२ आश्विन २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लङ आइल्याण्ड नेप्लिज सोसाइटीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ हजार ६७८ डलर सहयोग



अ+ अ-

लङ आइल्याण्ड, न्युयोर्क: नेपालमा आएको प्राकृतिक विपत्ति तथा बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगका लागि लङ आइल्याण्ड नेप्लिज सोसाइटी न्युयोर्क (एलआइएनएसएनवाई) ले राहत संकलन अभियान सञ्चालन गरी ९ हजार ६७८ अमेरिकी डलर संकलन गरेको छ।

संकलित रकम करिब १४ लाख ८९ हजार नेपाली रुपैयाँ बराबर रहेको संस्थाले जनाएको छ। उक्त सम्पूर्ण रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकिएको छ।

संस्थाका अनुसार संकलित रकमबाट कुनै पनि प्रशासनिक खर्च कटौती गरिएको छैन। सम्पूर्ण रकम नेपाल पठाइएको र रकम हस्तान्तरणको प्रमाणसमेत सार्वजनिक गरिएको संस्थाले जनाएको छ।

राहत संकलन अभियानमा लङ आइल्याण्डमा रहेका नेपाली तथा गैरनेपाली स्थानीय बासिन्दा, स्वास्थ्यकर्मी, व्यवसायी, संघसंस्था तथा विभिन्न व्यक्ति र परिवारको उल्लेखनीय सहभागिता रहेको थियो।

अभियानमा एल्महर्स्ट अस्पतालको सघन उपचार कक्ष, मुटु उपचार कक्ष, चरणगत उपचार कक्ष, शल्यक्रियापछिको सघन उपचार कक्ष तथा श्वासप्रश्वास परिवार समूहको टोलीबाट सबैभन्दा ठूलो सहयोग प्राप्त भएको छ। पारू थापा गिरीको समन्वयमा अस्पतालको टोलीले २ हजार १५ अमेरिकी डलर संकलन गरेको थियो।

त्यसैगरी सनसाइन रेस्टुरेन्टले १ हजार डलर, एलआइएनएसएनवाईले ५०१ डलर, धर्मिन्दर एस. भासिन (ओम्नी मोर्गेज) ले ५०० डलर तथा बेथपेगस्थित सेभेन–इलेभेन पसलले ३०० डलर सहयोग गरेका छन्।

यसका अतिरिक्त एनयूएमसीका चिकित्सक, स्थानीय कर तथा लेखा व्यवसायी, विभिन्न व्यक्ति तथा परिवारले समेत राहत अभियानमा आर्थिक सहयोग गरेका थिए।

संस्थाले नेपालमा विपत्तिबाट प्रभावित परिवारलाई सहयोग गर्ने साझा उद्देश्यका साथ अभियान सञ्चालन गरिएको जनाएको छ। संस्थामार्फत वा सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिएको छ।

अभियान एलआइएनएसएनवाईका कोषाध्यक्ष तथा राहत संकलन अभियान संयोजक पुरुषोत्तम सापकोटा, अध्यक्ष सावित्रा सिवाकोटी, महासचिव बिशाल रेग्मी तथा सम्पूर्ण कार्यकारी समिति, सल्लाहकार, संरक्षक र नेपाली तथा गैरनेपाली समुदायको सहयोगमा सफल भएको संस्थाले जनाएको छ।