२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरभित्र ८१ हजार रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान तिब्र पारिने



अ+ अ-

पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र करिव ८१ हजार १५५ रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ ।

महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जङ्गलसहितको विवरण संकलन गर्दा सो परिमाणमा सार्वजनिक जग्गा देखिएको उहाँले बताउनु भयो । प्रमुख आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका ल्ँीग् महानगरले विशेष अभियान शुरु गरेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ । सोही अवसरमा ट्रेड युनियन महासंघले आफ्नो स्वामित्वमा रहेको एक भवन पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । वि.सं. २०६७/६८ सालमा मजदुरहरूको श्रम र पारिश्रमिकको योगदानबाट करिव १ करोड ६५ लाख रुपैयाँको लागतमा निर्मित सो भवन सरकारी प्रयोजनका लागि उपयोगी हुने देखिएकाले महानगरले स्वामित्व ग्रहण गरेको हो ।

उहाँले भन्नुभयो, ‘विगतमा पोखरी, चौर र पाटनका नामले चिनिने पोखराका धेरै ऐतिहासिक स्थलहरू अहिले अस्तित्व संकटमा छन् । त्यस्ता ठाउँहरू के–कस्तो अवस्थामा छन् भन्ने खोजी गरी तिनको मौलिकता जोगाउने अभियानमा हामी लागेका छौं ।’

भवन हस्तान्तरणका क्रममा उठेका श्रमिकका सवालहरूलाई सम्बोधन गर्दै प्रमुख आचार्यले ट्रेड युनियनका मुद्दाहरू व्यवस्थापन गर्न महानगरपालिकामा छुट्टै ‘डेस्क’ स्थापना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले विगतमा विभिन्न संघ–संस्थालाई जग्गा र भवन उपलब्ध गराउने नीति रहे पनि वर्तमान अवस्थामा ती संरचनाहरूलाई सार्वजनिक हित र सरकारी काममा अधिकतम उपयोग गरिने स्पष्ट पार्नुभयो ।

महानगरले सार्वजनिक सम्पतीको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वंस गर्ने मात्र नभई तिनलाई सकारात्मक ढङ्गले उपयोग गर्ने नीति लिएको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल