• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

उपनिर्वाचन: कहाँ–कहाँ कसले जिते ? (सम्पुर्ण सूचीसहित)



काठमाडौं । निर्वाचनपछि विभिन्न कारणले रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा शनिबार उपनिर्वाचन भएकामा कतै पहिले जितेका दलले पराजय भोगेका छन् भने कतै पहिले पराजित भएका दलले जितेका छन् । आइतबार साँझसम्म प्राप्त मत परिणामअनुसार २०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जितेका ६ स्थानीय तहअन्तर्गतका वडाको उपनिर्वाचनमा नेकपाले जितेको छ । यस्तै, नेकपाले जितेका ६ वटा वडा र एउटा प्रदेशमा कांग्रेसले जित हात पार्दै परिणाम उल्टाएको छ ।

भक्तपुर १ ‘क’ मा यसअघि भएको निर्वाचनमा नेकपाका हरिशरण लामिछाने निर्वाचित भएकामा उपनिर्वाचनमा भने कांग्रेसका कृष्णलाल भँडेल निर्वाचित भएका हुन् । भँडेल १३ हजार ४ सय ४९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकाल ११ हजार २ सय ६ मत ल्याएर पराजित भएका छन् । २०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जित हात पारेको बाजुराको त्रिवेणी १ मा उपनिर्वाचनको परिणाम नेकपाको पोल्टामा परेको छ । सो स्थानमा नेकपाका मनराज बुढा विजयी भएका हुन् ।

यस्तै, अछामको मल्लेख गाउँपालिका–५ मा पनि नेकपाका रमेशबहादुर खड्का निर्वाचित भएका छन् । सो वडामा अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो । उपनिर्वाचनमा भने खड्काले ७ सय ७८ मत प्राप्त गरेर जितेका हुन् । यसैगरी, बाँकेको कोहलपुर–६ मा पनि नेकपाले नतिजा उल्टाएको छ । शनिबार सम्पन्न उपनिर्वाचनबाट नेकपाका रामशरण थारू ८ सय मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । सो स्थानमा पहिले कांग्रेसले जितेको थियो । यस्तै, सिरहाको कल्याणपुर–१२ मा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन् ।

उनले ८ सय २५ मत प्राप्त गरे । सो वडामा यसअघि कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए ।पाँचथरको फिदिम नगरपालिका–१ मा नेकपा उम्मेदवार गजाधर भट्टराई निर्वाचित भएका छन् । सो वडामा अघिल्लोपटक कांग्रेसले जितेको थियो । भोजपुरको पौवादुङ्मा १ मा ६ सय ६१ मत ल्याउँदै नेकपाका उम्मेदवार जितेन्द्र राई विजयी भएका छन् । यसअघिको निर्वाचनमा कांग्रेसले जितेको थियो । २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जितेको रोल्पाको थवाङ–१ मा पनि नेकपा उम्मेदवार जनकबहादुर बुढा मगर १ सय ७४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन् । यसअघि राजपा उम्मेदवारले जितेको सो गाउँपालिकामा तत्कालीन प्रमुख प्रतिस्पर्धी चौधरीले जित हात पारेका हुन् । चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ४१ मत पाएका छन् । कांग्रेसले भने यसअघि नेकपाले जितेका ६ र राजपाले जितेका एक वडामा आफ्नो वर्चस्व देखाएको छ । कांग्रेसले यसअघि नेकपाले जितेको दाङको घोराही उपमहानगरपालिका–१६ मा जित हात पारेको हो ।

सो वडामा कांग्रेसका ताराबहादुर डिसी १ हजार २ सय १८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । यस्तै, अर्घाखाँचीको मालारानी ३ मा कांग्रेसका शोभाकर खनाल नेकपाका उम्मेदवारलाई हराउँदै विजयी भएका छन् । उनी १ हजार १ सय ५९ मत ल्याएर विजयी बनेका हुन् । सो वडामा अघिल्लो निर्वाचनमा नेकपा विजयी भएको थियो । यसैगरी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृह जिल्ला चितवनमा पनि कांग्रेसले नतिजा उल्टाएको छ । भरतपुर १६ मा यसअघिको निर्वाचनमा नेकपाका उम्मेदवार निर्वाचित भएकामा उपनिर्वाचनमा कांग्रेसका अमृतराज हमाल ३ हजार १ सय ८३ मतसहित विजयी भएका हुन् ।

यस्तै, यसअघि नेकपाले जितेको मोरङको धनपालथान–२ मा कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् । उनले १ हजार ७ सय १ मत ल्याउँदै नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् । यसैगरी, बैतडीको दोगडाकेदार–४ मा पनि कांग्रेसले नतिजा उल्टाएको छ । यसअघि नेकपाले जितेको सो वडामा कांग्रेसका सुरेशप्रसाद भट्ट ५ सय ८४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै, पहिले नेकपाले जित हात पारेको पाँचथरको हिलिहाङ–७ मा कांग्रेसले जितेको छ । सो वडामा कांग्रेसका तिलविक्रम इधिंगो ८ सय ४२ मत ल्याएर निर्वाचित भएका हुन् ।

कांग्रेसले यसअघि राजपाले जित हात पारेको क्षेत्रमा पनि आफ्नो उपस्थिति देखाएको छ । रौतहटको गढीमाई–२ मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ ७ सय ७१ मत ल्याउँदै निर्वाचित भएका छन् । समाजवादी पार्टीले पनि यसअघि कांग्रेस र नेकपाले जितेको स्थानमा जित हात पारेको छ । यसअघि कांग्रेसले जितेको बारागढी गाउँपालिका–१ मा समाजवादी पार्टीका सुरेशबहादुर चौधरी ७ सय ४९ मत ल्याएर विजयी भएका छन् ।

यस्तै, सर्लाहीको हरिपूर्वा–१ मा पनि समाजवादीले नतिजा उल्टाएको छ । यसअघि नेकपाले जितेको सोे वडामा समाजवादीका श्यामबाबु राय विजयी भएका हुन् । उनले ३ सय ४७ मत प्राप्त गरेका छन् । राजपाले पनि यसअघि स्वतन्त्र उम्मेदवारले जितेको एक वडामा आफ्नो उपस्थिति देखाएको छ । कपिलवस्तुको शिवराज–१० मा राजपाकी मन्जु मिश्र ८ सय ६८ मत ल्याउँदै विजयी भएकी छन् ।

कसले कहाँ जिते ?

नेकपाउप निर्वाचनः कहाँ–कहाँ कसले जिते ? (सम्पुर्ण सूचीसहित)

  • प्यूठानको प्यूठान नगरपालिका–२ मा नेकपाका
  • मुक्ति पोखरेल
  • प्यूठानको ऐरावती गाउँपालिका–१ द्रोणप्रसाद पाण्डे
  • बैतडीको पुरचौडी नगरपालिका–४ मा नेकपाका
  • शैलेन्द्र धानुक
  • बाजुराको त्रिवेणी गाउँपालिका–१ मा मनराजे बुढा
  • पाँचथर फिदिम नगरपालिका–१ मा नेकपाका
  • गजाधर भट्टराई
  • अछामको मेल्लेख गाउँपालिका–५ मा रमेश खड्का
  • सिरहाको कल्याणपुर नगरपालिका–१२ दिलिपकुमार यादव
  • रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा कुलबहादुर बस्नेत
  • बाँकेको कोहलपुर नगरपालिका–५ मा रामशरण थारू
  • संखुवासभाको खाँदबारी नगरपालिका–१३ मा
  • भरतकुमार घिमिरे
  • भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा जितेन्द्र राई
  • बाग्लुङ बडिगाड गाउँपालिका–२ मा ढालप्रसाद शेरचन
  • काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा
  • शिवभक्त बलामी
  • धुलिखेल नगरपालिका–२ मा देवप्रसाद कोइराला
  • सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा
  • केदारप्रसाद आचार्य
  • सल्यानको कुमाखमालिका गाउँपालिका–५ धर्मे बुढाथोकी
  • लम्जुङको सुन्दरबजार नगरपालिका–२ नवीन श्रेष्ठ
  • कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा कृष्णबहादुर तामाङ
  • रोल्पा थवाङ–१ मा जनकबहादुर बुढा मगर
  • खोटाङको साकेला गाउँपालिका–३ मा शिवकला राई
  • गुल्मीको रुरु गाउँपालिका–२ मा गिरिप्रसाद सिँजाली
  • पूर्वी नवलपरासीको बौंदीकाली गाउँपालिका–५ मा खिमबहादुर खरु मगर

कांग्रेस

  • बैतडी सुनर्या गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द
  • पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा तिलविक्रम इधिंगो
  • मोरङको धनपालथान गाउँपालिका–२ मा नारायणप्रसाद साह
  • अर्घाखाँची मालारानी गाउँपालिका–३ मा शोभाखर खनाल
  • भरतपुर महानगरपालिका–१६ चितवनमा अमृतराज हमाल
  • चितवन खैरहनी–५ मा प्रतीमा कार्की
  • खैरहनी नगरपालिका–४ चितवनमा देवबहादुर बस्नेत
  • बैतडीको दोगडा केदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्ट
  • घोराही नगरपालिका–१६ मा ताराबहादुर डिसी
  • बलवा नगरपालिका–२ महोत्तरीमा विपिन पन्जियार

समाजवादी पार्टी

  • सर्लाहीको हरिपुर्वा नगरपालिका–१ श्यामबाबु राय
  • महोत्तरीको बलवा नगरपालिका–८ मा रामबाबु महतो
  • पर्साको सखुवा प्रसौनी–५ मा रूपलालकुमार यादव
  • बारागढी गाउँपालिका–१ मा सुरेशप्रसाद चौधरी

राजपा

  • महोत्तरीको मटिहानी नगरपालिका–६ मा रामबाबु नायक
  • सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा प्रमिलादेवी यादव
  • कपिलवस्तुको शिवराज नगरपालिका–१० मा मञ्जु मिश्र

स्वतन्त्र

  • प्यूठान ऐरावती–२ मा स्वतन्त्र उमेदवार हिमेश घर्ती राजधानी दैनिकबाट