१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार बिघा जग्गा दोदा नदीले कटान गरी बगायो



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ । तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ ।

नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष बहादुर रानाले बताउनुभयो । लगातारको वर्षासँगै नदीमा आएको बाढीले जग्गा बगाउन थालेपछि बस्तीसमेत जोखिममा रहेको छ । उहाँले भन्नुभयो, “तत्काल जग्गा कटानको कार्य नरोकिए बस्तीनै विस्थापनमा पर्छ ।”

नदी नियन्त्रणका लागि गाउँपाललिकाले तत्काल अल्पकालीन योजना अगाडि बढाउनुपर्ने स्थानीयवासी लक्ष्मण रानाले बताउनुभयो । ५०० मिटरको क्षेत्रमा नदीले लगातार जग्गा कटान गरिहेकाले स्थानीय बासिन्दा पानी पर्नासाथ अनिदोमै रात बिताउन थालेका छन् ।

नदीले मकै रोपेको १० कठ्ठा जग्गा तीन दिनको अवधिमै बगाएर लगेको स्थानीयवासी मनोज रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै जग्गा थियो, त्यही पनि नदीले बगाएर बेघर बनाउन थालेको छ । घरनै बगाउने चिन्ता छ ।” गुरुयोजनासहित नदी नियन्त्रणका लागि योजना ल्याई बस्ती विस्थापन हुनबाट जोगाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ ।

नदीले जग्गा कटान गरिहेको क्षेत्रको अवलोकनका लागि पुग्नुभएका नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले विपद्को जोखिममा परेका बासिन्दासँगै रेडक्रस रहेको बताउनुभयो । तत्काल गाउँपालिका, प्रदेश र केन्द्र सरकारले जग्गा कटान भइरहेको क्षेत्रमा तारजालीसहितको ढुङ्गाको तटबन्ध बनाउनका लागि पहल गर्नुपर्ने आवश्यकता छ ।

स्थानीय तहले जग्गा कटान हुनबाट जोगाउनका लागि प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । नदीमा पानीको बहाव उच्च रहेकाले जग्गा कटान जारी छ । वितग पाँच वर्षको अवधिमै यस क्षेत्रका बासिन्दाको २०० बढी बिघा जग्गा नदीले कटान गरी बगरमा परिणत गरिसकेको छ ।