१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै
अ अ+ अ-

काठमाडाैँ । जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घट्ना बढ्दै गएका छन् । पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै १० ठूला विपद्का घट्ना भएका छन् ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार हिन्दूकुश क्षेत्रका आठ देशमध्ये भारत, नेपाल, बङ्गलादेश र भुटानले सन् २०२५ मा १० भन्दाबढी ठूला विपद्का घटना सामना गरेका थिए । यसले उक्त क्षेत्रको विपद्सम्बन्धी जोखिमप्रतिको बढ्दो संवेदनशीलतालाई उजागर गरेको छ । तथ्याङ्कले म्यानमार, पाकिस्तान र चीनमा पनि सन् २०२५ मा मनसुनजन्य बाढीको शृङ्खला देखिएको छ । जसले पूर्वाधार र जीविकोपार्जनमा व्यापक क्षति पु¥याएको उल्लेख गरेको छ ।

त्यस्तै, सन् २०२५ मा विश्वव्यापी रूपमा भएका विपद्मध्ये ठूलो हिस्सा एसियामा परेको थियो । यसको प्रभाव दक्षिण तथा पूर्वी एसियाका भाग समेटिएका हिन्दूकुश क्षेत्रमा पनि देखिएको छ । उक्त तथ्याङ्कअनुसारले यस क्षेत्रका देशले सन् २०२४ मा मात्र यस्ता घटनाबाट छ अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक क्षति व्यहोरेका थिए । जसमा अधिकांश क्षति बाढी, पहिरो र आँधीजस्ता पानीजन्य विपद्सँग सम्बन्धित छन् । यो अवस्था सन् २०२५ मा पनि जारी रह्यो ।

तीव्र मनसुनी वर्षाले बङ्गलादेश, भारत, नेपाल, पाकिस्तानलगायत हिन्दूकुश क्षेत्रका विभिन्न देशमा पटकपटक बाढी र पहिरो निम्त्यायो । हिमताल विस्फोटजन्य बाढीजस्ता अन्य विपद्का घटना पनि केही स्थानमा रिपोर्ट गरिएका थिए । यस वर्षभरी क्षेत्रभर करिब १२ लाख नागरिक विस्थापित भए वा प्रत्यक्ष रूपमा विपद्बाट प्रभावित भएको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष विषद्बाट १६९ अर्ब अमेरिकी डलर क्षति

विश्वव्यापी रूपमा सन् २०२५ मा विपद्सम्बन्धी आर्थिक क्षति १६९ अर्ब अमेरिकी डलरभन्दा बढी भएको अनुमान गरिएको थियो ।

यसको तुलनामा हिन्दूकुश हिमालय क्षेत्रमा अभिलेखित क्षतिले जटिल भू–भौगोलिक संरचना र उच्च जोखिमयुक्त अवस्थाले चरम मौसमीय घटनालाई कसरी असमान रूपमा गम्भीर प्रभावमा परिणत गर्छ भन्ने देखाएको छ । अनुसन्धानकर्ताले हिमालय क्षेत्रमा विपद्को बढ्दो प्रभावलाई बहुविपद् घटनाको बढ्दो प्रवृत्तिसँग जोडेका छन् । बहुविपद् भन्नाले बाढी, पहिरो वा खडेरीजस्ता एकभन्दा बढी प्रकारका विपद् एउटै समयमा हुने वा एउटा विपद्ले अर्को विपद् निम्त्याउने अवस्थालाई जनाउँछ । इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले हालका वर्षले पर्वतीय क्षेत्रमा बाढी, पहिरो तथा अन्य विपद् बढ्दो रूपमा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले घर, पूर्वाधार र अत्यावश्यक सेवामा हुने क्षतिलाई अझ बढाइरहेको छ ।”

यस क्षेत्रका विगतका उदाहरणमा सन् २०१३ मा उत्तराखण्डको केदारनाथ बाढी, भारतको सिक्किममा सन् २०२३ मा भएको दक्षिण ल्होनाक हिमताल विस्फोटजन्य बाढी, तथा नेपालमा सन् २०२१ मा आएको मेलम्ची बाढी समावेश छन् । सन् १९७५ देखि २०२४ सम्मको दीर्घकालीन तथ्याङ्कले भने सन् २०१३ पछि हिन्दूकुश हिमालय क्षेत्रमा विपद्का कारण हुने मृत्यु दर र प्रभावित नागरिकको सङ्ख्यामा कमी आएको देखाएको छ । विश्लेषकहरूले पूर्वतयारी र प्रारम्भिक चेतावनी प्रणालीमा सुधार यसको कारण हुनसक्ने उल्लेख गरेका छन् ।

जलविज्ञ मनिष श्रेष्ठले विपद्का घट्ना बढ्नु चिन्ताजनक भए पनि सन् २०१३ पछिको प्रवृत्तिले यस क्षेत्रमा विपद्बाट बर्सेनि कम नागरिक प्रभावित भइरहेको सङ्केत गरेको उल्लेख गर्नुभयो । “यसले हिन्दूकुश क्षेत्रका केही भागमा राम्रो जलवायु सेवा र पूर्वतयारीलाई प्रतिविम्बित गर्न सक्छ”, उहाँले भन्नुभयो, “जोखिम निरन्तर बढिरहेकाले पूर्वतयारी र योजनामा निरन्तर लगानी आवश्यक छ ।”

नेपालको पूर्वी क्षेत्रमा सन् २०२४ मा खाँदो नदी किनारमा रहेको बाढी प्रारम्भिक चेतावनी प्रणालीबाट जारी गरिएको सूचनाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करिब ६० हजार नागरिकलाई सचेत गराउन र सुरक्षित स्थानमा सार्न सहयोग गरेको थियो । इसिमोडका जलविभाग प्रमुख निरा श्रेष्ठ प्रधानले आफूहरुले बाढी प्रारम्भिक चेतावनी प्रणालीबारे समुदायको अपनत्व र सहभागिताका लागि निरन्तर पैरवी गर्दै आएको बताउनुभयो । “यी प्रणाली कम लागतका छन्, लगभग वास्तविक समयमा सूचना प्रदान गर्छन् र तिनको सञ्चालन तथा मर्मतका लागि सीमित बजेट मात्र आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “अझ महत्वपूर्ण कुरा, यस्ता प्रणालीहरूले पटकपटक प्रमाणित गरेका छन् कि स्थानीय नेतृत्वमा गरिने अनुकूलनका लागि स्थानीय आवश्यकता र सन्दर्भअनुसारका समाधान आवश्यक हुन्छन् ।”

विशेषज्ञले जलवायु परिवर्तनले मौसमीय ढाँचामा परिवर्तन ल्याउँदै चरम घटनाको आवृत्ति र तीव्रता बढाइरहेकाले आगामी वर्षमा बहु–विपद् जोखिम अझ बढ्ने सम्भावना रहेको चेतावनीसमेत दिएका छन् । हिन्दूकुश हिमालय क्षेत्र एसियाभर तीन हजार ५०० किलोमिटर क्षेत्रमा फैलिएको छ । यसमा अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान गरी आठ देश समेटिन्छन् । उच्च हिमाली पर्वतशृङ्खला, मध्यपहाडी क्षेत्र तथा तराई–मैदान समावेश भएको यो क्षेत्र करिब दुई अर्ब नागरिकको खाद्य, पानी र ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ । यो क्षेत्र असङ्ख्य दुर्लभ तथा अपरिवर्तनीय जीवजन्तु र वनस्पतिको बासस्थान पनि हो । यो क्षेत्र जलवायु परिवर्तन, प्रदूषण तथा जैविक विविधताको क्षतिले अत्यधिक जोखिममा छ ।