७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालेखा परीक्षकको रिपोर्टमाथि सांसदहरुले उठाए प्रश्न



अ+ अ-

काठमाडौँ। संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले महालेखा परीक्षक कार्यालयको हालैको प्रतिवेदनमाथि प्रश्न उठाउनुभएको छ ।

सांसदहरुले लेखापरिक्षकको कार्यशैली र अडिट प्रणालीको प्रभावकारितामाथि समेत गम्भीर प्रश्न उठाउनु भयो । उहाँहरुले देशमा बेरुजु र भ्रष्टाचार बढ्दै गएको तर महालेखाको प्रतिवेदनले त्यसलाई रोक्न नसकेको भन्दै लेखापरिक्षकमाथि नै प्रश्न उठाउनुभएको हो ।

रास्वपाकै सांसद गणेश पराजुलीले ठूला परियोजनामा हुने अनियमितता अडिटले ठम्याउन नसकेको बताउनु भयो । उहाँले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लक्षित गर्दै संसदीय समितिले अध्ययन गर्दा पोखरामा १० अर्ब र गौतमबुद्धमा १३ अर्ब अनियमितता देखिने, तर महालेखाको प्रतिवेदनमा यो किन स्पष्ट देखिएन ? भनेर प्रश्न उठाउनु भयो । उहाँले  अडिट प्रणालीको कार्यक्षेत्र सीमित हो की  प्रक्रिया मात्रै हेरिएको हो ? त्यसबारे प्रश्न उठाउनु भयो ।

सांसद पराजुलीले भन्नुभयो–‘हाम्रो मुख्य लक्ष्य भनेको भ्रष्टाचारलाई शुन्यमा झार्ने हो । तर महालेखा परीक्षकको प्रतिवेदनले प्रत्येक वर्ष बेरुजु भएको तथ्य प्रस्तुत गरिरहे पनि भ्रष्टाचार न्यूनीकरण भएको अनुभूति भने हुन सकेको छैन । यदि अडिट प्रणाली प्रभावकारी रूपमा भ्रष्टाचार नियन्त्रणतर्फ उन्मुख भएको भए, आजसम्म भ्रष्टाचारको अवस्था धेरै हदसम्म घटिसकेको हुनुपर्ने थियो ।

तर वास्तविकता के छ भने भ्रष्टाचार पनि कम भएको देखिँदैन र बेरुजुको तथ्याङ्क पनि समग्रमा बढ्दो क्रममा नै छ, यद्यपि कतिपय वर्षमा केही घटेको देखिए पनि । त्यसैले प्रश्न उठ्छ— हामी कहाँ चुकिरहेका छौँ ? कुन प्रक्रियागत कमजोरीका कारणले यस्तो अवस्था दोहोरिइरहेको छ ? र ती कमजोरीहरूलाई कसरी रोक्न सकिन्छ ? बेरुजु घटाउने मात्र होइन, अडिटिङ प्रक्रियामार्फत भ्रष्टाचार नियन्त्रण कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विशेष चासो र बहस आवश्यक देखिन्छ ।

यस सन्दर्भमा एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा करिब २४ अर्ब ५८ करोड रुपैयाँ र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा करिब ३० अर्ब रुपैयाँ खर्च भएको हो । यी दुवै परियोजनामा भ्रष्टाचार र अनियमितता भएको भन्दै व्यापक चर्चा भयो ।

त्यसपछि संसद्को सार्वजनिक लेखा समितिले अध्ययन समिति गठन गरेर छानबिनसमेत गर्यो । उक्त अध्ययन प्रतिवेदनअनुसार पोखरा विमानस्थल निर्माणमा करिब १० अर्ब रुपैयाँ र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १३ अर्ब रुपैयाँ अनियमितता भएको उल्लेख गरिएको थियो ।

तर प्रश्न के उठ्छ भने, यति ठूलो परिमाणको अनियमितता महालेखा परीक्षकको प्रतिवेदनमा किन स्पष्ट रूपमा देखिएन ? यदि देखिएको छैन भने त्यसको कारण के हो ? संसदीय छानबिन समितिले हेर्दा ठूलो परिमाणको अनियमितता देखिने, तर अडिट प्रतिवेदनमा त्यस्ता विषय उल्लेख नहुनुको कारण के हो ? के अडिट प्रणालीको कार्यक्षेत्र सीमित छ ? वा अडिट प्रक्रियाले वित्तीय कागजात र प्रक्रिया मात्र हेर्छ, जबकि संसदीय समितिले नीतिगत, प्रक्रियागत र निर्णयगत पक्षसम्म गहिरो अध्ययन गर्छ ? यी विषयमा स्पष्टता आवश्यक छ । साथै, भविष्यमा यस्ता ठूला परियोजनामा हुने अनियमितता प्रारम्भिक चरणमै पत्ता लगाउन अडिट प्रणालीलाई अझ प्रभावकारी, प्रविधिमैत्री र जवाफदेही बनाउनेतर्फ ध्यान दिन जरुरी देखिन्छ ।’

एमाले सांसद ऐन महरले वित्तीय सुशासन कायम गर्ने निकाय आफैँ अपारदर्शी भएको बताउनु भयो । महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक खर्च ‘६५–७० करोड’ भनेर गोलमटोल भाषा प्रयोग गरेकोमा उहाँले आपत्ति जनाउनु भयो ।  वित्तीय अनुशासन सिकाउने निकायले नै यस्तो अनुमानित भाषा प्रयोग गर्नु राम्रो नभएको भन्दै सरकारी अधिकारीहरुको आलोचना गर्नुभयो ।

महरले भन्नुभयो–‘अब वित्तीय सुशासन कायम गर्ने मुख्य दायित्व महालेखा परीक्षकको कार्यालयकै हो, होइन र ? त्यसैले त्यहाँ प्रस्तुत गरिने तथ्यांक र विवरण पनि अत्यन्त स्पष्ट, तथ्यपरक र ठोस हुनुपर्छ । महालेखा परिक्ष कार्यालयले हाम्रो खर्च पनि ६५÷७० करोड छ भन्नुभयो । तर यस्तो अमूर्त ढंगले रकम प्रस्तुत गर्नु उपयुक्त हुँदैन । ६५ हो कि ७० हो, त्यो स्पष्ट हुनुपर्यो।

महालेखा परीक्षकको कार्यालयले ६५ करोड ३२ लाख २५ हजार ५२५ रुपैयाँ भनेर ठ्याक्कै तथ्यांक दिन सक्नुपर्छ । ६५, ७०, ७५ करोड भन्ने शैलीले त पाँच करोड रुपैयाँको फरक पनि सामान्यजस्तो देखिन्छ । पाँच करोड रुपैयाँ भनेको सानो रकम होइन ।

महालेखा परीक्षकजस्तो संवेदनशील र उत्तरदायी संस्थाले नै यस्ता अनुमानित वा गोलमटोल भाषा प्रयोग गर्दा राम्रो सन्देश जाँदैन । त्यसैले आफ्नो वार्षिक खर्चसमेत स्पष्ट र यथार्थपरक रूपमा प्रस्तुत गर्नुपर्छ । ६५ करोड २५ लाख ३२ हजार ५२५ रुपैयाँ भनेर ठोस रूपमा आउनुप¥यो । त्यो ‘पाँच करोड तलमाथि हुने’ प्रवृत्ति के हो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । वित्तीय अनुशासन कायम गर्ने निकायले नै यस्ता विषयमा अझ बढी संवेदनशील र स्पष्ट हुन आवश्यक छ ।’

नेकपा सांसद महेन्द्रबहादुर शाहीले बजेट निर्माण र कार्यान्वयनको कमजोरीले बेरुजु बढाएको बताउनु भयो । असारमा हतार–हतार काम गर्ने प्रवृत्तिले बेरुजु निम्त्याएको बताउनु भयो । समस्या पहिचान भइसकेपछि अब त्यसको न्युनिकरणका लागि ठोस कार्ययोजना आवश्यक रहेको बताउनु भयो ।

सांसद शाहीले भन्नुभयो–‘सबै कार्यालयहरूमा बेरुजु बढ्ने क्रम निरन्तर देखिएको छ । अब यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने अवस्था आएको छ । हालै लेखा परीक्षक कार्यालयले प्रस्तुत गरेको प्रतिवेदन तथा प्रस्तुतीकरणले पनि समस्या रहेको स्पष्ट देखाएको छ ।

विगतदेखि यस्तै प्रकृतिका प्रस्तुति हुँदै आएका छन्, जसमा समस्या कहाँ छ भन्ने पहिचानसमेत गरिएको पाइन्छ । समस्या पहिचान भइसकेपछि अब त्यसको न्यूनीकरणका लागि ठोस कदम चाल्नु आवश्यक छ । सुधार गर्नुपर्ने विषयहरूमा स्पष्ट सुझाव र प्रभावकारी कार्ययोजना अघि सार्न जरुरी छ । त्यसो गर्न सकिए दीर्घकालीन रूपमा बेरुजु समस्याको समाधानतर्फ जान सकिन्छ तर प्रत्येक वर्ष समस्या दोहोरिने, तर कार्यशैली भने यथावत् रहने अवस्था देखिन्छ ।

विशेषगरी बजेट निर्माण गर्दा कार्यान्वयन क्षमतालाई पर्याप्त रूपमा ध्यान नदिई बजेट विनियोजन गरिने गरेको पाइन्छ । योजना अनुसार समयमै काम सुरु नहुने र आर्थिक वर्षको अन्त्यतिर, विशेषगरी असार महिनामा हतार–हतार काम सम्पन्न गर्ने प्रवृत्ति बढ्दो छ । परिणामस्वरूप ‘असारे बजेट’ जस्तो अवस्था सिर्जना हुने गरेको छ । यस्तो हतारोमा गरिने योजना कार्यान्वयनले पनि बेरुजु बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले महालेखा परीक्षकसहित लेखापरिक्षकमाथि आक्रामक टिप्पणी गर्नुभयो । उहाँले लेखापरीक्षकहरूले सरकारी कार्यालयहरूको बदमासीलाई विभिन्न आवरणमा मिलाइदिने गरेको आरोप लगाउनु भयो ।

पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गर्न जाने टोली त्यहीँका ठेकेदारले व्यवस्था गरिदिएको होटलमा बसेको आरोप लगाउँदै  निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउनु भयो । । उहाँले अर्को पटक महालेखाको प्रतिवेदन ल्याउँदा केवल बेरुजुको अंक मात्र नभई, कति असुल भयो र कसलाई कारबाही गरियो भन्ने ठोस परिणामसहित आउन सचेत पार्नुभयो ।

सांसद् सुनारले भन्नुभयो–‘लेखापालहरूको बजारमा चार–पाँचवटा घर हुने, सरकारी कर्मचारीहरूको शहरभरि घरजग्गा जोडिने अनि राज्यकोष भने यसरी ध्वस्त बनाइरहने अवस्था स्वीकार्य हुन सक्दैन । तपाईंहरूले राष्ट्रपतिसमक्ष उभिएर महालेखा परीक्षकको ६३औँ प्रतिवेदन बुझाउनुभएको छ, तर प्रतिवेदनभित्र हेर्दा खरबौँ रुपैयाँ बेरुजु देखिन्छ ।

यो गर्व गर्ने विषय होइन, लाज मान्नुपर्ने विषय हो । अहिलेसम्म महालेखा परीक्षकको काम सम्बन्धित कार्यालयहरूले गरेका बदमासीलाई कानुनी प्रक्रियाको आवरणमा मिलाइदिने जस्तो मात्र देखिएको छ । त्यसैले अब महालेखा परीक्षकको कार्यालय स्वयं सुध्रिनुपर्छ । सम्बन्धित निकायले गरेका कमजोरी, अनियमितता र बदमासीलाई कसरी कानुनी रूपमा मिलाउने, कागज मिलाउने, आँखा चिम्लिने र आपसी समझदारीमा ढाकछोप गर्ने भन्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।

यस्ता गतिविधिले राज्यलाई ठूलो नोक्सानी पुगेको छ । अब यसप्रति गम्भीर बन्नुपर्ने बेला आएको छ । हामीले देखेका छौँ— पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार छानबिन गर्न जाने टोली अन्ततः त्यहीँ ठेकेदारले व्यवस्था गरिदिएको होटलमा बस्ने अवस्था छ । जुन निकायको परीक्षण गर्न गएको हो, त्यही पक्षसँग निकटता राखेर, उनीहरूकै सुविधामा बस्ने र घुम्ने प्रवृत्तिले निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ । अख्तियार वा अदालतजस्ता संस्थाले जस्तै महालेखा परीक्षकको कार्यालयले पनि स्वार्थ बाझिने अवस्था सिर्जना हुन दिनु हुँदैन ।

अब प्रश्न उठ्छ— यति ठूलो रकम असुल हुन बाँकी छ, त्यसको असुली कसरी हुन्छ ? के यो बजारमा चल्ने ‘असुली धन्दा’ शैलीमा हुने हो, वा स्पष्ट नीतिगत र कानुनी प्रक्रियाबाट हुने हो ? राज्यको पैसा फिर्ता ल्याउने स्पष्ट योजना र कार्यान्वयन देखिनुपर्छ ।

अर्को पटक प्रतिवेदन लिएर आउँदा केवल “यति बेरुजु छ” भनेर कागज देखाउने होइन, त्यसलाई घटाउन के गरियो, कसलाई कारबाही गरियो, कति रकम असुल भयो भन्ने ठोस परिणामसहित आउनुपर्छ । खरबौँ रुपैयाँ राज्यलाई घाटा पु¥याएर केवल औपचारिकता निभाउने प्रवृत्तिले देशको आर्थिक अनुशासन कायम हुन सक्दैन ।

आज नेपालको अवस्था यस्तो छ कि अन्तर्राष्ट्रिय जगतमा समेत लाज लाग्ने गरी ठूलो बेरुजुको भारी बोकेको छ । यस्तो अवस्थाबाट देशलाई बचाउन अब कठोर सुधार, पारदर्शिता र जवाफदेहिताको आवश्यकता छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले राष्ट्र गौरवका आयोजनाहरू वर्षौँसम्म लम्बिनु पनि भ्रष्टाचारकै एक रूप भएको बताउनु भयो । मेलम्ची खानेपानीको प्रसंग निकाल्दै उहाँले आयोजना सम्पन्न भए पनि जनताले पानी नपाउनु र वितरणमा विभेद हुनु दुःखद भएको बताउनुभयो । उहाँले सांसदहरूलाई आयोजनाहरुको ‘फिल्ड भिजिट’ गराउनुपर्नेमा समेत जोड दिनुभयो ।

सांसद रानाले भन्नुभयो–‘राष्ट्र गौरवका परियोजनाहरु पुरा हुन कैयौं वर्ष लागिरहेको छ । त्यसरी ढिलो हुनु भनेको पनि भ्रष्टाचार हो र कतिवटा सडकहरुमा रेडी भएको छ तर फेरि त्यहाँ पालिकाको मेयरहरुसँग कुरा नमिलेर त्यो पिच भएको पनि थाती रहेको छ ।

त्यसले पनि फेरि त्यो बनिसकेकोलाई फेरि पिच नलगाउँदा त्यो त खेर गयो नि । यसरी जुन पैसाहरु  खेर गइरहेको छ । यसलाई हामीले कसरी रोक्न सक्छौ ?  अब यो राष्ट्र गौरवका जुन परियोजनाहरु छ,  त्यस्तोहरुमा सांसदहरुलाई भिजिट गर्न लैजाने हो कि ? गएर हेर्ने, फिल्डमै गएर हेर्ने र किन यो ढिलो भइरहेको छ ?  अब जस्तो खानेपानी मेलम्चीकै कुरा गर्ने हो भने पानी त काठमाडौँमा आयो तर मान्छेको घरघरै पुगेको छैन, पाइपको कमीले । अब त्यही पनि पानी वितरणमा पनि विभेद भएको छ । यस्तो कुराहरु चाँडो हुनुप¥यो । अब १९९८ बाट सुरु भएको अहिले सम्म पनि पानी जनताले नपाउनु भनेको त त्यो राम्रो भएन ।’

बैठकमा सहभागी सांसदहरूले महालेखा परीक्षकको कार्यालयलाई केवल बेरुजुको तथ्याङ्क संकलन गर्ने निकाय मात्र नभई भ्रष्टाचार नियन्त्रणको प्रभावकारी संयन्त्र बन्न सुझाव दिनुभयो । अर्बौँको राज्यकोष दुरुपयोग भइरहँदा लेखापरीक्षण प्रणाली मौन बस्न नहुने उहाँको भनाइ थियो ।–न्युज एजेन्सी नेपाल