउने चलनलाई नै 'रुइबा 'भनिने रहेछ।

 कौतुहल र रहस्य बोकेको रुइबाको कथा सरल र अन्योन्याश्रित रुपमा अगाडि बढ्दै जान्छ। २६२ पृष्ठको उपन्यास एकै बसाइमा पढिसकिने खालको रहेछ। फिनिक्स बुक्सले बजारमा ल्याएको रुइबा अवस्य पनि आम उपन्यासभन्दा फरक स्वाद र शैलीको छ। नेपाली समाजको आँखा खोल्ने प्रयास रुइबा उपन्यासले गरेको छ।

 -लेखक पराजुली बेइजिङस्थित नेपाली दूताबासमा इकोनोमिक मिनिष्टर हुन्।
 




भर्खरै