भोजपुर। बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला भोजपुरका किसानका लागि ‘दूधे पिँडालु’खेती भरपर्दो र आम्दानीको नयाँ स्रोत बन्न थालेको छ।
स्वादिलो र पोषणयुक्त मानिने दूधे पिँडालुको स्थानीय बजारमा माग र मूल्य दिनप्रतिदिन बढ्दै गएपछि यहाँका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्।
तरकारी र खाजाका रूपमा प्रयोग गरिने भएकाले बजारमा यसको माग बढ्दो छ। हाल भोजपुर सदरमुकामलगायत आसपासका स्थानीय हाटबजारमा यो पिँडालु प्रतिकेजी रु ५० देखि ८० सम्ममा बिक्री भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका किसान धनबहादुर थापाले बताए।
बाँदरले क्षति नगर्ने तथा अन्य बालीको तुलनामा कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय किसान पिँडालुखेतीमा जुटेको उनको भनाइ छ।
“राम्रोसँग फस्टाएको एउटै बोटबाट एकदेखि तीन केजीसम्म पिँडालु उत्पादन हुन्छ”, उनले भने, “थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिन्छ। अचेल गाउँमा धेरैजसोले पिँडालुलाई मुख्य वैकल्पिक बालीका रूपमा लगाउन थालेका छन्।”
जिल्लाका अधिकांश ग्रामीण भेगमा बाँदरको आतङ्कका कारण मकै, धान, कोदो तथा अन्य बाली जोगाउन किसानलाई निकै सास्ती छ। पिँडालु जमिनमुनि फल्ने बाली भएकाले बाँदरले क्षति पुर्याउन सक्दैन। बाँदरले नोक्सानी नगर्ने र अन्य जङ्गली जनावरबाट पनि जोगिने भएकाले बाँझो छाडिएका खेतबारीमा किसानले पिँडालु रोप्न थालेको स्थानीय किसान गीता विष्टले बताउनुभयो। पिँडालुको पात र डाँठ भने बङ्गुरको चारोका रूपमा प्रयोग गरिन्छ। पिँडालुको बोट बङ्गुरपालन गर्ने किसानले खरिद गरेर लैजाने गरेको उनले जानकारी दिए।
स्थानीय बजारमा ग्राहकले दूधे पिँडालुलाई अर्ग्यानिक र स्वादिलो खाजाका रूपमा रुचाउने गरेको उनको भनाइ छ। बजारसम्म पुर्याउँदा सजिलै बिक्री हुने भएकाले किसानलाई बजारीकरणको समस्या नरहेको उनले बताए।
बाँदर नियन्त्रण गर्न नसकेर खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने बाध्यतामा रहेका किसानका लागि दूधे पिँडालुखेती गतिलो विकल्प बनेको छ। कम खर्चमा मनग्य आम्दानी हुन थालेपछि भोजपुर नगरपालिकाको बोखिमलागयत जिल्लाका अन्य गाउँमा पनि यसको व्यावसायिक खेती विस्तार गर्ने क्रम बढ्दै गएको छ। रासस









