१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्म र पर्यटनलाई जोड्दै मझुवागढी



अ+ अ-

खोटाङ। जिल्ला सदरमुकाम दिक्तेल बजारस्थित हाटडाँडाबाट सिढीँहरू चढ्दै करिब ४५ मिनेट उकालो पार गरेपछि पुगिन्छ मझुवागढी ।

प्राकृतिक सुन्दरतासँगै कालिका भगवती मन्दिर, बुधेश्वर महादेव मन्दिर (गुफा), किरातीहरूको ऐतिहासिकस्थल जस्ता ऐतिहासिक एवं धार्मिक महत्वका स्थलहरूले यहाँको महिमा र गरिमालाई अझै उचो बनाएका छन् ।

पैदलयात्रा गरी माथि पुगिसकेपछि भने हरियालीयुक्त भूगोलसँगै तीर्थस्थलका साथै यहाँबाट देखिने दिक्तेल बजारसहित वरपरको रमणीय दृश्यले जोकोहीलाई मोहित गराउँछ । पछिल्लो समयमा व्यवस्थित गर्दै लगिएका पूर्वाधारले पनि गढीसम्मको यात्रालाई थप व्यवस्थित बनाएको बुधेश्वर महादेव मन्दिरका पुजारी नवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ ।

विशेष गरी बालाचतुर्दशी, रामनवमी, शिवरात्रि, हरिबोधनी एकदशी, हरितालिका तीज लगायतका महत्वपूर्ण तिथिमिति र चाडपर्वमा यस क्षेत्रमा दर्शनार्थीहरूको ठूलो घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार हलेसी महादेव मन्दिर आउने अधिकांश दर्शनार्थी दिक्तेलमा आएर यहाँस्थित कालिका भगवती, बुधेश्वर महादेवको दर्शन तथा पूजाआजा गरेर फर्कने गरेका छन् ।

पुजारी घिमिरेका अनुसार दिक्तेल बजारको हाटडाँडा हुँदै माथि उकालो चढेपछि सुरुमा बुधेश्वर महादेव मन्दिर(गुफा) आउँछ । करिब ३० मिटर लामो यस गुफाभित्र विभिन्न देवीदेवताका प्रकृतिले कुँदिएका तस्बिर जस्ता आकृतिहरू अवलोकन गर्न सकिन्छ । गुफाभित्र ठूलै सङ्ख्यामा चमेराहरू पनि छन् ।

गुफाबाट केही माथि उक्लेपछि कालिका भगवतीको मन्दिर आउँछ । घिमिरेका अनुसार स्थानीय रणविर राई र वीरन्ची आचार्यले सपनामा यहाँ मन्दिर भएको देखेका थिए । उनीहरूलाई सामु कटुवाल भन्ने व्यक्तिले यो स्थान खोज्न सघाएको भन्ने किम्बदन्ती रहेको उहाँले जानकारी दिनुभयो ।

मनले चिताएको पुग्ने विश्वासका साथ मन्दिरमा दिक्तेलका साथै टाढाटाढाबाट भाकलसहित पूजाआजाका लागि भक्तजन आउने गरेका उहाँले बताउनुभयो । उहाँका अनुसार कालिका भगवती मन्दिरमा पूजा गर्ने विधि र प्रक्रियामा विभिन्न मौलिकता रहेका छन् ।

“कालिका भगवतीमा गरिने बलीपूजाका लागि २७ दिनदेखि तीन महिनाभित्रको पाठी मात्र प्रयोग गर्ने प्रचलन छ”, पुजारी घिमिरेले भन्नुभयो, “बलि दिइएको पाठीको रगत नौ वर्षभन्दा माथिका महिलाले टेक्न नहुने र प्रसादका रूपमा पनि ग्रहण गर्न नहुने परम्परा छ ।”

बलि दिइएको पाठीको मासु घरमा लैजान नहुने बताउँदै उहाँले पश्चिममा काँडे ओढार, दक्षिणमा गढी डाँडा, पूर्वमा सरने ओढार र उत्तरमा हाट डाँडाभित्र मात्रै पकाएर खानुपर्छ भन्ने प्रचलन रहेको जानकारी दिनुभयो । बलि दिइएको पाठीको मासु उक्त चार किल्लाभित्र खाएर नसकेकमा त्यही नै व्यवस्थापन गर्नुपर्ने तर घर लैजान नहुने परम्परा रहेको उहाँले बताउनुभयो ।

यहाँस्थित कालिका भगवती मन्दिरमा आचार्य थरका र बुधेश्वर महादेव मन्दिरमा घिमिरे थरका व्यक्तिहरूले पूजाआजा गर्दै आएका छन् । विसंं १६६३ देखि बुधेश्वर मन्दिरमा आफूहरूले विगत आठ पुस्तादेखि निरन्तर पूजाआजा गर्दै आएको घिमिरेले जानकारी दिनुभयो । “कालिका भगवती मन्दिरको केहीमाथि वनभोजस्थल छ । विशेष गरी वनभोजको याममा यहाँ ठूलै सङ्ख्यामा समूहसमूहमा मिलेर सर्वसाधारण बनभोजका लागि आउँछन्”, उहाँले भन्नुभयो ।

पछिल्लो समयमा यो क्षेत्र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनिरहेको कालिका भगवती मन्दिरका पुजारी युवराज आचार्यले बताउनुभयो । विशेष तिथिमितिका साथै पर्व विशेषमा मन्दिरमा ठूलै भीडभाड हुने गरेको जनाउँदै उहाँले मन्दिरमा एकैदिनमा ११३ वटा पाठी बलि दिइएको तथ्याङ्क रहेको उल्लेख गर्नुभयो ।

रमणीय वन जङ्गलसँगै गुराँस फुल्ने याममा यो क्षेत्र अझै रमणीय देखिने गरेको छ । जङ्गलको केही पर किरातीहरूको ऐतिहासिक मझुवागढी यहाँको अर्को आकर्षण हो । किराती राजा रणवीर राईले तत्कालीन समयमा राज्य सञ्चालन गर्दाका विभिन्न अवशेष यहाँ रहेको स्थानीयवासी बताउँछन् ।

पछिल्ला वर्षमा विभिन्न सेवा, पेसा र व्यवसायमा रहेका व्यक्तिसँगै विभिन्न उमेर समूहका व्यक्तिहरूको रोजाइमा मझुवागढी क्षेत्र पर्ने गरेको अर्का स्थानीयवासी भानुभक्त आचार्यले बताउनुभयो । यस क्षेत्रको प्रचारप्रसार गर्दै धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

मझुवागढीको प्रवर्द्धन र विकाससँगै यहाँको सौन्दर्यीकरणका लागि पछिल्ला वर्षमा सङ्घ, प्रदेश तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लगानी बढाइरहेका छन् । मझुवागढीलाई सांस्कृतिक विविधतामा आधारित विशिष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ यहाँ विभिन्न मूर्तिकारहरूले तयार गर्नुभएका मूर्तिहरू राख्ने तयारीसमेत गरिएको छ । रासस