१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कटमा पर्दै पानीघट्ट बनाउने व्यवसाय



अ+ अ-

सल्यान । सिद्धकुमाख गाउँपालिका ३ फलाटेका पुने रेउलेले पानी घट्ट वनाउने काम गर्न थालेको ३७ वर्ष भयो । सोह्र वर्षका उमेरदेखि पानी घट्ट बनाउन व्यस्त रेउले आजभोलि फुर्सदिलो बन्नुभएको छ । एउटै खानीबाट ५० लाखभन्दा बढीका पानीघट्ट बिक्री गरेर आठ जनाको परिवारको खर्च टार्दै आउनुभएका सोही ठाउँका नरबहादुर रेउले पनि अहिले फुर्सदमा हुनुहुन्छ । घर नजीकैको ढुङ्गेखानीबाट पानीघट्ट र जाँतो बनाउन बिहानैदेखि व्यस्त हुने नरबहादुर मुश्किलले महिनामा दुईचार दिन मात्रै खानीमा आउनुहुन्छ ।

सल्यान, रोल्पा, रुकुम र जाजरकोटबाट समेत पानीघट्ट लिन आउनेहरु अहिले घटेका छन् । गाउँघरमा विद्युतीय मिलबाटै कुटानी पिसानीको काम हुन थालेपछि पानीघट्ट सङ्कटमा परेसँंगै घट्ट निर्माण पेशा पनि सङ्कटमा पर्न थालेको छ । बितेका तीनचार वर्षदेखि पानीघट्ट किन्ने मानिसहरु निकै कम आउने गरेको पुने बताउनुुहुन्छ । “मैले १६ वर्षको उमेरदेखि घट्ट बनाउन शुरु गरे त्यतिबेला एकजोडा घट्टको मूल्य ८ हजार रुपैयाँ थियो, काम पनि त्यत्तिकै आउँथ्यो, हामी २५ जनाले एउटै खानीमा काम गर्दा भ्याइनभ्याइ थियो अहिले छ महिनामा एकजोडा पनि बिक्री हुँदैन”, पुनेले भन्नुभयो ।

घट्ट बनाएरै आफ्ना छोराछोरीको पढाइ तथा खर्च टार्दै आउनुभएका नरबहादुर पनि घट्ट व्यवसाय सङ्कटमा परेपछि चिन्तित हुनुहुन्छ । “ कुनै बेला काममा भ्याइ नभ्याइ भयो, छोराहरुलाई पनि यही काममा लगाएँ तर अहिले पेशा मात्रै सङ्कटमा परेन, परिवारको आम्दानी पनि बन्द भयो ”, नरबहादुरले भन्नुभयो ।

फलाटेमा तीन ठाउँमा पानीघट्टको खानी रहेकाले यसको संरक्षण गर्न गाउँपालिकाले पनि चासो नदिएको खानी मजदूरको गुनासो छ । “यहाँको ढुङ्गा निकै बलियो भएकोले घट्टको माग पनि बढी नै थियो, न प्रचारप्रसार भयो न सरकारी निकायले कुनै चासो दियो ।” स्थानीयवासी पूर्णबहादुर रेउलेले भन्नुभयो । उहाँका अनुसार खानीबाट रु तीन करोड बढीका घट्ट बिक्री भइसकेको छ ।

अहिले एक जोडा घट्टको मूल्य रु २० हजारदेखि ६० हजारसम्म पर्ने पूर्णबहादुर रेउलेको भनाइ छ । “एक जोडा घट्ट निर्माण गर्न चारदेखि छ दिनसम्म लाग्छ तर अहिले पेशा सङ्कटमा परेपछि मानिस भारत तथा अन्य देशमा पलायन हुन थालेका छन्”, पूर्णबहादुरले भन्नुभयो ।
पानी घट्ट निर्माण व्यवसाय प्रचारप्रसार तथा व्यवस्थित गर्न सके गाउँमै स्वरोजगारको गतिलो माध्यम बन्न सक्ने भए पनि गाउँपालिकाले कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ । गाउँपालिकाले खानी व्यवस्थित गर्नका लागि माग नआएको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिनुभयो । “कुनै बेला मैले पनि घट्ट बनाउने काम गरेको हुँ, समस्या छ तर पनि के गर्ने भन्ने माग नै आएको छैन”, अध्यक्ष चलाउनेले भन्नुभयो ।

उहाँहरुले माग गर्न आएमा गाउँपालिका सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । “यहाँ पानी घट्ट बनाउने २५ जना छन् उहाँहरुले यसलाई व्यवस्थित गर्नका लागि ठोस योजनासहित माग गर्न आउनुभयो भने हामी सहयोग गर्न तयार छौं”, अध्यक्ष चलाउनेले भन्नुभयो । जलवायु परिवर्तनका कारण पानीका मुहान सुकेपछि घट्टसमेत कम हुँदै गएकाले माग घटेको हुन सक्ने अध्यक्षको भनाइ छ । “विभिन्न कारणले पानी घट्टको माग कम भएको हुन सक्छ, यसलाई बुझेर गाउँपालिकाले पनि योजना बनाउँछ”, अध्यक्ष चलाउनेले भन्नुभयो ।