१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्विटरका सिइओमाथि रङ्गभेदको आरोप



अ+ अ-

काठमाडौँ । माइक्रोब्लगिङ साइट ट्विटरका सिइओ ज्याक डोर्सीले राजीनामा दिएपछि उनको स्थानमा भारतीय मूलका पराग अग्रवाललाई जिम्मेबारी दिइएको छ । जिम्मेबारी सम्हालेको पहिलो दिन नै आफ्नो एक दशक पुरानो ट्विटका कारण पराग दक्षिणपन्थीहरुको निशानामा परेका छन् । अमेरिकामा दक्षिणपन्थी विचारधाराका मानिसहरुले उनको त्यो ट्विटलाई खोजेर निकालेका छन् । उनीहरुका अनुसार परागको सो ट्विटबाट नस्लभेदको गन्ध आउँछ । 

सो ट्विट सन् २०१० अक्टोबर २६ को हो जतिबेला परागले ट्विटरमा जागिर नै सुरु गरेका थिएनन् । सो ट्विटमा उनले भनेका छन्, ‘यदि म मुस्लिमहरु र चरमपन्थीहरुमा फरक गर्न सक्दिन भने मलाई गोरा मानिस र नस्लवादीहरुबीच भेद गर्न किन जरुरी छ र ?’ यद्यपि परागले कमेडियन आसिफ माण्डवीलाई उद्धृत गर्दै ट्विट गरेको थ्रेडमा स्पष्ट पारेका छन् । माण्डवीले डेली शोमा यसबारेमा केही भनेका थिए । 

ट्विटरमाथि आरोप

अमेरिकामा दक्षिणपन्थी विचारधाराका मानिसहरुले ट्विटरमाथि उनीहरुको आवाजलाई दबाइएको आरोप लगाइरहेका छन् । उनीहरुको भनाइमा पराग अग्रवाल पनि डोर्सीको सोही विरासतलाई अगाडि बढाउने व्यक्ति हुन् । पराग आएपछि सो मामिलामा ट्विटरको व्यवहार अझ कडा हुनसक्ने उनीहरुले आशङ्का गरेका छन् । ट्विटरले जतिबेला अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्टलाई निलम्बन गरेको थियो त्यतिबेला ट्रम्पका फलोअरहरु अमेरिकी माइक्रोब्लगिङ तथा नेटवर्किङ सर्भिस पार्लरतिर मोडिएका थिए ।

परागले सिलिकन भ्यालीमा ११ वर्षभन्दा पनि कम समयमा धेरै सफलता हासिल गरेका छन् । यस अवधिमा उनले एउटा सफ्टवेयर इन्जिनियरबाट सिइओसम्मको यात्रा तय गरेका छन् । परागले एक ट्विटमा ज्याक डोर्सी र कम्पनीको सम्पूर्ण टिमलाई हृदयदेखि नै धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘म १० वर्षदेखि यो कम्पनीमा संलग्न छु जतिबेला कम्पनीमा एक हजारभन्दा पनि कम कर्मचारी थिए । यो एक दशक भइसकेको छ तर मलाई यो हिजो जस्तो मात्र लागेको छ ।’ उनले डोर्सीलाई सम्बोधन गर्दै ट्विट गरेका छन्, ‘मलाई तपाइँको जिम्मेबारी प्राप्त भएको छ, मैले उतारचढाव, चुनौतीहरु, बाधा, सफलता र गल्तीहरु देखिसकेको छु तर त्यतिबेला र अहिले सम्पूर्ण कुराभन्दा माथि म ट्विटरको अविश्वसनीय प्रभाव र निरन्तर प्रगतिलाई ध्यान दिनेछु, भविष्यमा हामीसँग धेरै नै राम्रा अवसर आउनेछन् ।’