१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै



अ+ अ-

काठमाडौँ। सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका चितवन रत्ननगरका सिमान्तकृत महिलाहरु पछिल्लो समय आत्मनिर्भर बन्दै गएका छन् ।

‘सिक्स डिग्रीज नेटवर्क फर वुमेन नेपाल’ले सीमान्तकृत महिलालाई अवसर, सीप र बजारसँग जोडिदिएपछि उनीहरु आत्मनिर्भर बन्न थालेका हुन् । संस्थाले सीमान्तकृत महिलालाई आत्मनिर्भर बनाउन सीप विकास, उद्यमशीलता र बजार पहुँचमा केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको छ । महिलालाई साबुन, लिप बाम लगायतका घरेलु उत्पादन निर्माणसँगै ड्राइभिङ, नेचर गाइड र निर्माणसम्बन्धी क्षेत्रमा तालिम दिँदै आएको संस्थाकी प्रतिनिधि श्रीला सरकारले जानकारी दिनुभयो ।

उहाँकाअनुसार संस्थाले तालिमपछि व्यवसाय शुरु गर्न आवश्यक प्राविधिक तथा आर्थिक सहयोग पनि संस्थाले उपलब्ध गराउने गरेको छ । महिलाहरुले उत्पादन गरेका साबुन र लिप बाम ‘हामी’ ब्राण्डअन्तर्गत बजारमा बिक्री वितरण भइरहेको छ । ‘हामी शक्ति’ ब्रान्डका साबुन नेपाली बजारका अतिरिक्त नेदरल्यान्डसम्म निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो । यसबाट विशेषगरी मुसहर, दलित तथा अन्य सीमान्तकृत समुदायका महिलाले प्रत्यक्ष रोजगारी र आम्दानीको अवसर पाएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संस्थाले आर्थिक रूपमा पछाडि परेका वा सीमान्तकृत महिलाहरूलाई आत्मनिर्भर बनाउनको लागि काम गर्छ । यो नेटवर्कको सिद्धान्त अनुसार संसारका जुनसुकै दुई व्यक्ति छ जना साथीको माध्यमबाट एक आपसमा जोडिन सक्छन् । हामी पनि त्यही सम्बन्ध र सञ्जालको शक्ति प्रयोग गरेर महिलाहरूलाई अवसर, सीप र बजारसँग जोड्छौँ । हाम्रो नेटवर्कले नेपालमा महिलाहरूलाई साबुन बनाउने घरेलु उद्योगदेखि लिएर परम्परागत रूपमा पुरुषले मात्रै गर्दै आएका कामहरू ड्राइभिङ, नेचर गाइड वा निर्माण सम्बन्धी सीप सिकाउने र उनीहरूलाई सानो लगानीमा व्यवसाय सुरुवात गर्न र आर्थिक, प्राविधिक सहयोग गर्छ । हाम्रो आफ्नै ‘हामी’ ब्रान्ड अन्तर्गत महिलाहरूले बनाएका उच्च गुणस्तरीय साबुन, लिप बाम उपलब्ध छन् ।’

उत्पादनको बजार विस्तारका लागि स्थानीय होटल व्यवसायी, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य बढाइएको उहाँले जानकारी दिनुभयो । पर्यटन क्षेत्र र स्थानीय बजारमा ‘हामी’ ब्रान्डका उत्पादनको बिक्री भएमा महिलाको आयआर्जन थप वृद्धि हुने उहाँले बताउनुभयो । संस्थाले आगामी दिनमा स्थानीय तह, निजी क्षेत्र र अन्य साझेदारसँग समन्वय गर्दै देशभर उत्पादनको विक्री वितरण विस्तार गर्ने रणनीति अघि बढाएको पनि उहाँले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल