२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालले मुलुकमा लोकतन्त्र र वामपन्थी आन्दोलनलाई गम्भीर धक्का पु¥याएको आरोप लगाउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारको कार्यशैली लोकतन्त्र विरोधी र फासीवादी राज्यतर्फ उन्मुख रहेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले सरकारले सुकुम्बासी बस्तीहरूमा डोजर लगाएर सर्वसाधारणलाई सास्ती दिएको र बालबालिकाहरूको विचल्ली बनाएको भन्दै आलोचना गर्नुभयो ।

सरकारको अहंकार र कार्यशैलीप्रति व्यङ्ग्य गर्दै ओलीले सरकारलाई ‘उम्लिएको दूध’ सँग तुलना गर्नुभयो । ओलीले मन्त्रीहरूमा उत्तरदायित्वको अभाव रहेको उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुखले समय माग्दा मन्त्रीको सचिवालयबाट ‘तल्लो तहसम्म भेट्दै हिँड्न फुर्सद छैन’ भन्ने जवाफ आउनुले सरकारको दम्भ प्रष्ट पारेको उहाँको भनाइ छ ।

आर्थिक र विकासका मुद्दामा केन्द्रित हुँदै पूर्वप्रधानमन्त्री ओलीले सरकारले बजेटमा केवल सतही कुरा मात्र गरेको र व्यवहारमा केही नदेखाएको टिप्पणी गर्नुभयो । दैलेखको ग्यास उद्योगको व्यावसायिक उत्खनन र प्रशोधन प्रक्रिया अगाडि नबढाउँदा मुलुकले दैनिक अर्बौँको आम्दानी गुमाइरहेको भन्दै उहाँले सरकारको अकर्मण्यताप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुलुकमा खुशी हुने कुनै ठाउँ छैन, जनता केवल अन्तर्राष्ट्रिय फुटबल हेरेर केही बेरका लागि खुशी हुनुपर्ने बाध्यता छ । दुई माना दूध एक पाथीको भाँडोमा तताउँदा उम्लिएर भरिएको जस्तो देखिए पनि त्यो वास्तवमा भरिएको होइन, उम्लिएको मात्र हो। अहिलेको सरकारको अवस्था पनि त्यस्तै छ, यसका खुट्टा भुइँमा छैनन् । हामीले शिलान्यास गरेका कामहरू उद्घाटन गर्न समेत यो सरकारलाई अप्ठ्यारो भइरहेको छ ।’

देशको वर्तमान अवस्था निराशाजनक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले सरकारमा कर्तव्यबोधको अभाव रहेको र यसले मुलुकलाई सही दिशामा लैजान नसक्ने जिकिर गर्नुभयो । –न्युज एजेन्सी नेपाल