६ भाद्र २०८३, शनिबार
,
Latest
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर)



अ+ अ-

काठमाडौँ। लघुवित्त, मिटरब्याज र सहकारीको पासोमा घरबार गुमाएका पीडितहरू हरिहरभवनको सडकमा राज्य मौन, आँखाभरि आँसु र मनभरि न्यायको आशा र चर्को घामको राप । कालोपत्रे सडकबाट निस्किएको तातो बाफ । अनि त्यही सडकपेटीको पेटीमा ओछ्याइएको पातलो म्याट्रेस र त्रिपालको सानो ओत ।

धुलो र पसिनाले लतपतिएका अनुहार, आँखाभरि अनिँदो थकान र छातीभरि थुप्रिएको पीडाको पहाड बोकेर सयौँ नागरिकहरू विगत सात दिनदेखि हरिहरभवन क्षेत्रको सडकपेटीमा पसारिएका छन् ।

यी कुनै रहरले राजधानी पसेका यात्री होइनन् । यी त ती अभागी नागरिक हुन्, जसको घरबार, खेतबारी, सिन्दूर र आत्मसम्मान लघुवित्त, मिटरब्याज र सहकारीका नाममा लुटिएको छ ।

सुनसरीको इनरुवादेखि काठमाडौंसम्म १९ दिनको कष्टकर पैदल यात्रा गरेर काठमाडौंको ढोका घच्घच्याउन आइपुगेका र देशभरबाट साहुमहाजनको ऋणको पासोमा परेर आएका यी पीडितहरूको खुट्टाका फुटेका पैताला र ठेला उठेका कुर्कुच्चाले राज्यको अनुहारलाई गिज्याइरहेका छन् ।

सडकपेटीमा लमतन्न परेर बसिरहेकी एक वृद्धा आफ्ना दुवै खुट्टा अगाडि फैलाएर सुस्ताउँदै छिन् । उनका पैतालाभरि गहिरा धाँजा फाटेका छन्, छाला उप्किएको छ र धुलोका कणहरू घाउभित्रै जमेका छन् ।

इनरुवादेखि काठमाडौंसम्म हिँड्दा–हिँड्दै पातला चप्पलहरू खिइएर सकिए, तर न्यायको बाटो अझै छोटिन सकेको छैन । पैतालाको घाउभन्दा मनको घाउ कयौँ गुणा गहिरो छ । छेउमै सानी नातिनी भोक र प्यासले रोइरहेकी थिइन् । हजुरआमाको काखमा न दुध छ, न आश्वासन ।

उनीहरूका अगाडि राखिएका प्लास्टिकका पानीका जारहरू र सडकको छेउमा झुन्ड्याइएका लुगाका पोकाहरू नै उनीहरूको सम्पूर्ण संसार बनेका छन् । प्रहरीले लगाएको पहेंलो–रातो फलामको ब्यारिकेड एकातिर छ, अर्कोतिर सडकको छेउमै बाँधिएका प्लास्टिक र हरिया–नीला त्रिपालहरू । आकासबाट पानी पर्दा चुहिने र घाम लाग्दा भट्टीजस्तै तातिने यही त्रिपालमुनि पीडितहरूको भान्सा, ओछ्यान र आन्दोलनको थलो चलेको छ ।

घामको चर्को किरणबाट जोगिन महिलाहरू आफ्नै सारीको आँचलले टाउको छोपिरहेका छन् । कोही हातमा छाता ओढेर सडकको पेटीमै पल्टिरहेका छन् । वृद्ध बुबाहरू फलामको बारमा अडेस लागेर टोलाइरहेका छन् ।

सायद सम्झिरहेका छन्– गाउँको त्यो घर, जुन अहिले साहुको कब्जामा पुगिसकेको छ । प्लेकार्डमा कोरिएको छ, ‘हाम्रो घर फर्काइदेउ सरकार, हाम्रो परिवार फर्काइदेउ’धर्नास्थलमा राखिएका प्लेकार्डहरूले कुनै ठूलो राजनीतिक क्रान्ति मागेका छैनन् । तिनले केवल बाँच्न पाउने अधिकार मागेका छन् ।

एउटा प्लेकार्डमा लेखिएको छ, ‘हाम्रो घर फर्काइदेउ सरकार, हाम्रो परिवार फर्काइदेउ !’ ‘हामी अपराधी होइनौँ, हामी नागरिक हौँ । हामीलाई हाम्रो घर, परिवार र भविष्य फर्काइदेउ ।’

अर्को प्लेकार्डमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको तस्बिरसहित अन्तर्राष्ट्रिय समुदायलाई गुहारिएको छ । ‘हामी कुनै संख्या होइनौँ, हामी मानव हौँ । हामीलाई न्याय चाहिन्छ ।’ आफ्नो देशको सरकार र स्थानीय नेतृत्वले आवाज नसुनेपछि विदेशी निकायसम्म बिलौना पु¥याउनुपर्ने अवस्थाले पीडितहरूको चरम निराशा र विवशतालाई उदाङ्गो पारेको छ । दिनहुँको घाम, पानी, सडकको धुलो र मानसिक तनावका कारण धर्नामा बसेका अधिकांश पीडितहरू बिरामी पर्न थालेका छन् ।

धर्नास्थल नजिकै काठमाडौं मेडिकल कलेजले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकहरूले वृद्ध महिला तथा पुरुषहरूको रक्तचाप जाँचिरहेका छन् । अधिकांशमा कुपोषण, डिहाइड्रेसन, ज्वरो र उच्च रक्तचापको समस्या देखिएको छ । हातमा औषधि समातेर डाक्टरको अगाडि बसिरहेकी एक महिला भन्दै थिइन्, ‘रोगले भन्दा पनि साहुको धम्की र सास्तीले ज्यान लिइसक्यो, अब त मर्ने कि बाँच्ने केही थाहा छैन ।’

सडकमा लमतन्न सुतेका वृद्धवृद्धाहरू, भोकले रोइरहेका बालबालिकाहरू, पहरा दिइरहेका प्रहरीका लट्ठीहरू र सडकभरि छरिएका आँसुका थोपाहरू, हरिहरभवनको यो दृश्यले आज हरेक सचेत नागरिकको मुटु रेट्छ । यी जनता कुनै विलासिता माग्न राजधानी आएका होइनन् ।

आफ्नै पसिनाको मूल्य, साहु र विचौलियाको शोषणबाट मुक्ति र आफ्नो गुमेको बासस्थान फिर्ता माग्न आएका हुन् । १९ दिन हिँडेर फुटेका पैताला लिएर सडकमा सुतिरहेका यी आम–बुबा र दिदी–बहिनीहरूको कारुणिक क्रन्दन के सिंहदरबारको बन्द कोठाभित्र पुग्ला ? के राज्यले यी निमुखा नागरिकलाई फेरि आफ्नै घर फर्काउन सक्ला ? प्रश्नहरू अनुत्तरित छन्, तर सडकमा न्यायको याचना अझै जारी छ । –न्युज एजेन्सी नेपाल

तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल