काठमाडौँ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानसँग जारी सैन्य द्वन्द्वमा हालसम्म करिव २५ अर्ब अमेरिकी डलर खर्च भइसकेको जनाएको छ ।
दुई महिनादेखि जारी यस युद्धको आर्थिक भारका बारेमा पेन्टागनका एक वरिष्ठ अधिकारीले बुधवार सार्वजनिक जानकारी दिनुभएको हो ।
पेन्टागनका कार्यवाहक कन्ट्रोलर जुल्स हस्र्ट तृतीयले ‘अपरेशन एपिक फ्युरी’ अन्तर्गत उक्त रकम खर्च भएको पुष्टि गर्नुभयो । उहाँकाअनुसार खर्च भएको ठूलो हिस्सा गोलाबारुदमा खर्च भएको छ ।
हस्र्टले द्वन्द्वको पूर्ण लागत मूल्याङ्कन गरिसकेपछि ह्वाइट हाउसमार्फत अमेरिकी कंग्रेसमा थप बजेट (सप्लिमेन्टल) को प्रश्ताव लगिने समेत जानकारी दिनुभयो ।
यसअघि सार्वजनिक भएका प्रतिवेदनहरूकाअनुसार, ट्रम्प प्रशासनले युद्ध शुरु भएको पहिलो ६ दिनमै ११.३ अर्ब डलरभन्दा बढी खर्च गरेको जानकारी मार्च ११ मा सांसदहरूलाई गराइएको थियो ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले सैन्य आक्रमण शुरु भएयता पहिलो पटक सार्वजनिक सुनुवाइमा भाग लिँदै रक्षा बजेटको बचाउ गरेका छन्।
सुनुवाइका क्रममा सत्तारुढ रिपब्लिकन सांसदहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य कदमको समर्थन गरेका थिए भने विपक्षी डेमोक्र्याट सांसदहरूले युद्धको रणनीति र यसले सर्वसाधारणको जीवनस्तरमा पार्ने प्रभावका बारेमा कडा प्रश्न उठाएका थिए ।
डेमोक्र्याटहरूले तिब्र रूपमा बढ्दै गएको युद्धको लागत, गोलाबारुदको घट्दो भण्डार र अमेरिकी नागरिकको बढ्दो महँगीका बारेमा रक्षा सचिवसँग जवाफ मागेका थिए ।
रक्षा सचिव हेगसेथले यी आलोचनाहरूलाई ‘राजनीति प्रेरित’ भन्दै पन्छाउनुभएको थियो । उहाँले यो युद्ध कति समयसम्म चल्छ वा यसको अन्तिम लागत कति पुग्छ भन्ने प्रश्नको ठोस जवाफ दिन अस्वीकार गर्नुभयो ।
यसैबीच, रक्षा सचिव हेगसेथले आर्थिक वर्ष २०२७ का लागि प्रश्तावित १.५ ट्रिलियन डलरको कीर्तिमानी रक्षा बजेटको प्रतिरक्षा गर्नुभएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल











