२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदका सुझावलाई बजेटमा समेट्न सरकार प्रतिवद्ध छः अर्थमन्त्री डा. वाग्ले



अ+ अ-

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जायज सुझाव र चासोलाई बजेटमार्फत सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले यस्तो बताउनुभएको हो ।

बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नुपर्ने जनअपेक्षालाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो । ‘जेन–जी’ पुस्ताको आन्दोलन र त्यसपछिको निर्वाचनमार्फत प्राप्त करिब दुई तिहाइको जनादेश सुशासन र समृद्धिका लागि भएको बताउँदै उहाँले सोही भावनाअनुसार वैशाख २८ गते राष्ट्रपतिबाट प्रश्तुत नीति तथा कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभयो ।

छलफलका क्रममा सांसदहरूले उठाएका सीमा विवादको कूटनीतिक समाधान, आर्थिक कुटनीति, वैदेशिक रोजगारी व्यवस्थापन, आधुनिक कृषि प्रणाली, जलवायु परिवर्तन र सुशासन जस्ता विषयहरू मननयोग्य रहेको उहाँको भनाइ थियो ।

सांसदहरूले राखेका संशोधन प्रश्तावका विषयमा बोल्दै उहाँले सीमा विवाद समाधानका लागि टिङ्कर सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गरिने र गैरआवासीय नेपाली (एनआरएन) विकास कोषमार्फत वैदेशिक सहायता परिचालन गरिने जानकारी दिनुभयो । यस्तै उहाँले १६ औँ आवधिक योजना र मध्यमकालीन खर्च संरचनासँग नीति तथा कार्यक्रमको सामञ्जस्यता कायम गरिने बताउनु भयो ।

अर्थमन्त्रीले भन्नुभयो, ‘सांसदहरूले लिखित र मौखिक रूपमा राख्नुभएका धारणाहरूलाई सरकारले साझा दस्तावेजका रूपमा ग्रहण गरेको छ । उपलब्ध स्रोत र साधनको सीमाभित्र रही यी सुझावहरूलाई आगामी बजेटमा समावेश गर्न अधिकतम प्रयास गरिनेछ ।’

अर्थमन्त्री डा. वाग्लेले सहकारी समस्या समाधान, लैङ्गिक हिंसा न्युनिकरण, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, उखु किसानका समस्या र वन्यजन्तुबाट हुने कृषि क्षति नियन्त्रण जस्ता विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्नुभयो ।

साथै, हिमाली छुर्पीको ब्रान्डिङदेखि साइबर स्पेसका लागि स्पष्ट नीति ल्याउनेसम्मका विषयमा प्रतिपक्षी सांसदहरूले राखेका सुझावलाई सरकारले सकारात्मक रूपमा लिएको उहाँले बताउनु भयो ।

अर्थतन्त्रको संरचनामा आमूल सुधार गर्दै पूर्वाधार विकास र सामाजिक न्याय हासिल गर्न सरकार दृढ रहेको बताउँदै अर्थमन्त्रीले संघीय लोकतान्त्रिक शासन प्रणालीको मर्मअनुरूप स्थानीय र प्रदेश तहसँग समन्वय गरी कार्यक्रमहरू सञ्चालन गरिने स्पष्ट पार्नुभयो ।

उहाँले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै राजनीतिक दलहरूसँग रचनात्मक सहकार्यको अपिलसमेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल