२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

मलेसियामा सुकलालका २१ वर्ष : १० वर्षदेखि परिवारसँग सम्पर्कविहीन, साढे ३ वर्ष जेल

मलेसियामा सुकलालका २१ वर्ष : १० वर्षदेखि परिवारसँग सम्पर्कविहीन, साढे ३ वर्ष जेल
अ अ+ अ-

कमाउन भनेर मलेसिया गएका सुकलाल सुनार  कागजपत्रविहीन भएपछि केही दिन काम गर्ने, बेरोजगार हुने क्रम चलिरह्यो । यस्तैमा उनी साढे ३ वर्षअघि पक्राउ परे र जेलबाट छुटेर २१ वर्षपछि घर फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिर छिन् नुवाकोटककी निरमाया सुनार । कालो माक्स लगाएर छेउमै उभिएका छन्— छोरा जीवन । दिउँसो ३ बजेतिर आगमन कक्षमा पुगेका उनीहरु विमानस्थलबाट बाहिर निस्कनेहरुको अनुहार नियालिरहेका छन् । features-1719398032.png

आगमन कक्षमै आफन्तको स्वागतमा उभिएकाहरुको हातमा पुष्पगुच्छा र खादा देखेपछि जीवन आमासँग कानेखुसी गर्छन्, “कस्तो एउटा खादा पनि बोकेर आइएनछ ।”

झन्डै साढे २ घण्टादेखि विमानस्थलबाट निस्कनेहरुको अनुहार नियालिरहेकी निरमायाको मोबाइलमा घरीघरी फोनको घण्टी बज्छ । निरमायाले फोन जीवनलाई दिन्छिन् । “रातो टिसर्ट लगाउनुभएको छ रे,” यो पटक फोनमा भएको कुराकानी उनी आमालाई सुनाउँछन् ।

“फोटो छ ?” जीवनले फोनमै सोध्छन्, “पठाउ न । म नेट कनेक्ट गर्छु ।”

हत्तपत्त फोन राखेर उनी मोबाइलमा डेटा खोलेर फेसबुक म्यासेन्जरमा पुग्छन् । म्यासेन्जरमा एउटा फोटो देखिन्छ  । जुन फोटो उनी आमालाई देखाउँछन् । रातो टिसर्ट र कट्टु लगाएको । पातलो शरीर भएको पुरुषको ।

विमानस्थलबाट बाहिरिइरहेका यात्रुको अनुहार हेरेर टट्टाइरहेका आमाछोराका आँखामा यो फोटो देखेपछि आँसु भरिन्छ त्यो आँसु भुइँमा झर्नुअघि नै उनीहरुले फोटोमा देखेको व्यक्ति हातमा प्लास्टिकको झोला बोकेर विमानस्थलको आगमन गेटबाट बाहिर निस्किन्छन् । उनी हुन्— नुवाकोटका सुकलाल सुनार ।

विमानस्थलमा स्वागत गर्न आउनेहरुको भीडलाई पछि पार्दै यी आमाछोरा यात्रु बाहिर निस्कने गेटमै पुग्छन् । उनीहरुलाई रोक्न विमानस्थलका सुरक्षाकर्मीले सिठ्ठी फुके पनि त्यो सिठ्ठीले यी आमा–छोराको वेगलाई रोक्न सक्दैन ।

विमानस्थलको आगमन गेटबाट भर्खरै निस्किएका सुकलाललाई अँगालो हाल्दै जीवन बोल्छन्, “म जीवन, तपाईँको छोरा । चिन्नुभयो ?”

निरमायाको मुहारमा बाबुछोराको मिलनले खुसी छाउँछ । उनी फुरुङ पर्दै छेउमा बसेर उनीहरुलाई नियालिरहन्छिन् । सँगै आएका उनका आफन्तका आँखा पनि यी बाबुछोराको अंकमाल हेरर रसाउँछन् । निरमायामा पनि गहभरी आँसु पार्दै यी बाबु छोरालाई नियालिरहन्छिन् ।

“तपाईँ विदेश जाँदा म यत्रो (घुँडामा हात पुर्‍याउँदै) थिएँ, यत्रो (दुवै जनाको टाउकोमा हात पुर्‍याउँदै) भएर भेट्न लेखेको रहेछ,” जीवनले भने, “मैले त भेट्ने आशा नै मारेको थिएँ ।”

जीवन सानै हुँदा वैदेशिक रोजगारीमा गएका सुकलाल २१ वर्षसम्म घर फर्किएका थिएनन् । जीवनले सोधे, “यत्रो वर्ष मलेसियामा के गरेर बस्नुभयो ड्याडी ?”

सुकलालको जवाफ लामो छ ।

कमाउन भनेर मलेसिया गएका सुकलालको कमाइ सुरुमा राम्रै थियो । फर्निचर कम्पनीमा काम गरेर घरमा पनि पैसा पठाएका थिए । तर पछि कम्पनीमा राम्रो गरेन । उनले तलब नै पाएनन् । तलब नपाएको कम्पनी छाडेर भागे । कागजपत्र कम्पनीमै थियो ।

उनी गएको नयाँ कम्पनीले केही महिना काम दिए पनि त्यसपछि उनी बेरोजगार भए । कागजपत्रविहीन भएका उनी केही दिन काम गर्ने, बेरोजगार हुने क्रम चलिरह्यो । यस्तैमा उनी साढे ३ वर्षअघि पक्राउ परे ।

“रासन लिन गएको बेला प्रहरीले पक्रियो,” सुकलाल स्मरण गर्छन्, “बाइक चढ्न लागेको थिएँ, ‘ए ए आइज’ भनेर बोलायो ।”

सुकलालको अनुसार उनी जहाँ सामान किन्न गएका थिए, त्यहाँ लागूऔषधको व्यापार पनि हुने गरेको रहेछ । व्यापार गर्ने केटाहरु भागेपछि प्रहरीले उनीसहितलाई पक्रेको थियो ।

“मेरो पिसाबमा केही दाग भएन क्या,” नुवाकोटको घर पुगेका सुकलाल आफन्तीलाई सुनाउँछन्, “पिसाबमा दाग भएको भए त गएको ।”

उनलाई प्रहरीले लागूऔषधको कारोबार स्विकार्न दबाब दिएको थियो । “तर म मानिनँ,” उनी भन्छन्, “पक्राउ पर्दा म खाली हात थिएँ, नगरेको काम किन स्विकार्ने ?”

तर पनि दूतावासले सहयोग नगरेका कारण आफू साढे ३ वर्ष जेल बस्नुपरेको र कोरा खानुपरेको उनी सुनाउँछन् । कागजातविहीन अवस्थाम पक्राउ परेर जेल सजाय भागेपछि सुकलाल मलेसियास्थित नेपाली दूतावासले बनाइदिएको ट्राभल डकुमेन्ट बोकेर नेपाल फर्केका थिए ।

त्रिभुवन विमानस्थलमा श्रीमती निरमाया र छोरा जीवनको साथमा सुकलाल । तस्बिर : सुफल काफ्ले/निमजिन

मलेसियामा भाेगेको कष्ट सुकलाल एउटा व्यक्तिको मात्र पीडा होइन— यो त विदेशमा पसिना बगाइरहेका हजारौं नेपाली कामदार र उनीहरूका परिवारको आशा र संघर्षको प्रतिनिधि पीडा हो । परिवारको सुखसयलको सपनामा वैदेशिक रोजगारीमा गएका कतिपय श्रमिकहरु कानुनी जटिलतामा फस्छन् र वर्षौँसम्म परिवारबाट बिछोडिनुपर्छ भन्ने उदाहरण हुन्– सुकलाल ।

प्रवासी नेपाली कोर्डिनेसन कमिटी (पीएनसीसी) र सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लम) ले सन् २०२४ मा सार्वजनिक गरेको ‘डिसेप्सन, एरेस्ट एन्ड डिटेन्सन अफ नेपाली माइग्रेन्ट वर्कर्स इन मलेसिया’ शीर्षकको अनुसन्धानले मलेसियामा जेल पर्नेमध्ये ६१ प्रतिशत कागजातसम्बन्धी कारणले जेल पर्ने देखाएको छ ।

सन् २०२० देखि २०२३ को बिचमा जेल परेर पीएनसीसीमा दर्ता भएका ७ सय ५८ जना जनाको घटना अनुसन्धान गरेर तयार पारिएको प्रतिवेदनअनुसार रोजगारदाताबाट भागेको वा रोजगारदाता परिवर्तन गरेका कारण ८० प्रतिशत कागजातविहीन भएका थिए ।

सुकलालले जेलबाट घर फर्कन पाए पनि परराष्ट्र मन्त्रालयको गत असोजको तथ्यांकअनुसार विदेशका जेलमा अझै १ हजार १ सय ७१ नेपाली छन् । मलेसियाका जेलमा मात्रै १ सय ६३ जना नेपाली छन् । जेल पर्ने र छुट्ने क्रम जारी रहने हुँदा यो संख्या केही फरक पर्न सक्छ । मलेसियाकै जेलमा घर फर्कने आशामा केही नेपाली रहेको सुकलाल बताउँछन् ।

पक्राउ नपरेको भए फर्किन्थे नेपाल ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भोलिपल्ट बिहान सुकलाल नुवाकोटको घर पुग्छन् ।  उनी बुढीआमा छोरो आउने बाटो हेरर बसिरहेकी थिइन् । छोरा भेट्नेबित्तिकै अँगालो हालेकी उनको छोरासँगको सुखदुःखका कुरा नसकिँदै आफन्त र छिमेकी घरमा भेला हुन्छन् ।

सबैको चासो छ — सुकलालले किन यत्तिका वर्ष घर सम्झेनन् ?

“अहिले चाहिँ कसरी सम्झ्यौ ?” आफन्त रामकुमार विश्वकर्मा सोध्छन्, “पुलिसले नपक्रेको भए त सम्झिँदैनथ्यो ?”

“सम्झिदैनथ्यो”, सहमतिमा मुन्टो हल्लाएका सुकलालले वाक्य पूरा नहुँदै आफ्नो भनाइ सच्याउँछन्, “सम्झिन्थेँ, किन नसम्झनु ?”

उनले सम्झन्छु भने पनि झन्डै १० वर्षदेखि उनले परिवारलाई सम्पर्क गरेका थिएनन् । निरमायाका अनुसार २०७२ सालको भूकम्पपछि (महिना याद नभएको) सुकलालले मलेसियाबाट पैसा पठाएका थिए । त्यसपछि उनी सम्पर्कमै रहेनन् ।

घर फर्किनुअघिको साढे ३ वर्ष जेलमा परे पनि त्यसअघिको साढे ६ वर्षसम्म उनले घर सम्झेनन् । नियमित काम नहुँदा घर पठाउने पैसा पनि नभएकाले सम्पर्क नगरेको उनी बताउँछन् । “भोलि पैसा होला, घरमा फोन पनि गरौँला र पैसा पठाउँला भनेर नि …” सुकलाल बीचमै रोकिन्छन् ।

घर, परिवार र आफन्तलाई सधैँ सम्झने गरेको उनी बताउँछन् । “राति अबेरसम्म परिवारका लागि प्रार्थना गर्थेँ,” उनी भन्छन् ।

नुवाकोटस्थित घरमा आमा हस्तिमायाका साथमा सुकलाल । तस्बिर : रजनीश भण्डारी/निमजिन

त्यसो त सुकलालले मलेसियामा जेल परेपछि परिवारसँग सम्पर्क गराइदिन त्यही जेलमा रहेका सिन्धुपाल्चोकका रोहित तिमिल्सिनालाई आग्रह गरेका थिए । “म छुटेर नेपाल आउने भएपछि उहाँ (सुकलाल) ले मेरो परिवार खोजिदिनू भनेर ठेगाना दिनुभएको थियो,” रोहित भन्छन्, “प्रयास गरेँ, तर पैसाको कारणले सफल हुन सकिनँ ।”

आफूले नसकेपछि रोहितले नै सुकलालका बारेमा श्रमिक सञ्जालमा जानकारी गराएका थिए । त्यसपछि श्रमिक सञ्जालले नुवाकोटको म्यागङ गाउँपालिकामा रहेको सुकलालको परिवार फेला पारेको थियो । “रोेहितजीले संघीयताभन्दा पहिलाको गाविसको ठेगाना ल्याउनुभएको थियो,” श्रमिक सञ्जालका हरिकृष्ण न्यौपाने भन्छन्, “धेरैतिरबाट बुझेपछि उहाँकी श्रीमतीसँग सम्पर्क भएको थियो ।”

परिवारसँग सम्पर्क भएकैले आफू घर फर्किएको र नयाँ जीवन पाएको सुकलाल बताउँछन् । सुकलालले आफूले जसरी कुनै नेपालीले पनि परिवारसँग सम्पर्कविहीन भएर बस्नु नपरोस् भन्ने कामना पनि गरेका छन् ।

तर सुकलाल घर फर्के लगत्तै उनकै जेठा छोरा जीवन विदेश जाने तयारीमा छन् । “दुबईबाट काकाले भिसा पठाइदिन्छु भन्नुभएको छ, अब मेडिकल गरेर म दुबई जाने हो ।”

कभर तस्बिर : विमानस्थलबाट बाहिर निस्किँदै सुकलाल । तस्बिर : रजनीश भण्डारी/निमजिन

यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो ।