१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी संगठन : ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’



अ+ अ-

काठमाडौं। विद्यार्थीको हकहित र एजेन्डा स्थापित गर्ने उद्देश्य लिएका विद्यार्थी संगठनका नेता आमविद्यार्थीका एजेन्डा छोडेर आफ्नै स्वार्थमा लाग्न थालेका छन् । संगठनका कतिपय नेता विभिन्न कन्सल्टेन्सीका सञ्चालक र ठेकेदार छन् । विद्यार्थी नेताहरू विद्यार्थीको हकहित छोडेर पूर्ण रूपमा कमाउ धन्दामा लाग्दा उनीहरू दिन प्रतिदिन आलोचित बन्न थालेका छन् ।

गौरवमयी इतिहास बोकेका विद्यार्थी संगठनलाई अहिले आफ्नो इतिहास जोगाउनै हम्मेहम्मे पर्न थालेको छ । विद्यार्थी नेता विद्यार्थीका हकहितभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न लागिपरेकाले यो अवस्था आएको होे ।

नेताहरूकै गतिविधिले विद्यार्थीहरूमा समेत विद्यार्थी संगठनले आफ्नो बारेमा केही बोलिदिन्छ कि भन्ने विश्वास देखिन समेत छोडेको छ । सत्तारुढ दल नेकपा निकट अनेरास्ववियु र प्रमुख प्रतिपक्षी कांग्रेस निकट नेविसंघका नेता विद्यार्थीको सामूहिक हितका एजेन्डाभन्दा पनि आफ्नै स्वार्थ पूरा गर्ने ध्याउन्नमा लाग्न पुग्दा उनीहरू गुमनामजस्तै बन्न पुगेका छन् ।

संगठनका नेताहरू विद्यार्थीको हितमा लाग्नु भन्दा पनि क्याम्पससँग मिलेमतो गर्दै स्वयं विद्यार्थीबाटै चर्को शुल्क असुल्ने कार्यमा लाग्ने गरेको आरोप विद्यार्थीले नै लगाउने गरेका छन् ।

शैक्षिक गुणस्तर सुधार गर्ने एजेन्डातर्फ विद्यार्थी संगठनहरू नलागेको शिक्षाविद्हरू बताउँछन् । शिक्षाविद् महाश्रम शर्माले सिकाइ उपलब्धिको गुणस्तर सुधार गर्न विद्यार्थी संगठन नलागेको बताए । उनले भने, ‘विद्यार्थी संगठनले शिक्षाका एजेन्डा विद्यार्थीसम्म पुर्याउनै सकेका छैनन् । अब उनीहरू शैक्षिक संस्थाहरू पढ्न योग्य बनाउन लाग्नुपर्छ । ’
विभिन्न कलेजमा नाम निकालिदिने भन्दै चर्को मात्रामा विद्यार्थीबाटै शुल्क असुल्ने गरेको विद्यार्थी संगठनमाथि आरोप छ । केही समयअघि प्रश्नपत्र आउट गर्दा काठमाडौंबाट विद्यार्थी नेताहरू नै पक्राउ परेका थिए ।
कुनै समय राजनीतिक र विद्यार्थी आन्दोलनलाई सार्थक बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका विद्यार्थी संगठन एजेन्डाविहीन हुँदा विद्यार्थी संगठनमाथि नै प्रश्नचिन्ह खडा हुन थालेको छ । विद्यार्थी संगठनमाथि आवश्यक परेको बेला चन्दा उठाउने र आन्दोलनलाई सम्झौतामा टुग्याउने आरोप लाग्ने गरेको छ ।

विद्यार्थी नेताले भने पार्टीले विद्यार्थी संगठनलाई उपयोग गर्दा समस्या निम्तिएको बताउँछन् ।

गुणात्मक शिक्षामा विद्यार्थी संगठन मौन विद्यार्थी संगठन सिकाइलाई गुणात्मक बनाउन नलागेको पाइएको छ । कक्षा १०, ११ र १२ मा नतिजा उपलब्धिमूलक हुन नसकिरहेको बेला सिकाइलाई गुणात्मक बनाउन लागि नपरेको शिक्षाविद्हरू बताउँछन् ।

शुल्क बढेको बढ्यै

अहिले कक्षा ११ र १२ मा अभिभावकले मनपरी शुल्क तिर्न बाध्य छन् । तर, सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा भनेको छ । विद्यार्थी संगठन भने मौन छन् ।

यातायातमा ४५ प्रतिशत नारामा मात्रै
सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुट उपलब्ध गराउनुपर्ने भनिए पनि पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन । जसले गर्दा विद्यार्थीहरू मारमा परेका छन् । सो विषयमा विद्यार्थी संगठन मौन छन् ।

छात्रवृत्ति कागजमा

निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति विद्यार्थीलाई दिनुपर्ने प्रावधान कागजमा सीमित छ । सो छात्रवृत्ति कतिपय विद्यालयमा विद्यालय सञ्चालकका आफन्तले हडपेको गुनासो आउन थालेको छ ।

मेडिकल कलेजको शुल्क असुली

केही मेडिकल कलेजले एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीबाट २० लाख रुपैयाँ बढी रकम असुल्दा पनि विद्यार्थी संगठन तातिएनन् । केही समय आन्दोलन थाले पनि निष्कर्षमा पुग्न सकेन । यसकारण, अहिलेसम्म बढी लिइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजले आनाकानी गर्दै आएका छन् ।

के गर्दै छन् विद्यार्थी संगठन ?

अनेरास्ववियु

सत्तामा रहेको नेकपा निकट विद्यार्थी संगठन अखिल अझै संगठनविहीन छ । उसले अझै पूर्णता पाउन सकेको छैन । पार्टीले संयोजकको नाम तोके पनि कमिटी स्थानीय क्याम्पससम्म पुग्न सकेको छैन । नेकपा निकट अनेरास्ववियुका विद्यार्थी नेता रश्मी आचार्यले सरकारी तवरबाटै नीति कार्यान्वयन हुन नसकेको बताए ।

अर्का नेता सुरेन्द्र बस्नेतले विद्यार्थी एकता प्रक्रिया नटुंगिँदासम्म काम गर्न समस्या भएको बताए । उनले भने, ‘एकता प्रक्रिया टुंगिएपछि विद्यार्थीको हकहितका लागि आन्दोलनको घोषणा गर्छौं । अबको लडाइँ शिक्षा निःशुल्क बनाउने नीति कार्यान्वयनको लडाइँ हो ।’

नेविसंघ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेविसंघ पनि विघटन भएपश्चात् संगठनात्मक रूपमा पूर्ण बन्न सकेको छैन । उसले पनि विद्यार्थीका एजेन्डा नपक्रिँदा विद्यार्थीमा नैराश्य सिर्जना हुन थालेको छ । नेवि संघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले पार्टी नेतृत्वले विद्यार्थी संगठनलाई उपयोग गर्दै आएको बताए । उनले भने, ‘यो बेला विद्यार्थी आन्दोलन जुमुराउने बेला हो । कमजोर व्यक्तिको हातमा विद्यार्थी राजनीति हुँदा समस्या बढेर गएको छ ।’

अखिल (क्रान्तिकारी)
अखिल क्रान्तिकारी शिक्षा क्षेत्रको विसंगति रोक्न लागिपरेको बताएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विद्यार्थी संगठन सुस्ताएको स्वीकार्दै आफूहरू संगठनलाई नयाँ गति दिने तयारीमा लागेको बताएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।