काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारलाई दलगत दृष्टिकोणबाट हेर्दा प्रभावकारी समन्वय हुन नसकेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै झाँक्रीले विपद्को समयमा सरकारहरूबीच राजनीतिक विभाजनभन्दा माथि उठेर समन्वय आवश्यक रहेको बताउनुभयो । रसुवाको भोटेकोशी बाढीपछि खोज तथा उद्धारसँगै राहत र पुनर्निर्माणका काममा सरकार प्रत्यक्ष रूपमा देखिने गरी सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।
सरकार सामाजिक सञ्जालमा मात्र सक्रिय देखिएको भन्दै उहाँले सामाजिक सञ्जालमा प्रस्तुत गरिने सामग्रीभन्दा वास्तविक काममार्फत सरकारको उपस्थिति देखिनुपर्ने बताउनुभयो । कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर पुल र सडक निर्माण भएको देखाइने तर वास्तविक क्षेत्रमा काम प्रभावकारी हुन नसकेको भन्दै उहाँले सरकारको कार्यशैलीप्रति व्यंग्यसमेत गर्नुभयो ।
झाँक्रीले भोटेकोशी बाढीपछि खोज तथा उद्धारको कामसँगै राहत र पुनर्निर्माणलाई पनि तीव्रता दिनुपर्ने बताउनुभयो । विपद्मा मृत्यु भएका व्यक्तिको पहिचानका लागि गरिने डीएनए परीक्षणको नतिजा सार्वजनिक गरी आफन्तलाई शव बुझाउने काममा समेत सरकारले संवेदनशीलता देखाउनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “सरकारका लागि मृत्यु एउटा संख्या भए पनि आफन्तका लागि ती प्रियजन हुन् ।”
स्थानीय तह र प्रदेश सरकारले विपद्को समयमा उल्लेख्य काम गरिरहेको भए पनि संघीय सरकारले उनीहरूसँग आवश्यक समन्वय गर्न नसकेको झाँक्रीले बताउनुभयो । विपद्को समयमा कुन दलको सरकार हो भन्ने नहेरी सरकार–सरकारबीच समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैबीच, झाँक्रीले गत वर्ष भदौ २४ गते भएको ध्वंसको जिम्मेवारी कसले लिने हो भन्ने प्रश्नसमेत उठाउनुभयो । जेनजी आन्दोलनलाई ‘हाइज्याक’ गरेर राष्ट्रिय झण्डा काँधमा हाल्दै देश जलाउने अपराधीमाथि कारबाही गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।







