२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल



अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा ५ दिन बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनुभएको छ ।

कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उहाँले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको उल्लेख गर्नुभएको हो ।

न्यायाधीश पौडेलले थुनुवा भएका मुद्दा, सार्वजनिक सरोकारका विवाद (पीआईएल) र मानाचामल जस्ता शिघ्र किनारा लगाउनुपर्ने ‘अग्रधिकार’ प्राप्त मुद्दाहरूको व्यवस्थापनमा कार्यबोझ बढेको स्वीकार गर्नुभयो ।

मुद्दाको प्रभावकारी व्यवस्थापनका लागि अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एशोसिएशन, महान्यायाधिवक्ता र प्रधानन्यायाधीशबीच नियमित छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । अत्यधिक कार्यबोझ र सिमित समयलाई संकेत गर्दै उहाँले छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने र खुट्टा छोप्दा टाउको देखिने जस्तै चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गर्नुभयो ।

पुराना मुद्दाहरूलाई छिटो फस्र्यौट गर्ने र प्राथमिकता प्राप्त मुद्दाहरूलाई न्यायोचित समयभित्रै टुङ्ग्याउन अदालत प्रतिवद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अग्राधिकार प्राप्त मुद्दाका सम्बन्धमा वास्तवमै यहाँले सही कुरा उठाउनु भयो । हामी यस विषयमा उत्तिकै चिन्तित छौँ । थुनुवाको मुद्दा प्राथमिकता दिनुपर्ने मुद्दा हो । सार्वजनिक हितको रिट पनि उत्तिकै जरुरी छ । त्यसैगरी, खान–लाउन नपाएको मान्छेको मुद्दा पनि उत्तिकै महत्त्वपूर्ण छ । अब कुनलाई प्राथमिकता दिने ? अहिले फेरि छ दिनबाट पाँच दिन भएपछि हाम्रो कार्यतालिका नै बिग्रिएजस्तो स्थिति भइरहेको छ । त्यसकारण हाम्रो मुद्दा व्यवस्थापन समितिमा छलफल गरेर, बारसँग समन्वय गरेर, महान्यायाधिवक्तासँग पनि छलफल गरी सम्माननीयज्यू स्वयं बसेर ‘ल, यसो गरौँ’ भनेर नियमित रूपमा छलफल भइरहेको हुन्छ । उखानै छ नि–‘छोटो लुगा माथि टाउकोतिर छोप्दा तल देखिने, तल छोप्दा माथि देखिने ।’ अहिले हाम्रो अवस्था पनि त्यस्तै भइरहेको हो । हाम्रो कार्यबोझ धेरै छ । त्यसलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न सकियो भने समस्या नहोला । तर अदालतले अग्राधिकार प्राप्त मुद्दालाई कसरी प्राथमिकता दिने, पुराना मुद्दा कसरी छिटो फस्र्योट गर्ने भन्ने विषयमा यहाँहरू जत्तिकै हामी पनि चिन्तित छौँ भन्ने कुरा म निवेदन गर्न चाहन्छु । यथार्थ समाचार यहाँले जति लेख्नुभयो, त्यति राम्रो हुन्छ । निर्ममतापूर्वक लेख्नुस्, तर हचुवाका भरमा ‘उसले लेख्यो, मैले पनि लेखौँ’ भन्ने शैलीमा नलेखिदिनुहोस् ।’

न्यायाधीश पौडेलले सञ्चारमाध्यमहरूलाई समाचार संप्रेषण गर्दा सत्यता र तथ्यपरकतामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । हचुवाका भरमा वा अरूको सिको गरेर भन्दा पनि यथार्थमा आधारित भई निर्भीक रूपमा समाचार लेख्न उहाँले सञ्चारकर्मीहरूलाई सुझाव दिनुभयो । –न्युज एजेन्सी नेपाल