३१ श्रावण २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ पहिरोमा परिएर एक जनाको मृत्यु निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध



अ+ अ-

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ ।

विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरेको हो ।

विभागका मौसमविद् सञ्जिव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भू–भागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिनमार्फत अनुरोध गरिएको बताउनुभयो ।

उहाँका अनुसार सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मिति यही ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । साथै सुदुरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।

प्रभावित जिल्लाहरू

विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरुमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुुपर्ने जिल्लाहरुमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु रहेका छन् ।

विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न पनि अनुरोध गरेको छ ।

विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउन भनेको छ ।

यस्तै नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ ।

विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ । रासस