१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

सिसिटिभी फुटेजमा टाढाका वस्तुसमेत प्रस्ट देखिने प्रविधि भित्रिँदै

सिसिटिभी फुटेजमा टाढाका वस्तुसमेत प्रस्ट देखिने प्रविधि भित्रिँदै
अ अ+ अ-

–सञ्चिता घिमिरे
काठमाडौं– घर वा कार्यालयमा भएको सिसिटिभीले पनि व्यक्ति पहिचान गर्न नसक्दा हैरान हुनुहुन्छ ? घर वा कार्यालयमा चोरी हुँदा व्यक्ति र उसले प्रयोग गरेका सामग्री र सडकमा दुर्घटना हुँदा सवारीसाधन देखिए पनि नम्बर प्रस्ट नदेखिँदा धेरैलाई समस्या भएको हुनसक्छ । प्रहरीसम्म पुग्दा पनि अनुहार टाढाबाट नचिनिएको भन्दै तपाई रित्तो हात फर्किनु परेको पनि हुनसक्छ ।

यदि त्यसो हो भने अब छिट्टै सिसिटिभीको फुटेज नचिनिने समस्या समाधान हुने भएको छ । नेपालमा छिट्टै सिसिटिभी फुटेजमा टाढाका वस्तुसमेत प्रस्ट देखिने प्रविधि भित्रिँदैछ । नेपाल विधि विज्ञान प्रयोगशालाले चालू आवभित्रै यो प्रविधि भित्र्याउने तयारी गरेको छ । प्रयोगशालामा नियमित रुपमा सिसिटिभी फुटेजसँग सम्बन्धित समस्या आउन थालेको प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले बताए । उनले भने, ‘चालू आवभित्रै सञ्चालनमा ल्याउने योजना छ ।’

समाज परिवर्तन भएसँगै नयाँनयाँ अपराधका घटना भइरहेका र त्यसकै आधारमा नयाँनयाँ प्रविधि आवश्यक भएको शाक्यले बताए । सिसिटिभी जडान भएका स्थानमा कुनै पनि घटनाका प्रमाणका रुपमा त्यसलाई लिइने गरे पनि त्यसले टाढाको दृश्य प्रस्ट नहुँदा नागरिक र प्रहरी हैरान छन् । उनले भने, ‘यही अन्यौलता हटाउनका लागि नेपालमा सिसिटिभी आवश्यक देखिएको हो ।’

प्रयोगशालाले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाण उपलब्ध गराउँदै आएको छ । अदालत, प्रहरी, सरकारी कार्यालयलगायतका स्थानबाट आएका समस्याको समाधान वैज्ञानिक प्रविधिबाट निष्कर्ष निकाल्ने काम गर्दै आइएको प्रयोगशालाले जनाएको छ । समयानुसार र अपराधका घटनाका प्रकृतिनुसार नयाँनयाँ प्रविधि भित्र्याउने र प्रयोग गरिँदै आएको निमित्त कार्यकारी निर्देशक शाक्यले बताए । ट्राफिक प्रहरी, नेपाल प्रहरी र अदालतबाट सिसिटिभीसम्बन्धी विवाद आउने गरेका छन् । त्यससम्बन्धी अनुसन्धान गरेर तथ्य पत्ता लगाउन आवश्यक रहेको उनको भनाइ छ ।

‘दुर्घटनामा रातको समयमा सिसिटिभीले दृश्य देख्ने तर नम्बर प्लेट नबुझिएको भन्ने घटना आइरहेका छन्’, उनले भने, ‘अहिलेसम्म हामीसँग सिसिटिभीको दृश्य प्रस्ट गर्ने प्रविधि नभएकाले सुझाव दिन सकिरहेका छैनौँ तर अब त्यस्ता प्रविधि ल्याउने योजनामा हामी छौं ।’

प्रयोगशालाले अहिले हस्ताक्षर सक्कली हो वा होइन्, हस्तरेखा मिल्छ वा मिल्दैन, रगतमा रहेको मदिरापान, विषालु पदार्थको मात्रा लगायतका परीक्षण गर्दै आएको छ । प्रयोगशालाले मानिस र जनावर दुवैको डिएनए परीक्षणसमेत गर्दै आएको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताए ।

विसं २०६२ मा मानिसको डिएनए परीक्षण शुरु गरेकामा दुई वर्षपहिले देखि जनावरको समेत डिएनए परीक्षण शुरु भएको हो । अहिले २७ वटा गुणका आधारमा आमाबाबु र सन्तानको डिएनए परीक्षण हुने गरेको उनले बताए। डिएनए परीक्षण शुरु हुँदा १६ वटा गुणका आधारमा परीक्षण गर्ने गरिएकामा केही वर्ष पहिलेबाट २४ वटा गुणका आधारमा परीक्षण हुने गरेको थियो ।

कुनै पनि व्यक्तिको हस्ताक्षर मिल्छ वा मिल्दैन भन्ने जाँच गराउने घटना लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायबाट आउने गरेको निमित्त कार्यकारी निर्देशक शाक्यले बताए । ‘कतिपय छापिएका कागजात कति वर्ष पुरानो हो भन्ने छुट्याउने काम पनि प्रयोगशालाले गर्दै आएको छ’, उनले भने, ‘कुनै दुई वा त्योभन्दा बढी कागजातमा एउटै मसी प्रयोग भएको हो वा फरक मसी भन्ने छुट्याउने काम प्रयोगशालामा हुने गरेको छ ।’

समाजमा अपराधका घटना बढेसँगै यी र यस्ता मुद्दाहरु वैज्ञानिक परीक्षणका लागि अदालतमा आउने क्रम बढेको निमित्त कार्यकारी निर्देशक शाक्यले बताए । अदालतबाट आउने धेरै मुद्दामा चाँडो नतिजा आओस् भन्ने धेरैको अपेक्षा रहेको छ । प्रयोगशालाले एकातिर पहिले आएकाको परीक्षण गरेर नयाँ आएकालाई लाममा राख्ने गरेको उनको भनाइ छ ।

त्यस्तै धेरै मुद्दामा आवश्यक कागजात नहुँदा परीक्षण गर्न नसकिएको उनले बताए । उनले भने, ‘हामीले यी कुरा आवश्यक छ थप्नुहोस् भन्छौँ तर थप्नमा सम्बन्धित व्यक्तिले चासो देखाएको पाइँदैन ।’

न्यायिक सुधार आयोगको सुझावका आधारमा स्थापना भएको प्रयोगशाला शुरुमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) अन्तर्गत रहेको थियो । झण्डै पाँच वर्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत रहेको प्रयोगशाला दुई दशकदेखि स्वायत्त संस्थाका रुपमा रहेको छ । अहिले प्रयोगशाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको छ ।