काठमाडौं । आईएमई ग्रुपले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
ढकालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खालगायत नदी तटीय क्षेत्रका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्।
उनले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ताको शीघ्र उद्धार र घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन्।
उनका अनुसार आईएमई ग्रुपअन्तर्गतका ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सलगायत कम्पनी तथा कर्मचारीहरू राहत अभियानमा सहभागी भएका छन्।
यसैगरी, विदेशमा रहेका नेपालीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष रकम पठाउन आईएमईले निःशुल्क सेवा उपलब्ध गराएको ढकालले बताएका छन्। स्वदेशमा रहेकाले ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एपमार्फत पनि कोषमा प्रत्यक्ष योगदान गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिएका छन्।
ढकालले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, स्थानीय प्रशासन, दातृ निकाय, निजी क्षेत्र, सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।









