१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

सूर्यलाई जल चढाउने ठाउँ यसरी बन्यो पर्यटकीय गन्तव्य

सूर्यलाई जल चढाउने ठाउँ यसरी बन्यो पर्यटकीय गन्तव्य
अ अ+ अ-

काठमाडाैँ । कुनै समय उदाउँदो सूर्यलाई अर्घ (जल) चढाउन साधुसन्त, लामागुरु र श्रद्धालुको घुइँचो लाग्ने इलामको श्रीअन्तु आज पूर्वी नेपालको व्यस्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । चार दशकको अवधिमा गौचरन र भैँसी चरन क्षेत्रबाट आधुनिक पर्यटकीय केन्द्रमा रूपान्तरण भएको अन्तुमा अहिले दैनिक औसतमा दुई हजारसम्म पर्यटक पुग्ने गरेका छन् ।

स्थानीय धनकुमार आलेका अनुसार विगतमा अन्तुडाँडामा अधिकांश मानिस धार्मिक उद्देश्यले आउँथे । उनीहरू कलशमा चोखो पानी बोकेर उदाउँदो सूर्यलाई अर्घ चढाउँथे र भाकल पूरा भएको विश्वास गर्दै फर्कन्थे । अहिले भने पर्यटक सूर्योदयको दृश्य हेर्ने, तस्बिर तथा भिडियो खिच्ने, अन्तुपोखरीमा घुम्ने र साङ्गीतिक मनोरञ्जनमा रमाउने उद्देश्यले आउने गरेका छन् ।

अन्तुमा पर्यटक आउन थालेको विसं २०४० को दशकबाट हो । तत्कालीन सांसद सरस्वती राई, भगवती दास (श्रेष्ठ) र सोमनाथ बाँस्तोला लगायतले संसद्मा अन्तुको पर्यटन विकासको विषय उठाएपछि तत्कालीन जिल्ला पञ्चायतले गेस्टहाउस निर्माणका लागि बजेट विनियोजन गरेको थियो । विद्युत् नपुगेको त्यसबेला लालटिनको उज्यालोमा पर्यटकलाई बास र खानाको व्यवस्था गरिन्थ्यो । स्थानीय धनकुमार आलेले २०५२ सालमा साधुसन्तलाई लक्षित गरी ‘पेइङ गेस्ट’ सञ्चालन सुरु गर्नुभएको थियो ।

सुरुमा रु २० मा खाना र बासको व्यवस्था गरिएको थियो । विसं २०५७ मा इलामबाट आएको पर्यटन प्रवर्द्धन टोलीले स्थानीयलाई घरबास (होमस्टे) सञ्चालनमा प्रोत्साहित गरेपछि अन्तुमा व्यवस्थित ग्रामीण पर्यटनको विस्तार हुन थालेको उहाँको अनुभव छ । पत्रकार तथा लेखक मोहन मैनालीले तीन दशकअघि देखेको अन्तु र अहिलेको अन्तुबीच ठूलो परिवर्तन आएको बताउनुभयो । उहाँका अनुसार पहिले गोरेटो बाटो, चियाबारी र सीमित घरमात्र रहेको गाउँ अहिले होटल, कटेज, सडक र पर्यटकीय पूर्वाधारले भरिएको सहरजस्तो बनेको छ । उहाँले स्थानीय अर्थतन्त्र पनि उल्लेख्य रूपमा चलायमान भएको बताउनुभयो ।

अन्तुको अर्को प्रमुख आकर्षण ‘अन्तुपोखरी’ हो । अहिले डुङ्गा सयर र ‘फिसिङ’का लागि चर्चित यो पोखरी चार दशकअघि भैँसी चरन क्षेत्रका रूपमा प्रयोग हुन्थ्यो । स्थानीय खगराज घिमिरेका अनुसार त्यतिबेला वरपर जङ्गल, सडक वा बस्ती थिएन र दिउँसै सुनसान हुने क्षेत्र अहिले रातभर उज्यालो रहने पर्यटकीय केन्द्रमा परिणत भएको छ । पोखरी संरक्षणको अभियान २०४० सालतिर सुरु भएको थियो । स्थानीयको सक्रियता र जिल्ला पञ्चायतको सहयोगमा पोखरी संरक्षण, पर्खाल निर्माण र पानी व्यवस्थापन गरियो । विसं २०५९ मा अन्तु पर्यटन विकास केन्द्र दर्ता भएपछि सरकारी बजेटबाट थप पूर्वाधार निर्माण भयो ।

त्यसपछि भारतको मिरिकबाट डुङ्गा ल्याएर बोटिङ सेवा सुरु गरिएको थियो । पछि कोलकाताबाट आफ्नै डुङ्गा खरिद गरियो । विसं २०६२/६३ तिर तत्कालीन सभामुख सुवासचन्द्र नेम्बाङले परेवा उडाएर पोखरीमा डुङ्गा सञ्चालनको औपचारिक शुभारम्भ गर्नुभएको थियो । अहिले डुङ्गा सेवा नगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ । सङ्घीयता कार्यान्वयनपछि सूर्योदय नगरपालिकाले अन्तुमा पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको छ । पूर्वनगरप्रमुख रणबहादुर राईका अनुसार अन्तुपोखरी, अन्तुडाँडा, सडक, पदमार्ग, प्रकाश व्यवस्था, सौन्दर्यीकरण र अन्य पूर्वाधार निर्माणमा करिब रु पाँच करोड खर्च गरिएको छ ।

यसअघि हिलाम्मे रहेका पदमार्ग, अव्यवस्थित भ्यूटावर र अपुग सडक पहुँचलाई व्यवस्थित बनाइएपछि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको उहाँले बताउनुभयो । हाल सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले अन्तु क्षेत्रमा सौन्दर्यीकरण, सडक ढलान, फुटट्रेल, घेराबारा तथा सडक विस्तारको काम गरिरहेको सब–इन्जिनियर प्रकाश चापागाईंले जानकारी दिनुभयो । अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेका अनुसार अहिले दैनिक करिब ८०० देखि दुई हजारसम्म पर्यटक अन्तु पुग्ने गरेका छन् । सङ्घमा आबद्ध होटल, कटेज र होमस्टे गरी ११० वटा तथा सामुदायिक होमस्टे ५० वटा छन्, जसमध्ये ३५ वटा नियमित सञ्चालनमा छन् । पर्यटन व्यवसायबाट करिब ३१० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

हाल अन्तुपोखरीमा चार वटा डुङ्गा सञ्चालनमा छन् । एउटा डुङ्गामा चार जना बस्न मिल्छ भने पोखरीको एक फन्को लगाउन प्रतिव्यक्ति रु ५० शुल्क लाग्छ । नगरपालिकाले यसबाट नियमित राजस्व सङ्कलन गर्दै आएको छ । अन्तुडाँडा सूर्योदय र सूर्यास्त अवलोकनका लागि विशेष परिचित छ । भदौ अन्तिमदेखि सुरु हुने झुल्केघामको मौसम पुस–माघ हुँदै वैशाखसम्म रहने गर्दछ । मौसम खुलेका दिन यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खला, कन्याम, झापा, दार्जिलिङ, मिरिक र सिलिगुडीको मनोरम दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

तराईका गर्मी क्षेत्र तथा भारतको पश्चिम बङ्गालबाट बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक अन्तु पुग्ने गरेका छन् । अध्ययन भ्रमणमा आउने विद्यार्थी समूहसमेत यहाँ नियमित आउने गरेका छन् । कार्यवाहक सूर्योदय नगरप्रमुख दुर्गाकुमार बरालका अनुसार नगरपालिकाले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि बढाइरहेको छ । अन्तु र कन्यामका साथै नगरपालिकाभित्रका अन्य प्राकृतिक, कृषि, धार्मिक, सांस्कृतिक तथा जैविक विविधतायुक्त क्षेत्रलाई पनि क्रमशः पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उहाँले बताउनुभयो ।