• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

प्रचण्ड ६० सदस्यीय टोली लिएर १० दिने भ्रमणका लागि चीन जाने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको भाइचारा सम्बन्धलाई नयाँ उचाइका साथ अघि बढाइने भएको छ । सत्तारूढ नेकपाले दुई पार्टीबीचको भाइचारा सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन अध्यक्षकै नेतृत्वमा पार्टीको उच्चस्तरीय भ्रमण टोली चीन पठाउने भएको हो । सोहीअनुसार (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ६० सदस्यीय टोली लिएर १० दिने भ्रमणका लागि चीन जाने कार्यक्रम तय गरिएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा दाहाललगायतको टोली २४ मंसिरमा चीन जाँदै छ । नेकपा स्कुल विभागको समन्वयमा हुने दाहालको चीन भ्रमण टोलीमा पार्टी स्थायी कमिटीका नेताहरूको समेत सहभागिता हुनेछ । भ्रमणमा १० भन्दा बढी स्थायी समितिका सदस्यहरू सहभागी हुने जनाइएको छ । दाहाल तीन दिन मात्रै चीनमा बस्ने र भ्रमण टोलीका बाँकी सदस्यहरू १० दिनसम्म बस्ने बताइएको छ । चिनियाँ राष्ट्रपति सीको हालै सम्पन्न नेपाल भ्रमणपश्चात् नेपाली टोलीको यो भ्रमण उच्चस्तरीय रहेको छ ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलका क्रममा अध्यक्ष दाहाललाई चीन भ्रमणको निम्तो दिएका थिए । दुई महिनाअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले काठमाडौंमा सी विचारधाराबारे छलफल गरेका थिए । त्यसक्रममा दुई कम्युनिस्ट पार्टीबीच भाइचाराको सम्बन्ध स्थापना गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार यो भ्रमण तय भएको नेकपा स्कुल विभागका उपप्रमुख वेदुराम भुसालले बताए ।

दाहाल नेतृत्वको भ्रमण टोलीमा स्थायी समिति सदस्य भीम रावल, टोपबहादुर रायमाझी, रघुजी पन्तसहित नेताहरूका साथै प्रेम आले, यज्ञराज सुनुवार, भानुभक्त जोशीलगायतका नेताहरू रहनेछन् । भ्रमणटोलीमा पार्टीका केन्द्रीय सदस्य र केही जिल्ला अध्यक्ष रहने बताइएको छ ।
यसैबीच नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल टर्की र मेसोडोनियाको भ्रमण गरी शनिबार स्वदेश फर्किएका छन् ।

टर्कीको इस्तानबुलमा आयोजित ‘दसौं बोस्फोरस सम्मेलन’ मा सहभागी हुन उनी ६ मंसिरमा त्यसतर्फ प्रस्थान गरेका थिए । टर्कीपछि उनी मेसोडोनिया गएका थिए । मेसोडोनियामा रहँदा उनले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । टर्कीमा भएको सम्मेलनमा गत शनिबार उनले नयाँ विश्व व्यवस्था, मानव केन्द्रित विकास, प्रविधि र सुशासनका विषयमा सम्बोधन गरेका थिए ।

टर्कीका राष्ट्रपतिको निमन्त्रणामा उनी त्यसतर्फ गएका थिए । सम्मेलनमा विश्वका विभिन्न देशका पूर्वसरकार प्रमुखको सहभागिता रहेको थियो । मेसोडोनियामा उनी बालकोन विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा सहभागी भएका थिए । राजधानी दैनिकबाट