१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

पतिसँग मत नमिल्दा सम्बन्ध विच्छेद ! महिलाले बजाए पञ्चेबाजा

पतिसँग मत नमिल्दा सम्बन्ध विच्छेद ! महिलाले बजाए पञ्चेबाजा
अ अ+ अ-

काठमाडौँ । गोरखाकी ४६ वर्षिया जानुका पौडेल सधै नौला काम गर्न मन पराउनुहुन्थ्यो । पतिसँगै काठमाडौँमा रेष्टुरेन्ट चलाइरहेकै बेला उहाँलाई समाजमा अब चाहिँ केही गर्नुपर्छ भन्ने लाग्योे तर पतिसँग मत नमिलेपछि सम्बन्ध विच्छेद गरेर बालक छोरा काखी च्याप्दै उहाँ एक्लै नौलो सिर्जनामा जुट्नुभयो ।

महिला दिवसकै स्मरणमा उहाँले ‘आठ मार्च’ सशक्तीकरण मञ्च र आठ मार्च कृषि सहकारी संस्था २०७० सालमा गठन गर्नुभयो । कृषि फर्म नै खोलेर किसानी र व्यवसाय दुबै काममा उहाँले सफलता हात लगाउँदै अरूका लागि उदाहरणीय बन्नुभयो ।

उहाँको नौलो काम गर्ने धोको यतिमै सीमित रहेन । सहकारीमा महिला आवद्ध गराउँदै नयाँ काम गर्नुपर्छ भन्ने उद्देश्यले उहाँले महिला नौमती बाजाको समूह गठन गर्नुभयो । “सधैँ दलित समुदाय र त्यसमा पनि पुरुषले बजाउँदै आएको नौमती र पञ्चेबाजा गृहणीले बजाउन सक्छन् भन्ने आँटले थालियो,” उहाँले विगत सम्झँदै थप्नुभयो, “कतिले मानेनन्, कतिले अप्ठेरो माने तर सिकेपछि भने समूहको चर्चा हुनथाल्यो ।”

संस्थाकी उपाध्यक्ष प्रविना देवकोटा पेसाले विद्यालयकी प्राचार्य हुनुहुन्थ्यो । स्नातकोत्तर गरेपछि आफैँ विद्यालय सञ्चालन गर्दैगर्दा ढाड दुख्ने समस्याले थलिनुभयो । उहाँलाई चिकित्सकले नाच्ने, उफ्रने खालका कम्मरको थेरापी गर्न भन्नुभयो । संस्थामा आवद्ध भएपछि नौमती र पञ्चेबाजा बजाउनुपर्छ भनेर अध्यक्षलेभन्दा पहिले निकै असजिलो लाग्यो । “बाहुन त्यै माथि महिला, कसरी बजाउनु पञ्चेबाजा ?”, उहाँले उतिबेलाको पिर पोख्नुभयो, “घरमा पतिले झन् मेरो बेइज्जतै गर्ने भयौ भनेपछि विरक्तिनुभयो ।”

बाजा बजाउँदा रमाइलो हुने र शरीर पनि स्वस्थ हुन थालेपछि भने उहाँ आफैँ बाजा बजाउन रत्तिनुभयो । पैसा तिरेर गर्नुपर्ने थेरापी पैसा कमाएरै पूरा भएपछि नयाँ जीवन पाएको महसुस गर्नुभयो । टेम्को, दमाहा, सनही उहाँ पालैसँग बजाउनुहुन्छ । सनही बजाउन गीतको सुरताल जान्नुपर्ने हुँदा त्यो भने उहाँ घरमै सिक्नुहुन्छ ।
विदेशबाट समेत पञ्चेबाजा बजाउने अवसर आएको छ । “पञ्चेबाजाले नै देशविदेश घुमाएपछि बल्ल घरपरिवारले यो पेसालाई पक्कै सम्मानपूर्वक हेर्लान्,” उहाँ थप्नुहुन्छ, “पुरुषले मदिरा पिएर बजाएको पञ्चेबाजाभन्दा हामीले बजाएको बाजा लिनेको अचेल धेरै आकर्षण छ ।”

तनहुँकी कृष्णा क्षेत्री सबैभन्दा ठूलो र गहु्रङ्गो नरसिंहा बजाउनुहुन्छ । घर बसिरहनुभन्दा यसरी बाजा बजाउँदा आम्दानी हुने भएकैले बाजा बजाउन थालेको उहाँले बताउनुभयो । “पुरुषका हातले समेत धान्न नसक्ने नरसिंहा बजाउन बलभन्दा पनि बजाउने खुबी चाहिन्छ,” क्षेत्रीले थप्नुभयो, “पहिले त म बोक्नै सक्दैन थिएँ, पछि बोक्ने र बजाउने दुबै कुरा जानियो ।”

उहाँसँगै अनिता दर्जीले पनि नरसिंहा बजाउनुहुन्छ । त्यस्तै गरी पुनम भुसालले सहनाइ, सान्नानी थापाले दमाहा र राधिका परियारले टेम्को बजाउनुहुन्छ । दलित समुदायकै भएपनि अनिता दर्जी र राधिका परियारले समूहमै आएपछि पञ्चे बाजा बजाउन जान्नुभएको हो । दलित समुदायमै पति, भाइ, छोरा बाजा बजाएर कमाउन जाँदा महिलाले भने चुलोचौकामै दिन बिताउनुपथ्र्यो ।

बाहुन क्षेत्री समुदायका महिलाले आफ्नो जातीय घेरा तोड्दै यसरी पञ्चे बाजा बजाएका हुन् । त्यस्तै दलित समुदायभित्रका महिलाले आफ्ना पतिले गर्ने कामलाई आफैँले आम्दानीको स्रोत बनाएर वर्गीय घेरा तोड्न सफल भएका हुन् । पञ्चेबाजामा सनही, दमाहा, टेम्को, भ्mयाली र नरसिंहा पर्छ ।

नेपाल प्रहरी सङ्गीत विद्यालयका अवकाश प्राप्त प्रहरी धु्रव नेपालीले प्रशिक्षण दिन थालेपछि भने गृहणी महिलामा बाजा बजाउने हिम्मत पलायो । पहिलो चरणमा युवतीको समूहलाई प्रशिक्षण दिएपनि उनीहरू समूह छाडेर गएपछि गृहणीले मौका पाएका हुन् ।
महिला दिवसका दिन अरू महिलाले विभिन्न सेमिनार गोष्ठी गरेर महिला दिवस मनाए । बाजा बजाउने महिलाले भने त्यस्ता सभा, सेमिनार र बिहे गरी चार स्थानमा बाजा बजाएरै दुईलाख रुपियाँ आम्दानी गरेको अध्यक्ष जानुका पौडेलले जानकारी दिनुभयो ।

धेरै निम्ता आएपछि अहिले दुईवटा महिला समूहले बाजा बजाउन थालेका छन् । एउटा समूह केही दिनपछि बेलायतमा बाजा बजाउन जाँदैछन् । हरेक क्षेत्रमा भएको अवसरलाई महिलाले प्रयोग गर्न सके आम्दानी र सम्मान दुबै मिल्ने समूहका महिलाको भनाइ छ । बिहे व्रतवन्धको सिजनमा राम्रै आम्दानी हुँदा व्यक्तिगत र सहकारीको कोषको रकममा समेत वृद्धि भई सामाजिक सेवा गर्न समूहलाई टेवा पुगेको छ ।

“पहिले पहिले हेयका दृष्टिले हेरे पनि अचेल सम्मान गरेर बोलाउँछन्”, उपाध्यक्ष देवकोटाले भन्नुभयो, “राष्ट्रपति, मन्त्री तथा सरकारी निकायका कार्यक्रममा समेत हामीलाई बाजा बजाउन बोलाउँदा राम्रो सम्मान पाएका अनुभव गरेका छौंँ ।” गोरखापत्र दैनिकमा खबर छ ।