२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थालेको महामन्त्री सिंहको दाबी



अ+ अ-

काठमाडौँ। नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थालेको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा आयोजित संविधान संशोधन बहस कार्यक्रममा बोल्दै उहाँले संविधान संशोधन राष्ट्रिय आवश्यकताभन्दा पनि शासक वर्गको निहित स्वार्थ र सत्ता टिकाइराख्ने दाउपेचबाट प्रेरित रहेको आरोप लगाउनुभएको हो ।

महामन्त्री सिंहले देशको ऐतिहासिक आवश्यकता र जनताको हितका लागि संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै अहिलेको सरकारले फासिस्ट स्वरूपलाई संस्थागत गर्न संशोधनको बाटो रोजेको दाबी गर्नुभयो ।

संविधान संशोधन नेपालको आन्तरिक विषय भएपनि यस प्रक्रियामा विदेशी शक्तिहरूको चलखेल देखिनु अवाञ्छित र गम्भीर रहेको उहाँको ठहर छ ।

नेपालको आन्तरिक मामिलामा हुने वैदेशिक हस्तक्षेपले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठाएको सिंहले उल्लेख गर्नुभयो । करिब एक शताब्दी लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिहरूलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशको राष्ट्रिय आवश्यकताअनुसार संविधानको निर्माण वा संशोधन हुनुपर्ने हो, तर कतिपय अवस्थामा शासक वर्गले आफ्ना स्वार्थ अनुकूल कानुन निर्माण गर्ने गर्छन् । अहिलेको सरकारले फासिस्ट रूप लिँदै गएको छ र त्यसैलाई पूर्णता दिन संविधान संशोधन गर्न थालिएको त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।’

प्राप्त लोकतान्त्रिक र वामपन्थी उपलब्धिहरूको रक्षाका लागि देशका सबै प्रजातान्त्रिक र वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने समय आएको उहाँको भनाइ छ ।—न्युज एजेन्सी नेपाल