काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराउन सरकारले विभिन्न संकलन केन्द्र तोकेको छ।
राहत सहयोग गर्न इच्छुक व्यक्ति, संघ–संस्था तथा सहयोगी निकायले तोकिएका केन्द्रमा सामग्री उपलब्ध गराउन सक्नेछन्।
विदेशबाट हवाई माध्यममार्फत ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिने भएको छ।
संकलित सामग्री आवश्यकताका आधारमा सरकारले बाढी प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउने जनाएको छ। यसका लागि डब्लुएफपी प्रतिनिधि श्रद्धा भट्टराईसँग ९८४१८७९२२२ मा सम्पर्क गर्न सकिनेछ।
स्वदेशभित्र राहत सामग्री संकलनका लागि काठमाडौंमा निर्वाचन आयोग, कान्तिपथ र सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहललाई केन्द्र तोकिएको छ। निर्वाचन आयोगमा प्रहरी निरीक्षक अमर बरामुसँग ९८५१०६५८७४ र सहरी विकास तथा भवन निर्माण विभागमा हिमविक्रम केसीसँग ९८५१०८५२०३ मा सम्पर्क गर्न सकिनेछ।
त्यस्तै, नुवाकोटको बट्टारस्थित नेपाली सेना मैथिली ब्यारेक र धादिङको बैरेनीस्थित नेपाली सेना ब्यारेकमा पनि राहत सामग्री संकलन गरिनेछ। बट्टारका लागि आविष्कारसँग ९८५१२३४३२४ र बैरेनीका लागि दिलीप घलेसँग ९८५११५४२२६ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
यसका अतिरिक्त राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि राहत सामग्री उपलब्ध गराउन सक्ने जनाइएको छ।








