काठमाडौँ। वागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिग्राम जम्मरकट्टेलले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ ।
शनिवार काठमाडौंमा सातौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति सम्मान तथा व्यवसायी मजदुर सचेतना कार्यक्रममा बोल्दै उहाँले जनताले ठूलो आशा र भरोसाका साथ दुई–तिहाइको जनमत दिएपनि सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्नुभएको हो ।
पूर्वमुख्यमन्त्री जम्मरकट्टेलले पुराना राजनीतिक शक्तिहरूले काम गर्न नसकेको भन्दै नयाँ परिवर्तनको आशमा जनताले मतदान गरेको स्मरण गराउनु भयो ।
यद्यपि, वर्तमान सरकारको अवस्था निराशाजनक रहेको र यसले जनभावनाको कदर गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।
सरकारको आलोचना गर्दै उहाँले सरकार नागरिकलाई वर्गविभाजन गर्ने, थिचोमिचो गर्ने, धम्काउने र थुन्ने जस्ता दमनकारी कानून निर्माणमा तल्लीन रहेको बताउनु भयो । जिम्मेवार मन्त्रीहरूबाटै नागरिकको खुट्टा भाँचिदिने जस्ता धम्कीपूर्ण अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।
सुकुम्बासी व्यवस्थापनको सन्दर्भमा बोल्दै जम्मरकट्टेलले सरकारले उचित प्रक्रिया र विधिको पालना नगरेको बताउनु भयो । सुकुम्बासीहरूलाई जग्गाको पहिचान र लालपुर्जाको व्यवस्था नगरी जबर्जस्ती हटाएको बताउनु भयो ।
पूर्वमुख्यमन्त्री जम्मरकट्टेलले भन्नुभयो, ‘अहिले राजनीतिक अवस्था फेरिएको छ । जनताले दुई तिहाइको मत दिएर सरकारलाई पठाएका छन् । पुरानाले गरेनन्, अब नयाँले गर्छन् भन्ने विश्वासका साथ मत दिएका हुन् । केही गर्छन् होला भन्ने नयाँ आशा पनि थियो । तर सरकारको अवस्था राम्रो देखिँदैन । नेपाली जनताले जे सोचेर मतदान गरे, त्यसअनुसारको काम सरकारले गरेको देखिँदैन । आज वर्ग विभाजन गर्ने, थिचोमिचो गर्ने, धम्काउने, थुन्नेजस्ता कानुनहरू निर्माण गर्नेतर्फ सरकार लम्किरहेको छ । हामीले सरकारका मन्त्रीहरूबाट खुट्टा भाँचिदिन्छु भन्ने अभिव्यक्तिसमेत खुला रूपमा सुन्दै आएका छौँ । बसोवासको निश्चित व्यवस्था नगरी, आवश्यक प्रक्रिया पूरा नगरी सरकारले सुकुम्बासीको व्यवस्थापन गर्ने कुरालाई हामीले नराम्रो भनेका होइनौँ । तर जुन विधि अपनाइयो, जुन तरिका अपनाइयो, त्यो जबर्जस्तीपूर्ण देखियो । सरकार कहाँ छ ? यदि पुर्जा दिने, जग्गाको व्यवस्थापन गर्ने, पहिचान गरेर उचित रूपमा वितरण गरेको भए कति राम्रो हुन्थ्यो । तिनैले त हाम्रो व्यवस्थापन गर्छन् भनेर विश्वास गरी भोट हालेका हुन् । पानी पसेर बाढीका कारण जनताको बिजोग भइरहेको छ । खानसमेत नपाएको गुनासो आइरहेको छ । यस्तो अवस्था किन आइरहेको छ ? यस्ता थुप्रै विषय छन् । अहिले म धेरै कुरा तपाईंहरूको बीचमा राख्दिनँ । सरकारले राम्रो काम गरोस् । जनतालाई धम्काउने, तर्साउने, सबैलाई थुन्छु, ठोक्छु भन्ने भाषा प्रयोग गर्नु उचित होइन । सरकारले त्यस्तो भन्न मिल्दैन। सरकारले कानूनको कार्यान्वयन गर्ने हो, कानूनअनुसार काम गर्ने हो । तर अहिले सरकारका गतिविधिमा जताततै निरंकुश प्रवृत्ति देखिन थालेको छ ।’
सरकारले कानूनको कार्यान्वयन र विधिको शासन पालना गर्नुपर्नेमा जोड दिँदै पूर्वमुख्यमन्त्री जम्मरकट्टेलले जनतालाई तर्साउने र निरंकुश व्यवहार प्रदर्शन गर्ने कार्य सरकारका लागि शोभनीय नभएको बताउनु भयो । सरकार जताततै निरंकुश बन्दै गएको भन्दै उहाँले यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी समेत दिनुभयो । –न्युज एजेन्सी नेपाल











