२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेट आकार र आकर्षक नारामा केन्द्रित नभई सुधार र नतिजा देखिने गरी रुपान्तरणकारी ढङ्गले आउनुपर्ने बताउनुभएको छ ।

आगामी आव २०८३/८४ को बजेटका लागि पृष्ठपोषण हुनेगरी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको नीतिगत छलफल कार्ययममा पूर्वअर्थमन्त्री खनालले नतिजा केन्द्रित बजेट विनियोजना हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । विगतका बजेटहरू आकार, वितरण र लोकप्रिय घोषणामा सीमित भएका उल्लेख गर्दै उहाँले अबको बजेटले ठोस् नतिजा दिनुपर्ने धारणा राख्नुभयो ।

पूर्वअर्थमन्त्री खनालले आफ्नै संस्थागत तथा वित्तीय क्षमताको यथार्थ मूल्याङ्कन गरेर मात्र लक्ष्य निर्धारण गर्न सरकारलाई सुझाव दिनुभयो । महत्वाकाङ्क्षी लक्ष्य आवश्यक भए पनि कार्यान्वयन क्षमताभन्दा बाहिरको लक्ष्य निर्धारणले नकारात्मक असर पार्नसक्ने उहाँको भनाइ छ । अघिल्ला सरकारले सुरु गरेका सकारात्मक, सुधार र प्रतिबद्धतालाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारले हालै कानुनविपरीत लिइँदै आएका सेवा–सुविधा कटौती गर्ने निर्णयलाई सकारात्मक कदमका रूपमा उल्लेख गर्दै पूर्वअर्थमन्त्री खनालले वित्तीय अनुशासनमा कडाइ गरिँदा त्यसले सकारात्मक सङ्केत दिन थालेको बताउनुभयो । “मितव्ययिताका सवालमा अनुशासनको सुरुआत भएको छ, यसलाई निरन्तरता दिन जरुरी छ”, उहाँले भन्नुभयो ।

सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्यबारे पूर्वअर्थमन्त्री खनालले आगामी पाँच वर्षमा औसत सात प्रतिशतको वृद्धि हासिल गर्ने सरकारी योजना महत्वाकाङ्क्षी रहेको उल्लेख गर्नुभयो । यस्तो लक्ष्य हासिल गर्न ठूलो लगानी, स्रोत व्यवस्थापन र नीतिगत स्थायित्व आवश्यक पर्ने उहाँको भनाइ छ । साथै, प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पु¥याउने लक्ष्य पनि चुनौतीपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने सन्दर्भमा पनि सरकार गम्भीर हुनुपर्नेमा पूर्वअर्थमन्त्री खनालले जोड दिनुभयो । विशेषगरी जलविद्युत् क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाउन जग्गा मुआब्जा, अनुमति प्रक्रिया र प्रशासनिक जटिलता समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।

कर नीतिमा स्थायित्वको अभावले निजी क्षेत्रको मनोबल कमजोर बनाएको उल्लेख गर्दै खनालले कम्तीमा आगामी १० वर्षसम्म कर दर स्थिर रहने स्पष्ट प्रतिबद्धता सरकारले दिनसके लगानी गर्ने वातावरण सुधार हुने बताउनुभयो । नेपालको कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा कर राजस्वको अनुपात उच्च रहेको उल्लेख गर्दै व्यवहारिक कर संरचनाका कारण वैदेशिक व्यापारमा अपचलन देखिएको उहाँको विश्लेषण छ ।

आन्तरिक उत्पादन वृद्धि र आयात नियन्त्रण आवश्यक भए पनि करका दर बढाएर मात्र यो लक्ष्य हासिल गर्न खोज्दा प्रत्युत्पादक परिणाम आउन सक्ने पूर्वअर्थमन्त्री खनालको धारणा छ । रोजगारी सिर्जनाको लक्ष्य पनि महत्वाकाङ्क्षी रहेका भन्दै उहाँले त्यसका लागि आन्तरिक लगानी वृद्धि अपरिहार्य रहेको बताउनुभयो ।

खनालले वर्तमान सरकारले कामलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले अघि बढ्नुपर्ने बताउँदै प्रशासकीय सङ्घीयतालाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, निजी क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धामा आधारित भएर अघि बढ्न आग्रह गर्नुभयो ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयनतर्फ सरकार अग्रसर रहेको उल्लेख गर्दै पूर्वअर्थमन्त्री खनालले विगतका अध्ययन र सुधार सिफारिसहरूलाई व्यवहारमा उतार्ने प्रतिबद्धता स्वागतयोग्य रहेका बताउनुभयो ।

कार्यक्रममा सेजनका अध्यक्ष भागवत भट्टराईले आगामी बजेट कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।  रासस